काठमाडौं । न्यु डायमन्ड स्पोर्ट्स क्लबले बिहीबार विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै समूह विजेताको रूपमा राष्ट्रिय पुरुष तथा महिला एनभीए क्लब भलिबल च्याम्पियनसिपको अन्तिम चारमा स्थान बनाएको छ ।
महिलातर्फ समूह ‘बी’को विजेता बन्ने क्रममा न्यु डायमन्डले आर्मीलाई २७–२५, २५–२२ र २५–२३ को स्कोरमा हराएको हो ।
जितसँगै ६ अंक जोडेको न्यु डायमन्ड समूह विजेता बनेको हो । पराजित आर्मी उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । आर्मी र न्यु डायमन्ड दुवैले आफ्नो पहिलो खेलमा एभरेस्ट भलिबल क्लबलाई हराएका थिए ।
न्यु डायमन्डले अब फाइनल प्रवेशका लागि समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आर्मीले अर्को विभागीय क्लब सशत्र प्रहरी बल (एपीएफ)सँग प्रतिस्पर्धा गर्नेछ ।