सौराहा । नेकपा (एमाले)को महाधिवेशनमा प्रतिस्पर्धाले पार्टी कमजोर हुने भन्दै अध्यक्ष केपी शर्मा ओलीले आफूले दिएको जिम्मेवारी स्वीकार्न नेताहरूलाई पटक–पटक आग्रह गरे । तर, उनले गरेको आग्रह अस्वीकार गर्दै नेताहरू भीम रावल, घनश्याम भुसाल, भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दर्ता गराएपछि एमालेको नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।
निर्वाचन हुन लागेपछि ओली पक्ष ढुक्क छ भने रावल र भुसाल प्रतिनिधिहरूसँग भोट मागिरहेका छन् । भोट माग्ने क्रममा पनि ओलीसहितलाई सर्वसम्मत हुन नदिन उम्मेदवारी दर्ता गरेका नेताहरू समुहगत रूपमा हिँडेका छैनन् ।
व्यक्तिगत रूपमा भोट माग्दा पनि ओली निकट प्रतिनिधिहरूले भने नेता रावलाई व्यङ्ग्य गरिरहेका छन् ।
“कमरेड चुनाव हारेपछि पार्टी छोड्न पाउनहुन्न नि !,” व्यङ्ग्य गर्दै ओलीनिकट प्रतिनिधिले भने, “समय छ कमरेड, उमेदवारी फिर्ता लिए राम्रो हुन्छ ।”
चुनावी मैदानमा रहेका रावलले भने प्रतिनिधिहरूलाई नरम जवाफले सम्बोधन गरिरहेका छन् ।
“मैले पार्टी विभाजन ठिक हुँदैन भनेर माधव नेपाललाई त छोडेको छु,” रावलले भने, “ढुक्क भएर भोट हाल्नुस् म एमाले छोडेर कतै जान्न ।”
उपाध्यक्षमा उम्मेदवारी दिएका नेता भुसालले पनि प्रतिनिधिहरूलाई 'आफ्नो विवेकको प्रयोग गर्नुस्, जनवादको कार्यान्वयन प्रतिनिधिको अन्तरआत्माको आवाजबाट हुनसक्ने' भन्दै नेताविशेषका आग्रह र आदेशको पछि नलाग्न भनिरहेका छन् ।