सोल । विद्युतीय उपकरण निर्माणका लागि लोकप्रिय दक्षिण कोरियाको सामसुङ कम्पनीले हालै आफ्नो एक विवादास्पद विज्ञापन प्रसारणमा रोक लगाएको छ । सो विज्ञापनमा एकजना मुस्लिम आमाले महिलाको पहिरनमा सजिएका आफ्नो तेस्रोलिंगी छोरालाई समर्थन गरेको भाव देखाइएको छ ।
केही मुस्लिम समुदायबाट आपत्ति जनाइएपछि यो विज्ञापन रोकिएको हो ।
थुप्रै सामाजिक संजाल प्रयोकर्ताहरूले यो विज्ञापनको उद्देश्य महिला तथा पुरुष समलिंगी, तेस्रोलिंगी र उभयलिंगी समूह (एलजीबीटी)को आदर्शलाई प्रवर्द्धन गर्ने प्रयास भएको बताएका छन् ।
बुधबार फेसबुकमार्फत सामसुङले भनेको छ, "हामी हाम्रो विज्ञापनको भिडियोप्रति सचेत छौँ । यसलाई असंवेदनशील र आपत्तिजनक मानिएको हुनुपर्दछ ।"
एलएजीबीटीका विषयहरूलाई लिएर सिंगापुरले अझै पनि रूढीवादी सोच राख्ने गरेको छ । यस्ता स्थानीय समूहरूले आफूहरूलाई समाजमा स्वीकार्न आह्वान गर्ने गरेका छन् । वास्तवमा यो विज्ञापन सामसुङको शरीरमा धारण गर्न सकिने नयाँ उत्पादन जस्तै बाहिरी हल्ला बन्द गर्ने इयरबड्स तथा मुटुको स्पन्दन नाप्न सकिने स्मार्ट घडीको प्रवर्धनका लागि बनाइएको हो ।
यसमा थुप्रै सहभागीहरूले आफ्ना प्रिय व्यक्तिहरूबाट आएका हृदयस्पर्शी सन्देशहरू प्रति प्रतिक्रिया व्यक्त गरेका छन् । त्यसै क्रममा हेडस्कार्फ बाँधेकी एक मुस्लिम आमाले पनि आफ्नो तेश्रोलिंगी छोराको सन्देश सुनेको दृश्य छाँयाकंन गरिएको छ ।
ती छोराले आमालाई यस्तो सन्देश पठाएको हुन्छ, "मजस्तो फरक खाले अर्थात तेश्रोलिंगी छोराकोबारे नानाथरि टिप्पणी गरिएको सुन्दा पनि तपाईंलाई अलिकति पनि दिक्क र दुख लाग्दैन ?"
यस विज्ञापनलाई लिएर सइद दान नामक एकजनाले फेसबुकमा लेखेका छन्, "हामी समलिंगी र तेश्रोलिंगीवादको मुलाधार सम्बन्धी आदर्शलाई रूढीवादी समाजमा भित्राउने पक्षको विरुद्ध छौँ । यसले मुस्लिम समुदायको सदभावमा आँच पुर्याउँछ ।"