काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले आइतबार बिहान पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारै उनको राजीनामा स्वीकृत गरिसकेका छन् ।
आफ्नो नियुक्तिका सम्बन्धमा विरोध भएको तथा विभिन्न आरोपहरू लगाएपछि पदबाट राजीनामा दिएको हमालले बताएका छन् ।
मन्त्री बनेको दुई दिनमै राजीनामा दिनुको कारणबारे बाह्रखरीले जिज्ञासा राख्दा उनले अनेक आरोप सहनुभन्दा राजीनामा दिनु ठिक लागेको बताए । यो आफ्नो स्वविवेकको निर्णय भएको पनि उनले बताए ।
गजेन्द्र हमालको भनाइ पढ्नोस्–
पहिलो कुरा, पार्टीबाट नै विरोध आउन थाल्यो मेरो । दोस्रो कुरा, पत्रपत्रिका सामाजिक सञ्जाल तथा मिडियाहरूमा मेरो व्यक्तिगत कुरा र परिवारवाद लगाएर राजनीति गर्ने कुराहरू गरे । जुन मान्छेलाई मेरो, मेरो परिवारको राजनीतिमा योगदान कति छ थाहा नै छैन, त्यस्ता–त्यस्ता हिजोका मान्छेहरूले लगाएको आरोप सहनुभन्दा बरु राजीनामा दिनु जाती हुन्छ भनेर राजीनामा दिएको हुँ ।
यो मेरो स्वविवेकको निर्णय हो, मैले धेरै सोँचे । मैले कोहीसँग पनि सरसल्लाह गरिनँ । स्वविवेकको निर्णय गरेँ । कसैलाई पनि थाहा थिएन । आज (आइतबार) बिहान ६ बजे मैले राजीनामा दिन्छु भनेर भनेको हो ।
२०२५ सालदेखि राजनीतिमा लागेँ । बाँके जिल्लाको नेपाल विद्यार्थी संघको उपसभापति २०२७ सालमा बनेँ । भीमनाथ शर्मा अध्यक्ष थिए । २०३१ सालबाट २०३६ सालसम्म बाँके जिल्लाको नेपाल विद्यार्थी संघको अध्यक्ष भएँ । २०५२ सालमा पार्टीको जिल्ला सभापति भएँ । सुशील दाइ (कोइराला)सँग मेरो कुरा मिलेन, १८ जिल्लाको कमिटी भंग हुँदा म पनि परेँ । प्रजातान्त्रिक कांग्रेसको पनि जिल्ला सभापति भएँ । नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेसको एकीकरण भएपश्चात् म पार्टीको जिल्ला सहअध्यक्ष पनि भएको हो । त्यसपछि राष्ट्रिय आन्दोलन जति पनि भए मैले सबैमा भाग लिएको छु । मलाई जेल पनि हालियो । अदालतबाट मैले सफाइ पाएको हो ।
प्रधान्यायाधीशको जेठान भए पनि त्यसको राजनीतिमा के सम्बन्ध ? बुद्धि नभएर, नबुझेर आक्रमण गरे । जबकि, प्रधानन्यायाधीशले पनि मैले बनाउन खोजेको होइन भन्नुभएको छ । अदालतले पनि प्रधानन्यायाधीशले बनाउन खोजेको हो भने प्रमाण देखाउनुहोस् भनेर भनिसकेको छ ।
प्रधानमन्त्रीले शेरबहादुर देउवाले पनि मेरो अधिकारको कुरा हो, मैले बनाएको भन्नुभएको छ । नेपाली कांग्रेसको कोटामा आएको हो, कसैको कोटामा आएको हैन भनिसक्नुभएको छ । कानुनमन्त्रीले, प्रचण्डजीले पनि यही भन्नुभएको छ ।
मैले त नैतिकता देखाएर राजीनामा दिएँ । उहाँहरू (पत्रकार/नेता)ले प्रमाण दिन सक्नुभएन भने राजीनामा दिनुपर्छ । पत्रकारिता छोड्नुपर्छ । नेताहरूले पनि नेतागिरी छोड्नुपर्छ । या त प्रमाण पुर्याउनुपर्छ ।
नेपालको इतिहासमा ४८ घण्टामा मन्त्रीको राजीनामा दिने म मात्र हुँ । कि अरू कोही छ ? कोही छैन । अब उहाँहरूले कहाँ कसरी मन्त्री बन्यो पत्ता लगाउनुपर्यो । नसके आजको मितिबाट पत्रकारिता गर्दिनँ भनेर छाड्नुपर्यो । नेताहरूले राजनीति गर्दै गर्दिनँ भन्नुपर्यो । मैले त राजनीति गरेको ५०, ५५ वर्ष भयो नि । मेरो बारेमा लेख्ने र बोल्ने नैतिकता देखाउनुपर्यो ।
(कुराकानीमा आधारित)