“कछाड बाँधेर कसार टोकेको बिर्स्यौ ? कसलाई कहाँ के कति भन्नुपर्ने हो, अलि सोचेर भन्नू ।” बुढीको कचकच फेरि सुरु भएजस्तो थियो फोनमा । खै कोसँग हो, त्यसको भेउ पाउनचाहिँ सकिनँ मैले ।
साँच्चै भन्ने हो भने सोध्न मन पनि लागेन । कहीँ नभएको नाता गाँस्दै मान्छे बटुल्न मन लाग्छ उनैलाई । अनि, सिन्को भाँचिएको निहुँमा पनि कचकच गर्नुपर्छ उनलाई ! तर के गर्नु, नसुनु भन्दा पनि उनको अवाज आइरहेको थियो, कानमा ठोक्किन ।
चिच्याइन् उनी फेरि, “कुन साइतमा तँजस्तो कुकुरसँग कुरा गर्न पुगिएछ । कुलंगार, कुजात ! तेरो कन्पारामा कर्कटले कालो डाम पार्नु पर्ने ।” उनको उत्तेजित स्वरले त्यतिखेरचाहिँ मलाई तान्यो ।
उत्सुकतावश म नजिकै पुगे । उसको फोनवार्ता अझै सकिएको थिएन । उनी भन्दै थिइन्, “कालले कुत्कुत्याएको कुसुन्डो ! तँलाई मैले भेटुँ न मात्रै, मैले जानेको छु ।”
ड्याम्म ! ठूलै आवाज आयो उनले फोन राख्दा । रातो र तातो अनुहार अनि रिसले आँखाबाट रगत झर्लाजस्तो कालीझैँ उनको रूप देखेर म केही बेर शान्त नै बसेँ ।
करिब पन्ध्र मिनेटको मौनता भंग गर्दै सोधेँ उनलाई, “के भयो बुढी ! कोसँग बहुलाएकी त्यस्तो ?”
लामो सास फेरिन् उनले र भनिन्, “कसम खाएकी थिई त्यो कमलीले मसँग कर्जा लिने बेलामा, दुई महिनाभित्र नै फिर्ता गरिदिन्छु भनेर । दुई वर्ष भइसक्यो । अहिले माग्दा पनि कति करकर गरिरहेको भन्छे मलाई त । अलि–अलि गरेर दिन्छु रे ! फेरि, आफूले कुरा नगरेर उसको लोग्नेलाई कुरा गर्न लगा’की । कहाँसम्म कि कालो नियत भएकी त ! मलाई त रिस उठेर आँखै देखिनँ । भन्देँ जे–जे मुखमा आयो त्यै–त्यै ! त्यसको लोग्ने होस् वा जोसुकै होस् ।”
मैले सम्झाउँन खोजेँ, “त्यसरी आवेगमा बोल्दा कहिलेकाहीँ बन्ने काम पनि बिग्रिन्छ बुढी । रिसलाई अलि काबुमा राख्न सिक । फेरि, तिमीलाई त्यसको स्वभाव थाहा हुँदाहुँदै किन दिएको उधारो ? गल्ती तिम्रै हो क्यारे !”
आफूलाई नै दोषी ठहराएको मन परेन उनलाई । सेलाइसकेको रिसको ज्वाला मतिरै तेर्स्याउन थालिन्, “कसले पढ्न सक्छ मनभित्रको कुरा ! हजुरलाई थाहा होला कमलीको स्वभाव । ऊसँग खुबै हेलमेल छ नि ! मन पनि पर्छ होला । म पो नराम्रो । किन मसँग बस्ने हो यस्तो मान्छेले । त्यही कुजातसँग गए भइहाल्यो नि ।”
उनको रिसले कमलीलाई मात्र नभएर अब मलाई पनि जलाउलाझैँ भयो । मैले मौनता नै एक मात्र समाधान सोचेँ र केही बोलिनँ ।
केही बेरसम्म उनको एकोहोरो फतफत आइ नै रहयो । कतिखेर उनी शान्त भइन्, मलाई हेक्का नै भएन ।
कर्जा लिएपछि फिर्ता गर्नुपर्छ भन्ने कुरा किन बिर्सिन्छन् मानिस, म सोच्न थालेँ । लिने बेलामा कस्ता–कस्ता कस्सम खान्छन् । तर, तिर्ने बेलामा एकपछि अर्को बहाना उर्लेरै आउँछ ! हरेक बहाना एउटा चलचित्रभन्दा फरक हुँदैन, कतिपय अवस्थामा । सायद कमलीले लिएको कर्जामा उसको लोग्नेले भोग्नुपरेको मेरो श्रीमतीको रिसका पछाडि पनि कुनै त्यस्तै बहाना लुकेको हुनुपर्छ । उधारो प्रेमको कैँची हो भन्छन्, तर कैँचीमा धार लगाउने क्रम उधारो लिएरै र दिनेले दिएरै बढाइरहेका हुन्छन् !
उनको प्रवेशले मेरो सोचमग्न ध्यान भंग भयो ।
“कस्तो कनिके चामल किनेर ल्याएको ! कसले ठग्यो ?” उनले के सोधिन्, मैले बुझिनँ एक छिन । मैले नबुझेको देखेर उनी भन्न थालिन्, “आज भनेको कुरा, गधाले भोलिपल्ट मात्रै बुझ्छ भन्थे । हजुर पनि त्यस्तै हुँदै जानुभएको छ । बुझाइ गधाको जस्तो अनि काम गराइ कछुवाको जस्तो !”
कैँचीजस्तो चल्ने त्यो थुतुनोबाट मलाई नै तीव्र प्रहार भइरहेको थियो । तर, म उत्तर दिन सकिरहेको थिइनँ । के गर्नु, गल्ती मेरै थियो । साहस बटुलेर भनेँ, “त्यही कलधारानजिकैको कालो ढोका भएको पसलबाट लेराएको, कनिके पो परेछ ? कस्तो करकाप गर्यो किन्ने बेलामा । नयाँ आएको कमलो धानको कति मिठो छ भन्यो !”
श्रीमती भड्किन्, “कम पैसा जाने कुन भनेर सोधेको होला ! हजुरको बानी थाहा छैन र मलाई ! एक नम्बरको कन्जुस हुनुहुन्छ । बिहानदेखि नै कमलीको कारणले कपाल दुखिरहेको बेलामा थप यो कनिका खानुपर्यो । हरे भाग्य !”
उनी भाग्यलाइ दोष दिँदै भान्छातिर लागिन् । म भने उनका शब्दहरूले उथलपुथल भएको दिमागलाई सम्हाल्न थालेँ ।
फोनको घण्टी बज्यो । ठूलो दाइ हुनुहुँदो रहेछ फोनमा । मैले दर्शन टक्र्याएँ । उहाँ भन्न थाल्नुभयो, “हेर बाबु, हामी त विदेशतिर लाग्ने सुुर कस्यौँ । यहाँ त केही गरे पनि उँभो नलागिने भयो । तँ कान्छोको अलि माया लागेर फोन गरेको । काइँलो र साइँलोलाई थाहा हुन नदेस् । तिनीहरू बाठा छन् । तँ तिनीहरूजस्तो हुन सकिनस् । तेरो, हाम्रो प्रगति देशकै प्रगतिजस्तो कछुवा चाल भइरहेको छ । यो कछुवाको गतिमा कति जिउनु ! साइँलो र काइँलोजस्तो अरूलाई उठीबास लगाई–लगाई आफ्नो दुनो सोझ्याउने कला हामीलाई कहिल्यै आएन । पुग्यो अब । छोरो पनि कमाइ भएन भन्छ, विदेश जान खोज्छ ।”
उहाँ रोकिनुभयो । म अत्तालिएझैँ भएँ । के भएछ ठूल्दाइलाई ! अचानक विदेश जाने कुरा गर्न थाल्नुभएको छ । मेरो एक मात्र अभिभावक उहाँ । बाको स्वर्गवासपछि उहाँले नै मलाई हुर्काउनुभएको । उहाँबाट नै मैले ‘क ख ग’ सिकेको । उहाँको विदेश जाने कुराले मलाई अघि श्रीमतीको व्यंग्यबाणले भन्दा पनि ठूलो घाउ लगाएझैँ महसुस हुन थाल्यो ।
ठूल्दाइ फोनमै हुनुहुन्थ्यो । सोधेँ, “के पर्यो त्यस्तो विदेशै जानुपर्ने ?”
उत्तरमा उहाँले भन्नुभयो, “बाबु, यहाँ सबै कछुवा भए । काम गराइ कछुवासरह । स्वास्थ्य उपचार कछुवासरह । विकासका योजनाहरू कछुवासरह । शैक्षिक गतिविधि कछुवासरह । धारामा पानी आउने गति कछुवासरह । मेरो आफ्नै प्रमोसन पनि कछुवासरह भइरहेको छ । मभन्दा मुनिका कैयन् मभन्दा ठूलो पोस्टमा पुगिसके । मचाहिँ जहाँको त्यहीँ छु । कामको कदर पनि कछुवासरह भइसक्यो । एउटाले दुई वर्ष अगाडि लिएको ऋण अहिलेसम्म तिरेको छैन । त्यो तिर्ने क्रम पनि कछुवासरह छ । केही पनि आवश्यक गतिमा छैन । यस्तो ठाउँमा हामी पनि कछुवा भएर कति बस्नु । मैले त निर्णय गरेँ विदेश जाने ।”
दाइ धाराप्रवाह गतिबाट रोकिनुभयो ।
मैले फोन राख्दै भनेँ, “विदेश यात्राचाहिँ छिटो होस् । यहाँ पनि कछुवा चाल सहन नपरोस् ! हामीलाई नबिर्सिनुहोला ।” यीबाहेक अरू शब्द आएनन् ।
एकातिर श्रीमती र कमलीको लडाइँ । अर्कोतिर ठूल्दाइको विदेश जाने रहरले मेरो दिमाग पूरै हल्लाइदिएको थियो । बिहानैदेखि के भयो त्यस दिन, मैले बुझ्न सकिरहेको थिइनँ । साधारण स्कुले मास्टरको पेसा अपनाएको मैले आफ्नै जीवनकाल कछुवाशैलीमा चलिरहेको अनुभव गर्न थालेँ ।
कनिके भात पाकिसकेछ । बोलाहट भयो भान्छाबाट ।
भात खाईवरी लुगा फेरेर लागेँ विद्यालयतिर ।
कक्षाकोठामा छिर्नेबित्तिकै सधैँझैँ ‘गुड मर्निङ सर !’ गुञ्जियो । मैले सबैलाई ‘बस’ भन्दै चक समातेँ । अनि, कालोपाटीमा ठूलो अक्षरमा लेखेँ ‘क’ ।
पछाडिबाट सबै विद्यार्थीको एकसाथ ठूलो स्वर घन्कियो, “क माने कछुवा ।”