काठमाडौं । नेपालका कप्तान सन्दीप लामिछाने विकेटबिहीन बनेको दिन उनको टिम होबर्ट हुरिकेनले अष्ट्रेलियन बिग बासमा लिगमा शुक्रबार मेलबर्न स्टार्सलाई २४ रनले हराएको छ । होबर्टको बेलेरिभ ओभलमा टस जितेर ब्याटिङ गरेको होबर्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो । १८१ रनको लक्ष्य पछ्याएको मेलबर्नले ९ विकेट गुमाएर १५६ रन मात्र बनाउन सक्यो ।
सन्दीपले चार ओभरमा ३२ रन दिएका थिए । ब्याटिङमा भने उनको पालो आएन ।
होबर्टका ओपनर बेन म्याकडरमोटले ६७, म्याथ्यु वेडले ३९, डी’आर्की शोर्टले २६ र पेटर ह्याण्ड्सकोम्बले १२ रन बनाउँदा टिम डेबिडले अविजित २२ रन बनाए । मेलबर्नका आन्द्रे रुसेलले तीन विकेट लिँदा नाथन कौल्टर–नेलले दुई विकेट लिए ।
१८१ रनको लक्ष्य पछ्याएको मेलबर्नका जोए क्लार्कले ५२ रन बनाए हिल्टन कार्टराइटले २६,जो बर्नसले २२, मार्कुस स्टोइनिसले १८ रन बनाए ।
होबर्टका रिले मेरेडिथ र टम रोजर्सले समान तीन विकेट लिए । नाथन इलिसले दुई विकेट लिए ।
जितसँगै पाँच खेलबाट १० अंक जोडेको होबर्ट तेस्रो स्थानमा छ । सामान खेलबाट १७ अंक जोडेको पर्थ शीर्ष स्थानमा छ । मेलबर्न सात अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।