काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तीनवटै तहका निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार तयार रहेको बताएका छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ललितपुर जिल्लाबाट वाग्मती प्रदेश र केन्द्रीय कार्यसमितिमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको सम्मानमा कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाँणले निर्वाचनमा शान्ति सुरक्षा प्रदान गर्नु सरकारको दायित्व रहेको भन्दै निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न हुने बताए ।
उनले कांग्रेस नेतृत्वको लोकतान्त्रिक सरकार भएको भन्दै जनताको शान्ति सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पारे । निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा जनताले मत दिएर, जनताबाट विश्वास पाएका जनप्रतिनिधिहरूको छनोट हुने खालको निर्वाचन समयमै सम्पन्न हुने पनि बताए ।
जनताको मतका आधारमा सरकार बन्नुपर्ने कांग्रेसको घोषित आधारशिला रहेको उनले उल्लेख गरे ।