site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिनियाँ नाकाबाट सामान आउन अझै कठिन, चीनले टेरेन !
रसुवागढी नाका । (फाइल तस्बिर)

काठमाडौं । कोडिभ १९ सुरु भएदेखि अवरोध भएको चिनियाँ नाका अझै सहज हुन सकेको छैन । चीनतर्फको तातोपानी र केरुङ नाकाबाट हुने आयात–निर्यातमा चीनले अपेक्षाकृत सहजीकरण नगरिदिएको गुनासो व्यवसायीको छ । 

यी नाकाबाट निकै कम मात्रामा सामान आयात भएका छन् भने निर्यात ठप्प छ । नेपालले प्रभावकारी कूटनीतिक पहल नगर्दा आयात सहज हुन नसकेको बुझाइ व्यवसायीको छ । कुनै समय दैनिक ७/८ सय कन्टेनर सामान आयात/निर्यात हुने यी नाकामा हाल मुस्किलले २० कन्टेनर पनि सामान आएको छैन ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठ पटक पटक उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई ध्यानाकर्षण गराउँदा पनि अवस्था सहज नभएको बताउँछन् । “हामीले धेरै पटक प्रभावकारी कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रीसहित उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयलाई आग्रह गर्‍यौँ । उहाँहरूले पनि पहल त गर्नुभयो होला ।तर, हामीले अनुभव गर्न सक्ने गरी समस्या समाधान भएको छैन,” उनले भने ।

चीनले कोरोनालाई मुख्य कारण बनाए पनि प्रभावकारी कूटनीतिक पहल नहुँदा समस्या समाधान नभएको हुन सक्ने उनले बताए । “नेपाल सरकारले पहल नै गरेन जस्तो त लाग्दैन तर चीनले नाका समस्या समाधानका लागि खासै वास्ता गरेको जस्तो पनि लाग्दैन,” उनले भने । गएको दसैँका लागि मगाएको सामान अझै आउन नसकेको समेत उनले बताए ।

पछिल्लो समयमा तातोपानी नाका भन्दा बढी समस्या केरुङ नाकामा भएको उनले बताए । “तातोपानी नाकामा दैनिक २० वटा कन्टेर चीनले पठाउने भनेको थियो । अहिले दैनिक १०/१२ वटा मात्रै कन्टेनर आएका छन्,” उनले भने, “तर, अझै धेरै समस्या केरुङ नाकामा छ ।” नेपाली व्यवसायीले अर्डर गरेका करिब ७/८ सय कन्टेर सामान आउन बाँकी नै रहेको संघका अध्यक्ष श्रेष्ठ बताए ।

उनले आयात–निर्यातलाई सहजा बनाउने गरी प्रभावकारी रुपमा पहल आवश्यक भएको बताए । “आयात त केही मात्रामा भएपनि भएको छ तर निर्यात ठप्प छ जसले गर्दा हाम्रो व्यापार घाटा पनि बढेको छ । आयात निर्यात सहज बनाउन सरकारलाई अनुरोध छ,” उनले भने ।

तातोपानी नाका भन्सार कार्यालयका प्रमुख नारद गौतमले पनि यो नाकाबाट अपेक्षाकृत रूपमा सामान आउन नसकेको बताए । “चीनले दैनिक २० गाडि पठाउने आश्वासन दिएको थियो । तर, त्यस अनुरूप नतिजा देखिएन,” उनले भने ।

उनकाअनुसार हिजोआज ८/१० गाडि मात्रै सामान यो नाकाबाट भित्रिएका छन् । आवतजावत पूर्ण रूपमा रोकेकाले चीनले कन्टेनर पुलमा ल्याइदिने र त्यहाँबाट नेपालतर्फ ल्याइने गरेको छ । नेपाली पक्षतर्फको कारणले यो समस्या नभएको उनको दाबी छ । “हाम्रोतर्फबाट कुनै कारण होइन । बाटो पनि राम्रो छ । आएका समान केही रोकिएको छैन । हाम्रो ड्राइपोर्टमा आएका समान तत्काल जोडिएको छ । हाम्रोतर्फबाट कुनै समस्या छैन,” उनले भने ।

यता, रसुवा भन्सार कार्यालय प्रमुख रामप्रसाद मैनाली पनि आयात सहज नभएको बताउँछन् । “पहिले जस्तो थियो, आज पनि त्यस्तै छ । दिनको ७ वटा गाडी मात्रै आउँछ । कोडिभको समयदेखि सहज रूपमा सामान आएका छैनन्,” उनले भने । सहज रूपमा सामान आउन नसक्नुको कारणबारे आफूले मन्त्रालयलाई जानकारी गराएको उनले बताए । चिनियाँ पक्षले कोभिडलाई नै दोष दिँदै आएको छ । नेपालस्थित चिनियाँ दूतावासका कर्मचारी पनि कोडिभका कारण बाहिर आउन नसकेको भन्दै छलफलमा तर्कने गरेको भन्सार विभाग स्रोतले भन्यो ।

उता, ल्हासास्थित नेपाली महा वाणिज्यदूत नवराज ढकालले नेपाल जाने कार्गो ट्रकको सहजिकरण र संख्या बढाउने विषयमा तिब्बतका सरकार प्रमुख यान जिन हेइसँग छलफल भएको जनाएका छन् । बुधबार उनले हेइसँगको शिष्टाचार भेटमा नेपाली वस्तु तिब्बत ल्याउने, नेपाल जाने कार्गो ट्रकको सहजीकरण र संख्या बढाउने, सडक, रेल, प्रसारणलाइनबाट कनेक्टिभिटी बढाउने विषयमा तिब्बत सरकार प्रमुखको ध्यानाकर्षण गराएको जनाएका छन् ।

चीनतर्फको नाकामा आयात सहज नहुँदा त्यसको प्रत्यक्ष असर नेपाली उपभोक्ताले भोग्न बाध्य भएका छन् । सामान आउन धेरै समय लागेको र त्यसले बैंकको ब्याजसहित लागत बढ्दा बस्तुको भाउ स्वतः बढेको सोही कारण उपभोक्ता मारमा परेको संघका अध्यक्ष श्रेष्ठले बताए ।

“नेपालतर्फबाट कुनै समस्या छैन । समस्या भएको चीनतर्फबाट हो । लामो समयसम्म अर्डर गरिएको सामान आएको छैन । त्यसले लागत बढाएको छ । त्यसको प्रत्यक्ष मारमा उपभोक्तालाई पर्ने नै भयो,” उनले भने ।

केही समय अगाडि सभामुख अग्नि सापकोटा, अर्थमन्त्री जनार्दन शर्माले तातोपानी नाकाको स्थलगत अवलोकन पनि गरेका थिए । त्यस नाकामा भएको समस्याको बारेमा उनीहरूलाई सरकारी अधिकारीहरूले अवगत गराएका पनि थिए । तर, त्यसपछि पनि कुनै उपलब्धि हासिल नभएको अधिकारी बताउँछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro