काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं अधिवेशनमा केन्द्रीय नेताहरूले नै गठबन्धन बनाएका छन् । शेरबहादुर देउवा–कृष्णप्रसाद सिटौला भर्सेस प्रकाशमान सिंह–गगन थापाबीच भइरहेको प्रतिस्पर्धामा काठमाडौं सभापतिको उम्मेदवारी घोषणा सहमहामन्त्री डा. प्रकाशशरण महतले गरेका छन् ।
उनले उपेन्द्र कार्कीलाई काठमाडौं कांग्रेसको सभापति उम्मेदवार घोषणा गरेका हुन् ।
“देउवा टिमबाट उपेन्द्र कार्की सभापति उठ्नुहुनेछ,” उम्मेदवारी घोषण गर्दै सहमहामन्त्री महतले भने, “पार्टीको आन्तरिक जीवनमा हुने प्रतिस्पर्धा सामान्य हो । हाम्रो ध्यान तीन तहको राष्ट्रिय चुनावमा हुनुपर्छ ।” उनले आन्तरिक प्रतिस्पर्धामा असहिष्णुता हुन नहुने भन्दै एक अर्कालाई होच्याउने काम नगर्न सुझाव दिएका छन् ।
“नेताहरूले कमिकमजोरी गरे त्यो स्वीकार गर्ने कल्चर बसाउनुपर्छ,” महतले भने, “जित्ने हार्ने दुवैले पार्टी जनता र सिद्धान्त प्रमुख ठानेर काम गर्नुपर्छ । पार्टीमा व्यक्तिभन्दा विचार र संस्था महत्वपूर्ण हुन्छ ।”
उनले भएका मतभिन्नता शिष्ट शैलीमा जाहेर गर्न पनि आग्रह गरे । “यो अधिवेशनबाट पार्टी रूपान्तरण र बलियो बनाउन आधुनिक बनाउन कम्मर कस्नुपर्छ,” महतले भने, “सभापति देउवाले पनि आफू बहुमतमा भएपनि क्रियाशील वितरणमा पनि सहमतिमा काम गर्नुभएको छ । उहाँले सबैको सम्मान गर्नुभएको छ । जसका कारण अरू पार्टी जस्तो फुटेका छैनौ ।”