काठमाडौं । अन्तिम आठ मिनेट सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेड सोमबार राति इङ्लिस प्रिमियर लिगमा उल्भरह्याम्पटनसँग घरेलु मैदानमा १–० ले पराजित भएको छ । यससँगै अन्तरिम प्रशिक्षक राल्फ राङ्कनिकको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ ।
भ्रमणकारी उल्भरह्याम्पटनको जितमा जोओ मौटिन्होले ८२औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । साथै अन्तिम मिनेटमा गोलकिपर जोजे साले उत्कृष्ट बचाउ गरेपछि उल्भरह्याम्पटन ओल्ड ट्राफेर्डमा १९८० पछि पहिलो जित निकाल्न सफल भयो । बैकल्पिक खेलाडी ब्रुनो फर्नान्डेजको फ्रीकिकर्ला साले पञ्च गरेर बचाएका थिए ।
३५ वर्षे मिडफिल्डर मौटिन्होले फेब्रुअरी २०२१ पछि पहिलो पटक गोल गरेका हुन् । अन्तिम ‘ह्विसल’ बजेपछि उल्भरह्याम्पटनका समर्थक खुसीले चिच्याउन थाल्दा युनाइटेडका घरेलु समर्थक भने स्तब्ध बनेका थिए । युनाइटेड शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीभन्दा २२ अंकले पछाडि परिसकेको छ । सिटी ५३ अंक जोडेर शीर्ष स्थानमा छ ।
पराजित युनाइटेड १९ खेलबाट ३१ अंक जोडेर सातौं स्थानमा छ । जुन चौथो स्थानको आर्सनलभन्दा चार अंकले पछाडि हो । युनाइटेडले आर्सनलभन्दा एक खेल कम खेलेको छ । उल्भरह्याम्पटन २८ अंकका साथ आठौं स्थानमा छ ।