काठमाडौं । यातायात व्यवस्था विभागले एउटै प्रदेशभित्र चल्ने सार्वजनिक गाडीको भाडा नबढ्ने जनाएको छ । आइतबार एक सूचना जारी गर्दै विभागले प्रदेश र स्थानीय तहबाट भाडादर समायोजन नभएसम्म एउटै प्रदेशभित्र चल्ने सार्वजनिक गाडीको भाडा बढाउन नपाइने बताएको छ ।
विभागका प्रवक्ता लोकनाथ भुसालले जारी गरेको सूचनामा गत असार २९ गतेदेखि लागु गरेको भाडादर एउटै प्रदेशभित्र चल्ने सवारी साधनमा लागु नहुने उल्लेख छ ।
‘‘काठमाडौं उपत्यका लगायत केही जिल्लाहरूमा सञ्चालित सार्वजनिक सवारी साधनहरूले आफूखुसी मनोमानी भाडा असुल गर्ने गरेको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको छ,” विभागले जारी गरेको सूचनामा भनिएको छ ।
यातायात व्यवयासी आफैँले मनोमानी रूपमा भाडा बढाए कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत विभागले दिएको छ ।