नेपाली कांग्रेसकाे तेह्रौं महाधिवेशनमा अहिलेकाे ‘संंस्थापन इतर’ संस्थापन पक्षमा थियो । सभापतिकाे उमेदवारमा पनि विवाद थिएन । महामन्त्रीमा संस्थापनका उमेदवारले जितेका भए पनि सभापति पदमा रामचन्द्र पौडेलले हारेका थिए । हारकाे मूख्यकाे कारण कृष्णप्रसाद सिटौलाकाे उमेदवारी थियो ।
दोस्रो चरणकाे मतदानमा सिटौलाले शेरबहादुर देउवालाई सघाए । देउवा-सिटौला सहयोग कायमै देखिन्छ । बाहिर देखिने सिटौला समूह प्रकारान्तरले देउवा समूहकै अर्काे गुट हो भन्ने संस्थापन इतरले बुझ्न सकेको देखिएन ।
यसपटक संस्थापन इतरका लागि परिस्थिति प्रतिकूल छ । संस्थापन पक्षमा देउवालाई चुनाैती दिने विमलेन्द्र निधिको प्रदेशमै गडबडी गरेर मनोबल खस्काइएकाे छ । बाँकी कसैले पनि देउवालाई चुनाैती दिएका छैनन् । गोपालमान श्रेष्ठकाे उमेदवारी घोषणा सेलाउँदै गएकाे छ । यद्यपि, उनलाई पहिले पनि कसैले गम्भीरतापूर्वक लिएका थिएनन् ।
संस्थापनइतर समूह भने तितरबितरजस्तै छ । वरिष्ठ नेता पौडेल आफैँ सभापतिकाे उमेदवार हुन खोज्दैछन् । महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान श्रेष्ठ र केन्द्रीय सदस्य शेखर कोइरालाले पनि सभापति पदमा उमेदवारी दिने घोषणा सार्वजनिकरूपमै गरेका छन् ।
यी सबैले नेपाली कांग्रेसकाे भविष्यप्रति चिन्ता प्रकट गरेकाे सुनिन्छ । सभापति देउवाकाे नेतृत्वमा नेपाली कांग्रेस र देशकाे हित हुँदैन भन्नेमा यी सबै एकमत देखिन्छन् । र, देउवालाई चुनावमा हराउन आफूले मात्र सक्ने दाबा गर्छन् ।
कांग्रेसकाे विभिन्न तहकाे चुनाव गुटगत आधारमा भएकाे थियो । प्रदेशकाे चुनावले गुटगत विभाजन स्पष्ट बनायो । त्यतिमात्र होइन सिटौला-देउवा गठबन्धन पनि स्पष्ट भयो । केही समय संस्थापनइतरकाे रणनीतिक बैठकहरूमा सहभागी हुँदैआएका सिटौलाका कार्यकर्ता खुलेरै संस्थापन पक्षमा लागे । यसले प्रदेश १ र वाग्मतीमा निर्वाचन परिणाम पनि बदलियो ।
महाधिवेश उद्धाटन हुन चार दिनमात्र बाँकी छ । देउवाले सभापतिमा उमेदवार हुने घोषणा गरिसके । संस्थापन इतरका नेता भने ‘माझीको सल्लाह’मा व्यस्त छन् । अहिलेसम्म सभापति उमेदवार टुंगो लगाउन सकेका छैनन् । इच्छुक उमेदवारहरू कसैले पनि अर्काेलाई स्वीकार गर्ने संकेतसम्म देखाएका छैनन् ।
अब संस्थापन इतरसँग मूलतः दुईवटा विकल्प देखिन्छ । पहिलो, सबैजना सभापति लड्ने र शेरबहादुर देउवालाई पहिलै चरणमा जिताइदिने वा कोही पनि नलडेर देउवालाई निर्विरोध सभापति बनाउने । दोस्रो, जित्ने सम्भावना र जनाधार भएका एक जनाकाे नाममा सकेसम्म धेरै नेताकाे समर्थनमा सहमति गरी देउवालाई दह्रो चुनाैती दिने ।
संस्थापन इतरसँग समय र विकल्प धेरै देखिँदैन । सभापतिमा नयाँ नेतृत्व स्थापित गर्ने हो भने विमलेन्द्र निधिलाई पनि संस्थापन इतरले समेट्नुपर्ने थियो । विमलेन्द्रकाे मनाेबल गिराउन प्रदेश नम्बर २ मा सत्ताकाे प्रत्यक्षपरोक्ष समर्थनमा गरिएकाे खेलकाे सबैले निन्दा गर्नुपर्थ्यो । अझै पनि बेला छ । विमलेन्द्र निधिकाे सहयोगविना देउवाकाे लङ्का भेदन गर्न कठिन छ भन्ने आत्मसात गर्ने ।
प्रदेशमा भएका गल्ती र हारले संस्थापनइतर कार्यकर्ताको मनोबल खस्केकाे देखिएकाे छ । सबैकाे भित्री चाहना देउवालाई नै पार्टीकाे नेतृत्व फेरि सुम्पने होइन भने सबैले त्याग गर्न सक्नुपर्छ । त्याग्ने पनि नपाइने सभापतिकाे पद न हो । सभापतिकाे उमेदवार एकमतले छानेमात्र पनि कार्यकर्तामा उत्साह थपिनेछ ।
भारतीय कांग्रेसमा ‘सिन्डिकेट’ भनिएका प्रभावशाली नेताहरू सही समयमा सही कदम उठाउन चुक्दा इतिहासमा बिलाएर गए । कुनै बेला भारतका सबैभन्दा प्रभावशाली नेता मानिएका के.कामराजलाई अहिले सम्भवतः भारतीय कांग्रेसकै नेताले समेत बिर्सिसके ।
नेपाली कांग्रेसका अहिलेका कुनै नेता कामराजसँग तुलनीय त छैनन् तैपनि उनीहरूले भारतकाे राजनीतिक इतिहासबाट सिक्नुपर्छ । इतिहासकाे ‘डस्टबिन’मा फ्याकिने कि जोगिने हो ?