site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई वर्षदेखि दिन्न कहिल्यै भनेनन्, तर रकम दिँदै दिएनन् 

काठमाडौं । उज्वल सत्याल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको पर्यटन र होटल व्यवस्थापन नेपाल एकेडेमिका पूर्व प्रिन्सिपल हुन् । सन् २०१७ मा रिटार्यड भएका सत्यालले उपदानलगायत रकम सिभिल सहकारीमा राखे ।

सहकारीमा पैसा राख्दा ब्याज बढी पाउने आशा सत्याल मात्रै होइन अन्य धेरै व्यक्तिमा थियो । बैंकहरुले भन्दा सहकारीहरुले धेरै नै ब्याजदर दिएर निक्षेप संकलन गरिरहेका छन् भने ऋण दिँदा पनि धेरै ब्याजदर लिने गरेका छन् ।

सहकारीको ब्याजदरमा लोभिएका सत्याललगायत १ सय ३७ जना अहिले उक्त सहकारीले संगठित ठगी गरेको भन्दै अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी दिए । सोही उजुरीका आधारमा ब्यूरोले सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

अहिले १ सय ३७ जनाले उजुरी दिए पनि उक्त सहकारीबाट ठगिने निक्षेपकर्ताहरुको संख्या २ हजार २ सय बढी रहेको सत्यालले बताए ।

तामाङ पूर्वअध्यक्ष रहेको सिभिल सहकारीबाट तामाङले ९० प्रतिशत ऋण आफैँ लिएर नतिरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार करिब आठ अर्ब रुपैयाँ निक्षेप रहेको सहकारीबाट सात अर्ब बढी ऋण तामाङसहित उनका आफन्तले मात्रै लिएको पाइएको छ ।

उक्त सहकारीमा निक्षेप राखेका ९० प्रतिशत बढी रिटायर्ड कर्मचारी भएको सत्यालले बताए । 

“निक्षेप राख्नेमध्ये अधिकांश ६० देखि ९० वर्ष उमेरका छन् । ९० प्रतिशत बढी रिटायर्ड कर्मचारी छन्,” उनले बाह्रखरीसँग भने । 

त्यसमध्ये ६ जना निक्षेपकर्ताको मृत्युसमेत भइसकेको र केही बिरामी भएकाले विभिन्न अस्पतालमा भर्ना भएको उनले बताए ।

“यसका निक्षेपकर्ता कोही विदेशमा हुनुहुन्छ । कोही बिरामी हुनुहुन्छ । पैसा लिनको लागि परिवार धाएको धायै हुनुहुन्छ तर सहकारीले आज दिन्छु, भोलि दिन्छु भन्दा भन्दै २ वर्ष बित्यो,” उनले भने ।

निक्षेप फिर्ताबारे अध्यक्ष तामाङले के भन्थे त ? भन्ने प्रश्नमा उनले भने, “७ अर्बको कुरा हो । १५ अर्ब बढीको सम्पत्ति छ, दिन्छु भन्थे । आजसम्म दिन्न भनेका छैनन् तर ब्याजदर त परैको कुरा साँवा पनि फिर्ता दिएनन् ।”

सहकारीमा राखेको निक्षेप असुरक्षित छ भन्ने शंका उनीहरुले दुईवर्ष अगाडि नै पाएका थिए । २०७६ वैशाखमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारबाट सिभिल सहकारीमा राखेको रकम असुरक्षित रहेको भन्ने आफूहरुले थाहा पाएको सत्यालले बताए । 

“करिब दुई वर्षदेखि यो सहकारी निक्षेपकर्तालाई ठग्ने बाटोमा हिँड्यो । २०७६ वैशाखमा सञ्चारमाध्यममा सहकारीमा राखेको पैसा सिभिल होम्समा लागेको भन्ने समाचार आयो । त्यसपछि पैसा लिनेको लाइन लाग्यो । त्यो बेला पहुँचका आधारमा करिब १ हजार जनाले निक्षेप फिर्ता पनि लिए । जो पहुँचमा थिएनन्, उनीहरुको रकम दिइएन,” उनले भने ।

सुरुमा सत्याललगायत ४६ जना सिभिल सहकारी निक्षेप पीडितहरुले वाग्मती प्रदेश सरकार, मूख्यमन्त्रीलगायत विभिन्न सरकारी निकायहरुको ढोका ढक्ढक्याएका थिए । उजुरीका लागि उनीहरु प्रदेश मुकाम मकवानपुर पनि पटक पटक पुगे ।

“हामी निकै धायौं । प्रदेश सरकारदेखि विभिन्न निकायमा पुग्यौं । अहिले सीआईबीले अनुसन्धान थालेको छ । हामी बचतकर्तामा आशा पलाएको छ,” उनले भने ।

तामाङले २०५५–५६ मा सहकारी खोलेका थिए । उनी सहकारीको अध्यक्ष र ऋण शाखा प्रमुख समेत थिए । संस्थाको अध्यक्ष भएको व्यक्ति सम्भवतः ऋण शाखाको प्रमुख भएर बस्दैनन् । तर, तामाङ बसे । सहकारीसँगै उनले घरजग्गाको कारोबार बढाए । घरजग्गाका लागि सबैजसो ऋण सोही सहकारीबाट लिए । सिभिल होम्सले एक हजारभन्दा बढी घर बनाएर बिक्री गरेको तर सहकारीबाट लिएको ऋण तामाङले नतिरेको आरोप निक्षेपकर्ताले लगाएका छन् ।

उक्त सहकारीको बचत तथा मुद्दती खातामा रहेको कुल ७० करोड ८७ लाख १३ हजार ८ सय २१ रूपैयाँ संगठितरुपमा सहकारी ठगी गरेको आरोपमा तामाङसहित अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट म्यानेजर मायोनानी महर्जन, जुनियर असिसटेन्ट म्यानेजर एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिसटेन्ट संगीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर  सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजय विक्रम शाह र पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने पक्राउ परेका छन् ।

सत्यालका अनुसार सहकारी सञ्चालकले आफन्त वा उनीहरुले पत्याएको व्यक्तिलाई बिना धितो पैसा दिने, सरकारी ऐन विपरीत हुने काम गर्दै आएकाले धेरै निक्षेपकर्ता गठिएका छन् । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  ०९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro