काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशनलाई व्यवस्थित रूपमा अघि बढाउन नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा महाधिवेशन सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकहरूसँग छलफल गर्दै देउवाले महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा गर्न सबै तयारी पूरा गर्न निर्देशन दिएका हुन् ।
बैठकमा प्रचार प्रसार समिति, आवास समिति, स्वास्थ्य समिति लगाएतले उद्घाटन समारोहका तयारीका बारेमा जानकारी गराएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महाधिवशेनमा पार्टीको महामन्त्रीको संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन र अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेस हुने उनले बताए ।
महाधिवेशनका लागि नेपालका मुख्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको प्रवक्ता शर्माले बताए । उनले महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने र मतदानमा २९ वटा मतपत्र हुने जानकारी दिए ।
कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।