काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन् ।बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा संयुक्त बैठक बोलाएर प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरेअनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका हुन् ।
उनले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराए । प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्त्री तथा सचिवहरूलाई सचेत गराएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।
"बैठकमा अर्थतन्त्रको अवस्थाका बारेमा अर्थमन्त्रीले जानकारी गराउनुभयो । समग्रतामा प्रधानमन्त्रीजीले मुलुकको अपेक्षा र जनताको अपेक्षाअनुसार सरकारले तीव्रताका साथ काम गरोस् भनेर निर्देशन दिनुभयो," सरकारका प्रवक्तासमेत रहेका कार्कीले भने ।
प्रधानमन्त्री देउवाले ती समस्या समाधान गरेर जनसेवाको कामलाई रफ्तारमा अघि बढाउनुपर्ने बताएका थिए ।