काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बुधबार सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित हुने दाबी गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले ओमानमा १५ फेब्रुअरीबाट हुने आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । त्यसका लागि शनिबारसम्म मुख्य प्रशिक्षकलाई रिपोर्टिङ गर्न भनिएको थियो । तर, क्यान र खेलाडीबीचको विवादका कारण शनिबार १४ खेलाडीले रिपोर्टिङ गरेका थिएनन् ।
त्यसपछि आइतबार दिनभर भएको ‘म्याराथन’ बैठकपछि दुई पक्षबीच सहमति भएको बताइएको छ । सहमतिअनुसार चार खेलाडीमाथि गरिएको कारबाहीबाट क्यान पछि हट्ने र कप्तान परिवर्तन कामय रहने बताइएको थियो । तथापि, यस विषयमा दुबै पक्षले छलफल गरेर सोमबार पुनः छलफल गर्ने भन्दै छुट्टिएका थिए । तर, साेमबार बिहान भएको छलफलबारे क्यानका कोही पनि सम्पर्कमा आउन चाहेनन् ।
तथापि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भने मुख्य प्रशिक्षक पुबुदुले सबै कुरामा सहमति भइसकेको बुधबारसम्म सन्दीप लामिछानेबाहेक सबै खेलाडी प्रशिक्षणमा सामेल हुने बताएका छन् ।
“पर्सीसम्म लगभग सबै जना प्रशिक्षणमा आउँछन् । सबैसँग सहमति भइसकेको छ,” सोमबार बिहान त्रिवि क्रिकेट मैदानमा सञ्चारकर्मीसँग प्रशिक्षक पुबुदुले भने, “खेलाडीहरुले रिपोर्टिङ गरिसकेका छन् । उनीहरुको पीसीआर रिपोर्ट आउन बाँकी छ । त्यसपछि पीसीआरको नतिजा नेगेटिभ आउने सबैजना प्रशिक्षणमा सामेल हुनेछन् ।”
सोमबार त्रिवि मैदानमा शरद भेषावकर, प्रदीप ऐरी, जितेन्द्र मुखिया, आरिफ शेख, आसिफ शेख, राजेश पुलामीमगर, साहब आलम, पवन सरार्फ, भीम सार्की, कुशल मल्ल, गुल्सन झा, विवेककुमार यादव, सौरभ खनाल, किशोर महतो उपस्थित थिए ।
पहिलो दिन राष्ट्रिय टोलीका ९ खेलाडी अनुपस्थित
पहिलो राष्ट्रिय टोलीका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कुशल भुर्तेल, रोहितकुमार पौडेल, सन्दीप जोरा, अबिनास बोहरा, कमलसिंह ऐरी र करण केसी सोमबारबाट सुरु प्रशिक्षणमा अनुपस्थित रहे ।
क्यानले बोलाएका ३० मध्ये ११ खेलाडी त्रिभुवन आर्मी क्लबका थिए । जसमा क्यानले कारवाही गरेका सोमपाल कामी पनि हुन् । तर, अब त्रिभुवन आर्मी क्लबका सबै जना क्याम्पमा जाने बताइएको छ । प्रशिक्षणमा बोलाइएका मध्ये आर्मीका करण केसी, सोमपाल कामी, विनोद भण्डारी, कुशल मल्ल, राजेश पुलामीमगर, शाहब आलम, सुशन भारी, भिम सार्की, रोहितकुमार पौडेल, जितेन्द्र मुखिया, विक्रम सोब हुन् ।
त्रिभुवन आर्मी क्लबका कप्तान विनोद र सोमपालसहित सबै खेलाडी बन्द प्रशिक्षणमा जाने स्रोतले जनाएको छ । त्यस्तै नेपाल पुलिस क्लबका पनि दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल पनि जाने भएका छन् ।
क्रिकेट विवादमा नयाँ मोड !
क्यान र खेलाडीबीच आइतबार एक खालको समहति बनेको थियो । जसअनुसार क्यानले खेलाडीलाई गरिएको कारवाही फिर्ता गर्नुपर्ने, खेलाडीले सन्दीपको कप्तानीमा खेल्ने समझदारी भएको थियो । त्यसमा कप्तान ज्ञानेन्द्रले साथीहरुसँग छलफल गर्न सोमबार बिहान ९ बजेसम्मका लागि समय मागेको क्यानले पदाधिकारीले जनाएका थिए ।
तर, सोमबार ज्ञानेन्द्रले क्यानले ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा नराखेको रोहितकुमार पौडलसहित तीन खेलाडीलाई पनि ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा राख्नु पर्ने अडान राखे । क्यानले उनीहरुलाई ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा राख्न नसकिने तर उनीहरुलाई एक लाख ‘इनसेन्टिभ’ दिन सकिने जवाफ दिएको छ ।
तर, यस विषयमा भएको नयाँ मोडबारे क्यानका कुनै पनि पदाधिकारी सम्पर्कमा आउन चाहेनन् । क्यानका कोषाध्यक्ष रोशन सिंहले बिहान भएको नयाँ डेभलपमेन्टबारे केही थाहा नभएको बताए । उनले आफू घर आइसकेकाले सोमबारको विषयमा केही थाहा नभएको बताए ।