site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भैरहवा विमानस्थलमा किन गर्नुपर्छ ६/६ महिनामा ‘क्यालिब्रेसन फ्लाइट’  ?

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) थाइल्यान्डको एरो थाइले गर्ने भएको छ । त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिले अनुमति दिइसकेको छ । 

सोही अनुमतिका आधारमा एरो थाइ ‘क्यालिब्रेसन फ्लाइट’ का लागि नोभेम्बर २२ मा नेपाल आउने जानकारी प्राधिकरणलाई गराइसकेको छ । 

सुरुमा एरो थाइले नै यो विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ गर्न अनुमति पाएको थियो । तर, कोभिड १९ को कारण देखाउँदै उक्त यान्त्रिक परीक्षण उडानका लागि नेपाल आउन नसक्ने लिखितरुपमै प्राधिकरणलाई जानकारी गरायो । एरो थाइको उक्त पत्रपछि प्राधिकरणले भारतलाई पत्राचार गर्‍यो । प्राधिकरणको पत्रलगत्तै भारतले ‘क्यालिब्रेसन फ्लाइट’ गर्न तयार रहेको जानकारी लिखितरुपमै प्राधिकरणलाई गरायो । त्यसको पुष्टि प्राधिकरणका निवर्तमान महानिर्देशक राजन पोख्रेलले गरे । 

प्राधिकरण सञ्चालक समितिको बैठक बसेर निर्णय गर्नु अगाडि नै तत्काल सरकार परिवर्तन भयो । र, प्राधिकरणको नेतृत्व अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले गरे । उक्त मन्त्रालयको जिम्मा लिए पनि प्रधानमन्त्रीसहितको प्राधिकरण सञ्चालक समितिको बैठक भने बस्न सकेन । त्यसपछि यो मन्त्रालयको जिम्मेवारी पाएका प्रेमबहादुर आले आएपछि प्राधिकरण सञ्चालक समितिको बैठक बस्यो र पहिले ‘क्यालिब्रेसन फ्लाइट’ नगर्ने लिखित पत्र पठाएको एरो थाइलाई एक पटक फेरि पत्र पठाउने निर्णय ग¥यो । यो बेलासम्म भारतले सोही उडान गर्न तयार रहेको पत्राचार प्राधिकरणलाई गरिसकेको थियो । 

किन दिइयो एरो थाइलाई अनुमति ?

यता, एरो थाइले कहिले पनि क्यालिब्रसेन उडान गर्दिन भनेर नभनेको प्राधिकरणका अधिकारी बताउँछन् । “कोभिडको कारणले एरो थाइ आउन सकेको थिएन । उ आउन नसक्दा वैकल्पिक योजना बनाउनुपर्छ कि भन्ने हिसाबमा थियौं । सोही कारण भारतसहित विभिन्न देशलाई पत्राचार पनि गरेको थियौं” ती अधिकारीले भने, “नोभेम्बर १ बाट नेपाल र थाइल्याण्डबीच हवाई सेवा सुचारु भएपछि अब आउन सक्छौं भनेर आउन लागेको हो ।”

वैकल्पिक उपाय खोज्दा भारतले पनि आउन सक्ने जानकारी गराएको भने उनले बताए । ती अधिकारीका अनुसार एरो थाइ नआउने नै भएको भए भारतसँग हुन सक्थ्यो । 

सन् २०१९ मा थाल्याण्डसँग ओरिजिनल एग्रिमेन्ट भएको थियो । सोही सम्झौताअनुसार एरो थाइ क्यालिब्रेसन फ्लाइट गर्न नेपाल आउन लागेको ती अधिकारीले बताए । 

भारतलाई पत्र पठाएर पनि दिइएन 

प्राधिकरणका निवर्तमान महानिर्देशक राजन पोख्रेलले यसअघि नै क्यालिब्रेसन उडानका लागि धेरै प्रयास गर्दा पनि एरो थाइ आएको थिएन । त्यो बेला एरो थाइले नेपालमा बढेको कोरोना संक्रमणलाई बहाना बनाएको थियो । त्यसपछि प्राधिकरणले अमेरिका, अष्ट्रेलियालाई पनि पत्राचार गरेको थियो । 

भारतले पनि इच्छा देखाएको थियो । अमेरिका, अष्ट्रेलियाले इच्छा नदेखाएको तर भारतले इच्छा देखाएकाले भारतसँग प्राधिकरणले ‘अप्रोच’ राख्यो । उसले गर्ने जानकारी गराएको थियो । पोख्रेलका अनुुसार नजिक भएको हुनाले उक्त उडानको लागि दर पनि सस्तो नै थियो । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ‘इक्यूपमेन्ट ल्यान्डिङ्ग सिस्टम’ (आइएलएस) को हरेक ६–६ महिनामा ‘क्यालिब्रेसन’ गर्नुपर्छ । त्यसरी ६–६ महिनामा क्यालिब्रेसन गर्नुपर्दा अमेरिका, अष्ट्रेलिया वा थाइल्याण्डबाट विमान ल्याउँदा महङ्गो पर्छ । भारतसँग गर्दा दीर्घकालीनरुपमा पनि फाइदा हुने भएकाले भारतबाट क्यालिब्रसेन गर्न खोजिएको थियो । त्यसका लागि प्राधिकरणले पर्यटन मन्त्रालयलाई जानकारी पनि गराएको थियो । त्यसपछि मन्त्रालयले प्राधिकरण सञ्चालक समितिले नै निर्णय गर्ने भनेर प्राधिकरणलाई पत्राचार गर्‍यो । तर, प्राधिकरण सञ्चालक समितिले फेरि एक पटक एरो थाईलाई नै सोध्ने निर्णय गर्‍यो । त्यसपछि यरो थाइ आउने जानकारी प्राधिकरणलाई गराएको हो । 

पोखरेल भन्छन्, “क्यालिब्रेसन फ्लाइट भारतसँग गराउन राम्रो अवसर थियो । यो विमानस्थलमा भारतीय आकाश हुँदै विमान अवतरण र उडान गराउन एक प्रकारको असमझदारी रहँदै आएको थियो । त्यो असमझदारी समाधान गर्न पनि त्यसले सघाउ पुर्‍याउँथ्यो । त्यसमा प्राधिकरण सञ्चालक समिति चुक्यो ।”

भारतले पाँच वर्षसम्मका लागि गर्ने प्रस्ताव पनि गरेको थियो । भैरहवामा यान्त्रिक उडान विधि छ । सोही कारण यसको ६–६ महिनामा क्यालिब्रेसन गर्नुपर्ने हुन्छ । अन्य विमानस्थलमा २–२ वर्षमा गर्नुपर्छ । “त्यो हिसाबले पनि भारत दीर्घकालीन रुपमा सस्तो पनि पर्ने थियो,” उनले भने । 

उडान विधि परिमार्जनपछि विमान सिमराबाटै प्रवेश गर्ने 

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आउने विमान सिमराबाटै प्रवेश गर्ने भएका छन् । प्राधिकरणले भैरहवा विमानस्थलको उडान कार्यविधि परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि उक्त विमानस्थलमा आउने विमान भारतीय आकाश हुँदै अवतरण गर्नुपर्ने थियो । भारतले आफ्नो हवाई आकाश प्रयोग गर्न दिने विषयमा हालसम्म सहमति प्रदान गरिसकेको छैन । सोही कारण पनि प्राधिकरणले कार्यविधि परिमार्जन गर्दै विमान सिमराबाटै प्रवेश गर्नुपर्ने व्यवस्था गराएको हो । पूर्वमहानिर्देशक पोखरेलका अनुसार भू–उपग्रहमा आधारित भएर उडान विधि बनाएकाले तत्काललाई उडान एवम् अवतरणमा कुनै समस्या हुँदैन । तर सधैँ भू–उपग्रहमा आधारित उडान विधिले मात्रै नहुने उनले बताए । 

परम्परागत उडान विधि पनि आवश्यक पर्ने उनको भनाई छ । पहिलेको उडान विधिअनुुसार विमान ल्यान्ड गर्दा, उडान गर्दा, होल्ड गर्दा भारतीय हवाई क्षेत्र छुन्थ्यो । तर, अहिलेको भू–उपग्रहमा आधारित उडान विधि भएकाले भारतीय हवाई क्षेत्रलाई छुँदैन । सोही कारण भारतले आफ्नो हवाई आकाशको प्रयोग गर्न अनुमति नै नदिए पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम चरणमा पुगेको हो । 

यो विमानस्थलको धावनमार्ग तीन किलोमिटरको छ । विमानस्थलको यात्रु क्षमता वार्षिक करिब ४ लाख रहेको छ भने विमानस्थलबाट एक घण्टामा पिक आवरमा ४ सय यात्रु ह्यान्डलिङ गर्न सकिने आयोजनाले जनाएको छ । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro