वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाको अवधिमा करिब एक करोड ५० लाख रुपैयाँभन्दा बढी बराबरको अवैध मालसामान बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । प्रहरी टोलीले अवैध रूपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो ।
प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अवैध रूपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले गत मंसिर १२ गते पर्साको प्रहरी प्रमुखको रूपमा कार्यभार सम्हालेका थिए ।
गत मंसिर महिनामा एक करोड १३ लाख ७० हजार ९३७ रुपैयाँ र यही पुस महिनाको १० गतेसम्म ३४ लाख १७ हजार ८०० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री प्रहरीले बरामद गरी भन्सार पठाएको छ ।
सोही अवधिमा स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।
विभिन्न मुद्दामा फरार रहेका सात फरार प्रतिवादीलाई समेत पक्राउ गर्न सफल भएको उनको भनाइ छ । सात फरार प्रतिवादीबाट जरिवानास्वरूप एक लाख ७५ हजार ५९९ संकलन गरिएको छ । प्रहरी उपरीक्षक बस्नेतले कर्तव्यनिष्ठ भएर जिम्मेवारी बहन गर्न सम्पूर्ण मातहतका युनिटलाई निर्देशनसमेत दिएका छन् । रासस