site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
‘छक्का पञ्जा’का दर्शकलाई धोका दिन चाहन्नँ

बलिउड सिनेमा ‘सूर्यवंशी’ रिलिज भएसँगै नेपालमा सिनेमा रिलिजको डेट लक गर्ने मेकरको संख्या बढ्दै गएको छ । दुई वर्षदेखि थन्किएर बसेका चलचित्रले रिलिज डेट लिइरहेका छन् । हरेक वर्ष दसैँ वा तिहारको छेको पारेर रिलिज गर्ने ‘छक्का पञ्जा’ टिमसँग भने अहिले चलचित्र छैन । भलै, यो चलचित्रको हल ट्रेलर सिनेमा घरमा बजिरहेको छ । स्क्रिप्ट समेत लक नभएको चलचित्र कहिले रिलिज हुन्छ ? पहिला सँगै काम गरेका जितु नेपाल यो सिरिजमा समेटिन्छन्/समेटिँदैनन् ? छक्का पञ्जा टिमका चुनौती के–के हुन् ? छक्का पञ्जाको वाचनशैलीमा परिवर्तन हुन्छ वा हुँदैन ? सूर्यवंशीले राम्रो व्यापार गर्याे, अब नेपाली चलचित्रले पनि त्यही बाटो समाउने हुन् ? यी र यस्तै प्रश्नको जवाफ बाह्रखरीका नरेश फुयाँलले कलाकार, निर्माता तथा लेखक दीपकराज गिरीसँग खोज्ने प्रयास गरेका छन् ।

बलिउड सिनेमा सूर्यवंशी नेपालमा पनि चल्यो । राम्रो भएकाले चलेको हो ?
राम्रो भनेको के हो भन्ने पनि हो । फिल्मलाई लिएर कस्ता प्रतिक्रियाहरू आइरहेका छन्, सबैलाई थाहा छ । यद्यपि, सिनेमा चल्यो त्यो सकारात्मक पक्ष हो । यही फिल्म नेपाली भएको भए यो फलानोको सिनेमा कसरी चल्यो होला भन्ने कुरा गर्थे ।

राम्रो/नराम्रो भन्दा पनि यसले के कुरा पुष्टि गर्यो भने लामो समय घरमा टेलिभिजनमा, मोबाइल एपमा सिनेमा हेरिरहेका दर्शकले सिनेमा हल मिस गरिरहेका रहेछन् । सिनेमा घरमा गएर परिवारसँगै बसेर पपकन र कफी खाँदै सिनेमा हेर्नुको जुन मजा छ, त्यो अन्त पाइँदैन भन्ने पुष्टि भएको छ ।

Dabur Nepal

नेपाली मेकरले अब सिनेमा रिलिज गर्न डराउनु पर्दैन भनेर बुझ्दा हुन्छ ?
नेपाली सिनेमा जहिले रिलिज गर्दा पनि डराउनुपर्छ । कि दर्शकलाई मनोरञ्जनको ग्यारेन्टी गर्नुपर्छ कि यो मेकरले अन्तर्राष्ट्रियस्तरको कलात्मक सिनेमा बनाउँछ भन्ने विश्वास दर्शकलाई दिलाउनुपर्छ । यी दुई ब्रान्ड स्थापित गर्न सक्नुपर्छ । जुन हाम्रोमा छैन । 

अर्को हाम्रो समस्या, कुनै सिनेमा चल्यो भने वाहियात सिनेमा चल्यो भन्न थाल्छौँ । वाहियात सिनेमा चल्दै चल्दैन । सिनेमामा इन्टरटेनमेन्ट भ्यालु पाएन भने अहिलेको समयमा कोही दर्शक पागल छैन तीन घण्टा हलमा थुनिएर बस्न ।

दसैँमा नेपाली सिनेमा रिलिज भएको थियो, चलेन । तिहारमा आएको हिन्दी सिनेमा भयंकर चल्यो ।

सामान्य समयमा पनि ९७ प्रतिशत नेपाली चलचित्रले लगानी उठाउँदैन थिए । अधिकांश सुपरहिट भनिएका चलचित्र यथार्थमा घाटामा गएका हुन्छन् । कागजमा सुपरहिट भनेर मात्रै हुँदैन । प्रचार गरिनु र पैसा उठाउनु फरक छ । यसको अर्थ हामी व्यावसायिक छैनौँ । चलेको चलचित्रलाई पनि समर्थन गर्दैनौँ ।

विदेशी चलचित्रको दबदबा छ । हाम्रो चलचित्रको कथ्य कस्तो हुनुपर्छ, हामीले कसरी कथा भनेर दर्शक हाम्रोतर्फ ल्याउने ?

युवा पुस्ता हलिउड चलचित्र हेर्छ । बाँकी क्राउड बलिउड चलचित्र हेरिरहेको छ । यो दुवै पक्षलाई नेपाली चलचित्रमा कसरी फर्काउने भनेर साँच्चै हामी घोत्लिने बेला भइसकेको छ । 

‘छक्का पञ्जा–४’को हल ट्रेलर सार्वजनिक गर्नुभयो । सिनेमा कहिले रिलिज हुने हो ? 
फागुन लागेपछि हामी सुटिङमा जानेछौं । सिनेमाको प्रोसेस लामो हुन्छ । त्यसैले आउँदो दसैँमा रिलिज हुने बढी सम्भावना छ ।

हल ट्रेलरमा पहिला तपाईंहरूसँग काम गर्नुभएको जितु नेपाल देखिनुभएको छैन । चलचित्रमा पनि नसमेटिने निश्चित हो ?
यो विषय अहिले नै भन्नु नै अलि चाँडो हुन्छ होला । कुनै पनि कलाकार टिजर वा ट्रेलरमा नेदेखिएपछि आउँदै आउँदैन भन्ने त होइन । अहिलेको प्रारम्भिक अवस्थामा हेर्दा त्यो देखिएको छ । हाम्रो सम्बन्ध एकदम राम्रो भएका कारण उहाँले मेरो रोल आयो भने भन्नुहोला भन्नेजस्तो कुरा गर्नुभएको छ । हामीले पनि एउटै उद्योगमा बसेर केही कुरामा असमझदारी भयो भन्दैमा अब सँगै काम गरिँदैन भनेर ल्याप्चे लगाएर बसेका छैनौँ । 

‘छक्का पञ्जा’मा योभन्दा अगाडि अझै ठूलो टिम थियो । दुईमा आएर केही परिवर्तन भयो । एउटा चलचित्रमा केही कलाकार छुटे भन्दैमा उनीहरू अर्कोमा नसमेटिने भन्ने हुँदैन । कुनै चलचित्रमा कुन कलाकार हुन्छन्, कुनैमा कुन हुन्छन् । यो प्रक्रिया चलचित्रमा चलिरहन्छ ।

यसअघि केही शृंखलामा छुट्नुभएका शिवहरि पौडेल र निर्मल शर्मा यो सिरिजमा पुनः जोडिन लाग्नुभएको हो ?
हो । उहाँहरू योपटक हामीसँग काम गर्दै हुनुहुन्छ । केही थपिने र केही घट्ने प्रक्रिया त चलिरहन्छ नि ।

स्क्रिप्ट तयार भइसक्यो ?
आधार तयार भइसकेको छ । बाँकी लेख्ने काम भइरहेको छ । अहिले तपाईंको कल आउँदा पनि म स्क्रिप्ट नै लेखिरहेको थिएँ । स्क्रिप्ट तयार भइसकेको भए म सुटिङमा गइसक्थेँ ।

बाहिरको ब्यानरसँग पनि काम गर्ने करिब–करिब निश्चित रहेको सुनिएको छ । तपाईंको चलचित्रको काम सकिएपछि बाहिरको ब्यानरसँग काम गर्ने हो ?
कुरा भइरहेको छ । योजना बनिरहेको छ । तर, म अहिले छक्का पञ्जाको स्क्रिप्ट लक गर्नतर्फ लागिरहेको छु ।

छक्का पञ्जा टिमको मुख्य चुनौती के हो ?
हामीबाट दर्शकले इन्टरटेन्मेन्ट पनि खोज्छन् । तर, मजाले हँसायो भने हावा र’छ चलचित्र पनि भन्छन् । ठोस सामाजिक विषय पनि खोज्छन् । गम्भीर विषय पनि त्यही चलचित्रमा र हाँसोको फोहोरा पनि एउटै चलचित्रमा समेट्नुपर्यो भन्ने खालको अपेक्षा छ । जुन सायदै सम्भव होला । 

छक्का पञ्जा भन्नेबित्तिकै दर्शक हलमा उर्लिएर आएको इतिहास छ । ‘छक्का पञ्जा–१’ र ‘छक्का पञ्जा–३’ त राम्रो थियो । ठिकठाक ‘छक्का पञ्जा–२’लाई पनि दर्शकले राम्रो रेस्पोन्स दिए ।

सिनेमा हेर्न जाने भन्नेबित्तिकै रमाइलो फिल हुन्छ भनेर मनोरञ्जनका लागि नै जाने हो हलमा । सिनेमा हलमा गएर दर्शक दुःखैदुःख, तनावैतनावको कुरा हेर्न चाहन्छन् भन्ने मलाई लाग्दैन । किनभने, तपाईंको जिन्दगीमा यति धेरै तनाव छ, प्रायः त्यही  तनावबाट एक छिन भए पनि छुटकारा पाउन हल जाने हो ।

सिनेमाका विद्यार्थी कति छन् नेपालमा, जो गम्भीर प्रकारका सिनेमा हेर्न रुचाउँछन् । कलात्मक चलचित्र हेर्ने, चलचित्रलाई गम्भीरतापूर्वक लिएर हेर्ने दर्शकको संख्या धेरै छैन । धेरै टाढा जानै पर्दैन, मेरो/तपाईंको घरमा नै हेर्ने हो भने आज बोर भयो जाऔँ सिनेमा हेर्न, रमाइलो हुन्छ भनेको सुनिन्छ । त्यस्तो दर्शकलाई हलमा मजाले हँसाएर पठाउने हो । 

आज बलिउडमा रोहित शेट्टी किन सफल छन् ? सिनेमामा दिमागको मतलब छैन । सिनेमामा मिनेट–मिनेटमा सिन चेन्ज हुन्छ । फास्ट स्क्रिन प्ले हुन्छ । मनोरञ्जनको तड्का हाल्दिन्छ । लजिकको मतलब छैन । हलमा दर्शक मजाले हाँस्छन् । हलमा दर्शक ताली बजाउँछन् । खुसी भएर घर फर्किन्छन् । त्यसलाई हामी एकथरी हावा सिनेमा बनाएर पैसा कमायो भनिरहेका हुन्छौँ । नेपालमा मैले हावा फिल्म गरेँ रे, हावा फिल्म दुई दिन चल्छ । दुई हप्तासम्म दर्शक हलमा आ’को आई गर्छन् भने त्यो हावा फिल्म कसरी भयो ? दुई हप्तासम्म दर्शक हलमा आ’को आई गर्छन् भने दर्शकले हलमा मनोरञ्जन खोज्छन् भन्ने बुझ्नुपर्छ ।

हाम्रोमा यहाँ एकथरी मान्छे छन्, सिनेमा भनेको गम्भीर हुनुपर्छ, कमेडी सिनेमालाई सिनेमा नै नमान्ने ।

कमेडी सिनेमामा अभिनय गर्नेलाई त एक्टर हुन् भनेर पनि भन्दैनन् यहाँ । इन्टरटेनर हुन् भनिन्छ । सिनेमा पनि भन्दैनन् । रमाइलो गरे भन्छन् । कतिलाई रिस उठ्यो भने ‘तीतो सत्य’को ठूलो रूप त हो भन्छन् । 

तपाईंले बनाएका चलचित्रमा कलात्मकता खोज्नु नै गल्ती हो त्यसो भए ?
हरेक चलचित्र आफैँमा कलात्मक हुन्छ । कलात्मक नभए त चलचित्र नै हुँदैन । कला पक्ष छैन भने त्यो सिनेमा नै होइन । हाम्रा चलचित्र पनि कलात्मक हुन्छन् । कति कलात्मक पक्ष खोज्ने भन्ने मात्रै हो ।

दीपकराज गिरी भन्नेबित्तिकै यसको सिनेमाले मजाले हँसाउँछ भनेर दर्शक हलमा जान्छन् । दीपकराज गिरीको चलचित्रले हँसाउँछ भन्ने दर्शकको माइन्ड सेट छ । यसको चलचित्र रमाइलो हुन्छ, परिवारसँगै बसेर हेर्न सकिन्छ । तीन घण्टा रमाइलो हुन्छ भनेर हेर्न जान्छन् । 

तपाईंले ‘गम्भीर’ सिनेमा बनाउनुभयो भने दर्शकको अपेक्षाविपरीत हुन्छ ? 
सिनेमा मेकरका हिसाबले मलाई गम्भीर सिनेमा बनाउने मन छ । मैले गम्भीर सिनेमा बनाउनु भनेको दर्शकलाई झुक्याउनु हो । धोका दिनु हो । ‘छ माया छपक्कै’मा मलाई एकजना राम्रै समीक्षा गर्ने दर्शकले हात समाएर भने– दीपकजी, तपाईंको सिनेमा हेरेर दर्शक हाँस्न आउँछन् है । तपाईंले चलचित्र गम्भीर–गम्भीर बनाउँदै जानुभएको छ है भन्नुभयो । 

त्यो मेरा लागि सुझाव ग्राह्य छ भन्दै हुनुहुन्छ ? 
एउटा मेकरले अडियन्स छोड्यो भने के हुन्छ ? त्यो त भनिरहनु पर्दैन त्यो मेकरको हालत के हुन्छ । बलिउडमा हरर मुभी बनाउनुस्, एक्सन मुभी बनाउनुस्, कमेडी मुभी बनाउनुस्, त्यहाँ छुट्टाछुट्टै दर्शक छन् । ठूलो जनसंख्या भएकाले उनीहरूका लागि दर्शक पर्याप्त छन् । लगानी डुब्दैन र सिनेमा सफल हुन्छ । हाम्रो थोरै दर्शक संख्या छ । त्यसैैले सबै दर्शकलाई मनपर्ने चलचित्र बनाउने प्रयास हामीले गर्नुपर्छ । नेपालमा चलचित्रले २० करोड व्यापार गर्छ भनेर त्यसको ग्राफ हेर्नुपर्यो भने ‘छक्का पञ्जा’मै पुगिन्छ ।

साउथ एसियन रिजनमा जहाँ–जहाँ हिन्दी चलचित्र रिलिज हुन्छ, त्यहाँको व्यापार हेर्ने हो भने हरेक देशमा ‘बाहुबली’ले धेरै व्यापार गरेको छ । भारतका सबै सहरमा यसको व्यापार धेरै छ । यो रिजनमा नेपाल मात्रै यस्तो देश हो, जहाँ ‘बाहुबली’ले भन्दा धेरै व्यापार छक्का पञ्जाले गरेको छ । 

तत्काललाई प्याटन नै परिवर्तन गर्ने योजना छैन ? 
मेरा चलचित्र हेर्ने हो भने प्रत्येक चलचित्रमा विस्तारै परिवर्तन हुँदै आइरहेको छ । कथा भन्ने वाचनशैलीमा पनि छक्का पञ्जा–१ बाट छक्का पञ्जा–३ र ‘६ माया छपक्कै’मा आइपुग्दा धेरै परिवर्तन भइसकेको छ । तर, मैले मलाई एकैपटक भयंकर परितर्वन गरेँ भने मेरा दर्शकले हँसाउँछ भनेर आएको के फिल्म बनाएछ यस्तो भनेर गाली गरेर फर्किन्छन् ।

यो चुनौती मोल्न छक्का पञ्जा टिम तयार छैन ?
जुन छक्का पञ्जा ब्रान्ड छ, यसमा चाहिँ छेडछाड गर्ने अनुमति मलाई छैन । अरूमा केही भए पनि गरेँ होला र गर्छु पनि । अरू ब्यानरका चलचित्रमा गर्छु । मैले अहिले साइन गरेका चलचित्र नै अलग–अलग धारका छन् । त्यसमा म रिस्क लिन सक्छु । तर, छक्का पञ्जा भन्नेबित्तिकै दर्शकमा यसमा फुल इन्टरटेन्मेन्ट हुन्छ भन्ने माइन्डसेट छ । वाइवाई चाउचाउ खाने अनि हट र स्पाइसी भएन भनेर कमेन्ट गरेर हुन्छ र ? 

छक्का पञ्जा–४ बनाउन ढिलो गरेँ भन्ने लागेको छैन ?
स्क्रिप्टचाहिँ तयार गरको भए अहिले सुटिङमा जान हुन्थ्यो भन्ने फिल भइरहेको छ । स्क्रिप्ट लक गरेर बस्नुपर्ने रहेछ भन्ने मनमा भइरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  ०७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro