सिओल । दक्षिण कोरियाली राष्ट्रपति मुन जेइ–इनले उत्तर कोरियासँग वार्ता र सहकार्यका लागि आह्वान गरेका छन् । राष्ट्रपति मुनले आफ्नो कार्यकाल अन्त्य हुने बेलासम्म ‘शान्तिका लागि अपरिवर्तनीय पथ’ पछ्याउने बताए ।
राष्ट्रपतिको रूपमा आफ्नो अन्तिम नयाँ वर्षको भाषणमा राष्ट्रपति मुनले आफ्नो पाँच वर्षे कार्यकालमा धेरै उपलब्धिहरू भएपनि कोरियाली सम्बन्ध सुधार गर्न अझै लामो यात्रा गर्न बाँकी रहेको स्वीकार गरे ।
“म दिगो शान्तिलाई संस्थागत गर्ने प्रयासलाई रोक्ने छैन,” मुनले राष्ट्रिय टेलिभिजन सम्बोधनमा भने, "दक्षिण कोरियाले अन्तर कोरियाली सम्बन्धलाई सामान्य बनाउन र अपरिवर्तनीय शान्तितर्फको मार्गका लागि अन्तिम प्रयास गर्नेछ ।"
“यदि हामीले वार्ता र सहकार्य पुनः सुरु गर्यौँ भने अन्तर्राष्ट्रिय समुदायले जवाफ दिनेछ,” मुनले भने । “सरकारले अन्तसम्म अन्तर–कोरियाली सम्बन्धलाई सामान्यीकरण र शान्तिको अपरिवर्तनीय बाटो पछ्याउनेछ । अबको प्रशासनमा पनि वार्ताको प्रयास जारी रहने विश्वास लिएको छु ।”
उत्तर कोरियाको प्रमुख दलको बैठक सकिएपछि मुनको वक्तव्य आएको हो । यद्यपि, उत्तर कोरियाली सत्तारूढ दलको बैठकले अन्तर कोरियाली सम्बन्ध र परमाणु निशस्त्रीकरणको बारेमा अमेरिकासँग वार्ता गर्ने बारे कुनै प्रकारको नयाँ संकेत भने दिएको थिएन ।