काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मतपत्र छाप्ने तयारी गरिएको छ ।
उमेदवारको अन्तिम नामावली प्रकाशित गरिएपछि मतपत्र छाप्न लागिएको हो । आज रातभरि समेत गरेर मतपत्र छापिने बताइएको छ ।
भोलि बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठका अनुसार काठमाडौंको राष्ट्रिय सभागृहमा मतदान हुनेछ ।
मतदान सकिएपछि भोलि नै सभापति पदको मतगणना सुरु गरिने श्रेष्ठले जानकारी दिए । सभापतिको मतगणना राष्ट्रिय सभागृहमै गरिनेछ ।
सभापतिको मत परिणाम सार्वजनिकपछि मात्रै अरू पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना गरिने उनले जानकारी दिए । सभापतिमा कुनै पनि उमेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए पुनः उक्त पदमा दोस्रो चरणको निर्वाचन हुनेछ ।
कांग्रेसको १४औँ महाधिवेशनका लागि चार ३४७ प्रतिनिधि छन् ।