काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले नेपाली क्रिकेट खेलाडीको वर्गीकरणमा कुनै परिमार्जन नहुने स्पष्ट पारेका छन् ।
खेलाडीहरूले बुझाएको १९ बुँदे ज्ञापनपत्रबारे बिहीबार (आज) मूलपानीस्थित क्यानको कार्यालयमा खेलाडीसँगको छलफलपछि मल्लले भने, “वर्गीकरणको विषयमा चित्त नबुझे उहाँले हामीलाई सोध्न पाउनुहुन्छ । हामीले जवाफ दिन्छौँ । क्यानले बनाएको समितिले गरेको खेलाडी वर्गीकरणमा कुनै गल्ती छैन । त्यसकारण यसमा क्यानले परिमार्जन गर्ने कुरै हुँदैन । यसैअनुसार खेलाडीको कन्ट्रयाक्ट हुन्छ । यसमा खेलाडीहरू पनि सकरात्मक छन् ।"
‘सेन्ट्रल कन्ट्रयाक्ट’का लागि गरिएको वर्गीकरणमा असन्तुष्टि जनाउँदै खेलाडीले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । त्यसपछि क्यान र खेलाडीबीच मतभेद बढेको छ । खेलाडीले ‘अभिभावक संस्थाबाट अन्याय भएको’ भन्दै सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।
खेलाडी संघविरुद्ध वक्तव्यबाजी गरेको भन्दै क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ खेलाडीले बुझाइसकेका छन् । तथापि स्पष्टीकरणको विषयमा आज कुनै छलफल नभएको मल्लले बताए ।
‘‘खेलाडीको बिमाहरूको विषयमा छलफल भयो । उहाँहरूले पुरस्कारको विषयमा सोध्नुभएको थियो । मुख्य प्रशिक्षकको नियुक्तीबारे सुझाव दिनुभयो । भविष्यमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ,’’ खेलाडीसँगको बैठकपछि कार्यवाहक सचिव मल्लले भने, ‘‘स्पष्टीकरणको विषयमा आज खासै कुरा भएन । त्यस विषयमा हामी छुट्टै बैठक बस्नेछौँ ।’’
क्यान कार्यालयमा सम्पन्न बैठकमा खेलाडीकोतर्फबाट कप्तान ज्ञानेन्द्र, दीपेन्द्रसिंह, शरद भेषावकर, कुशल भुर्तेल, अविनाष बोहोरा, पवन सर्राफ, कमलसिंह ऐरी र सन्दीप जोरा उपस्थित थिए । त्यस्तै, क्यानको तर्फबाट कार्यवाहक सचिव मल्ल, कोषाध्यक्ष रोशन सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास उपस्थित थिए ।
कप्तान ज्ञानेन्द्रले भविष्यमा कसरी अगाडि बढ्न सकिन्छ भनेर क्यानसँग अन्तरक्रिया गरेको बताए ।
‘‘हामीले दुई, तीन वटा विषयमा कुरा राखेका छौँ । खेलाडी वर्गीकरणको विषयमा पनि छलफल भयो । खेलाडीको राम्रो होस् भन्ने नै हाम्रो चासो हो । आज उपलब्ध खेलाडी यहाँ छलफल गरेका हौँ । खेलाडीहरू सधैँ एक नै छौँ । चाहे मैदानमा होस वा मैदानबाहिर हामी एक नै छौँ,’’ कप्तान ज्ञानेन्द्रले भने ।
यसअघि कार्यवाहक सचिव मल्ले क्यानले सोधेको स्पष्टीकरणलाई काउन्टर दिन खेलाडीले १९ बुँदे ज्ञापनपत्र बुझाएको बताएका थिए ।