काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सर्लाही जिल्लामा वडा अधिवेशन फेरि अनिश्चित बनेको छ । दुईजना निर्वाचन अधिकृत तोकिसक्दा पनि निर्वाचन समितिले सर्लाही जिल्लामा वडा अधिवेशनको सुरु गर्न सकेको छैन ।
पहिलोपटक अधिकृत बनेर सर्लाही पुगेका विनोद कार्की राजीनामा दिएर फर्किएसँगै दिवाकरराज पाण्डे नयाँ निर्वाचन अधिकृत बनेर सर्लाही पुगेका छन् । तर, अधिवेशन सुरुवता गर्ने विषयमा कुरा नमिल्दा पाण्डेमाथि कुटपिट भएको छ ।
जिल्ला सभापति नागेन्द्र कुमारकाअनुसार सांसद अमरेशकुमार सिंहको डिजाइनमा उनका कार्यकर्ताले अधिकृत पाण्डेलाई कुटेका हुन् । वुथ अधिकृत तोक्ने विषयमा कुरा नमिल्दा पाण्डेले कुटाइ खानुपरेको उनले बताए ।
“आफ्नो एकाधिकार जमाउन खोजेका छन् । म सभापतिले भनेको कुरा मान्दैनन्, केन्द्रीय सभापति शेरबहादुर देउवालाई पनि मान्दिनँ भन्छन् अनि कसरी जिल्लामा अधिवेशन गराउन सकिन्छ त,” उनले बाह्रखरीसँग भने ।
उनले एउटा एउटा सामान्य बखेडा झिकेर अर्को समूहले अधिवेशन भाँड्न खोजेको आरोप लगाए । दुईसय वडामा अधिकृत तोक्ने विषयमा पनि आफ्नो कुरा नटेरेको उनको गुनासो छ ।
“हार्ने भनेर निश्चित भएपछि किन अधिवेशन हुन दिन्छन् र ! तरपनि म अधिवेशन गराउने पक्षमै छुँ प्रयास गरिरहेको छुँ,” उनले भने ।
यता, पूर्व जिल्ला सभापति लक्ष्मण रायले जिल्ला सभापतिले विधान उल्लङ्घन गरेर आफूहरूलाई पेल्न खोजेपछि अधिवेशन गराउन बाधा खडा गरेको बताए । उनले निर्वाचन अधिकृतले पनि वदमासी गरेको भन्दै आक्रोश पोखे ।
सर्लाहीमा पछिल्लोपटक वडा अधिकृत तोक्ने विषयमा विवाद बढेको छ । जिल्ला सभापति पक्षधरले आफूहरूले दिएको दुईसय शिक्षकहरूबाट दुईसय वडामा अधिकृत तोक्नुपरेको माग गरेको छ । यता, पूर्व जिल्ला सभापति लक्ष्मणको समूहले भने त्यसलाई अस्वीकार गरेको छ ।
“अरू पार्टीमा गएका आफ्ना खल्तिका शिक्षकहरूलाई ल्याएर गराएको अधिवेशन हामीलाई मान्य हुँदैन, हामी मान्दैनौँ,” रायले भने ।
निर्वाचन अधिकृत फेर्न माग
पूर्व जिल्ला सभापति राय सांसद तथा नेता अमरेशकुमार सिंह निकट मानिन्छन् । यो समूहले वर्तमान निर्वाचन अधिकृत दिवाकरराज पाण्डेलाई परिवर्तन गर्नुपर्ने माग गरेको छ । निर्वाचन अधिकृतले जिल्ला सभापति नागेन्द्र कुमारको पक्ष लिएको भन्दै समूहले तुरुन्त उनलाई जिल्ला छोड्न धम्की दिएको छ ।
समूहले निर्वाचन अधिकृत फेरिदिन माग गर्दै केन्द्रीय निर्वाचन समितिलाई समेत आग्रह गरेको छ । अधिकृत पाण्डेय फिर्ता नभएसम्म अधिवेशन प्रकृया अघि बढ्न नदिने समूहको तयारी छ । उनलाई फिर्ता नगरे गम्भीर दुर्घटना निम्तन सक्ने चेतावनी सिंह समूहले दिएको छ ।
“निर्वाचन अधिकृत त्यहाँ बसुञ्जेल सबै अशान्त हुन्छ । हामी हजारौँ कार्यकर्ता गएर घेराबन्दी गर्छौ,” रायले भने ।
यता, सभापति नागेन्द्र कुमारले भने पाण्डेलाई फर्काइए सर्लाही जिल्लालाई पार्टीको १४औँ महाधिवेशनमा भाग लिन बञ्चित गराइने बताए । उनले नयाँ आउने निर्वाचन अधिकृतलाइ काम गर्न नदिने चेतावनी दिए ।
“यो निर्वाचन अधिकृत पनि फिर्ता गए सर्लाहीमा अधिवेशन हुँदैन, नयाँ मान्छे आएर अधिवेशन गराउन हामी दिँदैनौँ,” उनले बाह्रखरीसँग भने ।
यता निर्वाचन अधिकृत पाण्डेले भने कसरी अघि बढ्ने भन्ने विषयमा आफू अन्योलमा रहेको बताए । आक्रमणकारीहरूले आफूसँग कागजात, मोबाइल र डाटाहरू नष्ट गरिदिएको उनले बताए । “सबैसँग सरसल्लाहा गर्दैछुँ । खै कसरी अघि बढ्ने हो ?निकास खोज्दैछुँ,” उनले भने ।
'यो डडेलधुरा होइन'
सांसद तथा नेता अमरेशकुमार सिंहले सर्लाही जिल्लालाई डडेलधुरा जस्तो सहज नसोच्न चेतावनी दिएका छन् ।
अधिवेशन गराउने नाममा प्रहरी प्रशासनको परिचालन गरेको भन्दै उनले डडेलधुरामा जस्तो अधिवेशन गराउछुँ भनेर नसोच्न सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । त्यसरी अधिवेशन गर्न खोजे नेता कार्यकर्ताहरू चुप लागेर नबस्ने उनले बाह्रखरीसँग बताए ।
“सभापतिज्यूले डडेलधुराजस्तो सम्झिएर प्रहरी प्रशासन लगाएर अधिवेशन गराउन खोज्नुभएको छ । हामी कहाँ मान्छौँ ?कार्यकर्ता कहाँ मान्छ र ? उहाँलाई त्यस्तो नसोँच्न म आग्रह गर्छु," उनले भने ।