चितवन । चितवनमा बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको घटना पछि स्थानीयले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले स्थानीयले सडकमा अवरोध गरेर प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रण लिन अश्रु ग्याँस प्रहार गरिएको जानकारी दिए । “बसले ठक्कर दिएपछि स्थानीयले सडक अवरोध गरे,” उनले भने, “सडक सुचारु र स्थिति सामान्य गर्न बाध्य भएर अश्रु ग्याँस प्रयोग गर्नुपर्यो ।”
हालसम्म कति अश्रु ग्याँस प्रयोग गरियो भन्नेबारे प्रहरीले बताएको छैन । “अहिले लगभग स्थिति नियन्त्रणमा आएको छ के कति राउँड अश्रुग्याँस प्रयोग भयो अफिस फर्केपछि थाहा हुन्छ,” प्रमुख अधिकारीले भने । भोलि पीडित र पीडक पक्षबीच कार्यालयमा वार्ता गरी दोषीलाई कारवाही गरिने उनले बताए ।
स्थानीयले भने प्रहरीले घरघरमासमेत अश्रु ग्याँस हानेर आतङ्कित बनाएको आरोप लगाएका छन् ।
भरतपुर महानगरपालिका–७ विकासचोकमा आज दिउँसो साढे ३ बजे चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको बा १ प १२८४ नम्बरको पर्यटक बसले ठक्कर दिँदा भरतपुर महानगरपालिका वडा नम्बर ७ का ८ वर्षीय मिलन भण्डारीको मृत्यु भएको थियो । दुर्घटनाबाट टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । तर, अस्पतालले बालकलाई मृत घोषणा गरेको थियो ।
बालकको मृत्युपछि आक्रोशित स्थानीयले गाडी तोडफोड र सडक अवरोध गरेका गरेका थिए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।