site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यान निर्वाचनको दुई वर्ष : अझै बनेन घरेलु क्रिकेट संरचना 
SkywellSkywell

काठमाडौं । नेपाली क्रिकेटले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउँदा खेलाडीहरुले सबैभन्दा बढी गुनासो गरेको विषय थियो, ‘हाम्रो घरेलु संरचना भएन । जसका कारण नयाँ खेलाडी उत्पादन भएनन् । भएकाले वर्षभर खेल्न पाएनन् ।’

यसबीचमा नेपाल क्रिकेट संघ (क्यान)मा ठूलो विवाद भयो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपालको सदस्यता निलम्बन गरिदियो । आईसीसीले आफ्नै प्रत्यक्ष संलग्नतामा क्यानको नयाँ विधान बनायो । तर, त्यही विधानमा टेकेर चुनाव गर्दै नयाँ कार्यसमिति चयन गर्यो । निर्वाचनबाट चतुरबहादुर चन्द नेतृत्त्वको प्यानलले विनयराज पाण्डे प्यानललाई क्लिन स्विप गर्दै हरायो ।
 
लामोे समयको विवादपछि सम्पन्न चुनावबाट क्यानमा पदाधिकारी आएपछि क्रिकेटमा सुधार हुने आशा धेरैले गरेका थिए । कम्तिमा घरेलु संरचनामा गम्भीरतापूर्वक काम हुनेछन् । तर, आज दुईवर्ष वितिसक्दा क्यान नेतृत्त्व त्यसमा असफल भएको छ । निर्वाचित भएपछि अध्यक्ष चतुरबहादुर चन्द आफैंले महत्त्वका साथ घोषणा गरेको नेपाल प्रिमियर लिग (एनपीएल) अलपत्र परेको छ । घरेलु संरचनाको आधार तय भएका छैनन् । आईसीसीले क्यानको निलम्बन फुकुवा त गर्यो तर त्यो पूर्ण रुपमा फुकुवा गरेको छैन । आईसीसीले अझै पनि क्यानलाई तौली–तौली रकम पठाएको छ । क्यानले स्वतः पाउनु पर्ने रकम पनि पाउन सकेको छैन ।
 
निर्वाचित भएको दुई वर्षसम्म नेपाली क्रिकेट विकासका लागि गर्नुपर्ने आधरभूत काम सम्पन्न गर्नै क्यान नेतृत्त्व चुकेको छ । झण्डै साढे तीन वर्षको निलम्बनपछि आएको क्यान नेतृत्त्वबाट धेरै आशा गरिएको थियो । तर, त्यो अपेक्षाकृत काम भने हुन सकेन । तथापि दुईवर्षको अवधिमा काम नै नभएको पनि होइन । काम भएका छन् । साढे तीन वर्षसम्म कर्मचारीबिहीन भएको क्यानमा आईसीसीको गाइडलाइनअनुसार कर्मचारी नियुक्त भएका छन् । केन्द्रदेखी जिल्लासम्म संगठनात्मक सुधार भएका छन् । प्रदेश तथा जिल्ला क्रिकेट संघमा वार्षिक बजेट गएको छ ।

क्यानले यसबीचमा आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखला सफलतापूर्वक संचालन गर्यो । त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला गर्न सफल भयो । १३औं दक्षिण एसियाली खेलकुद प्रतियागितामा क्रिकेट संचालन गर्यो । मेयर कप तथा प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता गर्न सफल भयो ।
 
क्यानको दुई वर्षे कार्यकाललाई बाह्रखरीले बुँदागत रुपमा केलाउने प्रयास गरेको छ । 

KFC Island Ad
NIC Asia

क्यानले गर्न नसकेका काम
बनेन घरेलु संरचना 
माथि उल्लेख गरेजस्तै पछिल्लो एक दशकमा खेलाडी तथा क्रिकेट सरोकारवालाहरुको मुख्य चासो नै नेपाली क्रिकेटको घरेलु संचरना भएन भन्ने थियो । घरेलु संरचना नभएका कारण नयाँ खेलाडी उत्पादन भएनन् । भएकाले वर्षभर आफूलाई व्यस्त राख्न पाएनन् । कुनै ठूलो प्रतियोगिता खेल्नु अघि सानो समूहको घेराबाट खेलाडी छनोट गर्नुपर्यो ।
 
नेपालमा पहिले २०५७ सम्म जय ट्रफीको नाममा जिल्ला जिल्लामा प्रतियोगिता हुन्थ्यो । वीरेन्द्र मेमोरियल राष्ट्रिय प्रतियोगिता हुन्थ्यो । उमेर समूहका प्रतियोगिताहरु हुन्थे । तर, यति धेरै आशा गरिएको क्यानले नयाँ संरचना त बनाउन सकेन नै भएका पुराना प्रतियोगितालाई पनि निरन्तरता दिन सकेन । दुई वर्षको अवधिमा एउटै राष्ट्रिय प्रतियोगिता गर्न सकेन ।
 
बहाना कोभिड–१९ महामारी बन्न सक्छ । तर, यसैबीचमा क्यानले राष्ट्रिय खेलकुद परिषद्को प्रतियोगिता प्रधानमन्त्री कप गर्यो । महानगरपालिकाको सहयोगमा मेयर कप प्रतियोगिता गर्यो । त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्यो । तर, नेपाली क्रिकेटको मेरुदण्ड मानिने घरेलु संरचनाबारे क्यानले चासो देखाएन । देखाए पनि चुस्त गति देखियो । त्यसकारण अहिले पनि राष्ट्रिय टिममा खेलाडी छान्नु पर्यो भने त्यही ३०/४० खेलाडीमै सिमित हुनुपर्ने अवस्था छ ।
 

खेलाडी सेन्ट्रल कन्ट्रयाक्ट भएन
क्यानले पछिल्लो समय खेलाडीलाई बर्गिकरण गरेर सेन्ट्रल कन्ट्रयाक्टमा राख्न सकेको छैन । गत चैत २९ गते सम्पन्न क्यान बोर्ड बैठकले राजबाबु श्रेष्ठको संयोजकत्त्वमा प्रशान्तबिक्रम मल्ल, सञ्जयराज सिंहको समिति गठन गरी खेलाडी बर्गीकरणको जिम्मेवारी दिएको थियो । बोर्ड एक्पर्टका रुपमा दुईजना थप्न पाउने निर्णय गरेको थियोे । समितिले उत्तम कर्मचार्य र विनोद दासलाई आमन्त्रित सदस्यका रुपमा थप गरेको थियो । उक्त समितिले अप्रिल २०२१ देखी डिसेम्बरसम्मका लागि महिला र पुरुषमा समान १८ खेलाडीको नाम सिफारिस गरे पनि क्यान बोर्डले अहिलेसम्म पास गरेको छैन ।
 
समितिले सिफारिस गरेअनुसार क्याटोगरी ‘ए’ मा करण केसी, सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र पारस खड्का छन् । क्याटोगरी ‘बी’ मा कुशल मल्ल, विनोद भण्डारी, सुशन भारी, अबिनाश बोहरा, शरद भेषावकर र सोमपाल कामी छन् । क्याटोगरी ‘सी’ मा कुशल भुर्तेल, आरिफ शेख, कमलसिंह ऐरी, आशिफ शेख, सन्दीप जोरा, पवन सर्राफ र शाहब आलाम छन् ।
 
महिला क्रिकेट टोलीको क्याटोगरी ‘ए’ मा सीता रानामगर, रुविना क्षेत्री, करुणा भण्डारी, इन्दू बर्मा र काजोल श्रेष्ठ छन् । क्याटोगरी ‘बी’ मा पूर्व कप्तान नेरी थापा, सरिता मगर, अञ्जली चन्द, कविता कुँवर, रोमा थापा र सोनु खड्का छन् । क्याटोगरी ‘सी’ ममता चौधरी, अप्सरी बेगम, विन्दू रावल, आरती विडारी, डली भट्ट, सरस्वती चौधरी र सुमन खतिवडा छन् ।
 
क्यानले यसअघि गरेको बर्गिकरण पनि विवादमा परेको थियो । भैले क्यानले पछि त्यसलाई सच्यायो ।  

Royal Enfield Island Ad

प्रतियोगिता आयोजनाको व्यवस्थापन गर्न असफल 
नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष पदमा निर्वाचित भएपछि वर्तमान अध्यक्ष चतुरबहादुर चन्दले सबैभन्दा जोड दिएर उठाएको एउटा मुद्दा थियो, नेपाल प्रिमियर लिग (एनपीएल) । तर, क्यान नेतृत्त्वले कुनै गृहकार्य नै नगरी एनपीएल गर्ने घोषणा गरेको थियो । अध्यक्षले ‘पब्लिक सेन्टिमेन्ट’ जित्नका लागि भनेका थिए भनेर भन्दा अतिउक्ति हुँदैन । किनभने त्यतिबेला नेपालमा फ्रेन्चाइज लिगको माहोल निकै तातेको थियो । त्यही माहोलमा सस्तो लोकप्रियताका लागि क्यान नेतृत्त्वले एनपीएलको पत्ता फ्याकेको थियो । 

किनभने नेपाल प्रिमियर लिग भन्ने नाम नै जोरा स्पोटर््सले दर्ता गरिसकेको छ । क्यानले अहिले भारतीय कम्पनीसँग सम्झैता गरिएको भनिएको प्रतियोगिताको नाम नेपाल ट्वान्टी–२०२० लिग हो । त्यही पनि आयोजना अधिकार भारतीय कम्पनी सेभेन स्पोर्ट्स थ्री प्राइभेट लिमिटेडलाई दश वर्षका लागि ४२ करोड रुपैयाँमा बेच्ने क्यानको निर्णय आफैमा विवादित बनेको छ । उक्त प्रतियोगिताको फाइल अहिले राखेपमा अड्किएको छ । यसले क्यान प्रतियोगिता गर्ने निर्णय गरे पनि आफैले आयोजना गर्ने आँट गर्न सकेन ।
 
नेपालमै सम्पन्न नेदरल्यान्ड्स, मलेसिया र नेपाल सम्मिलित त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पनि क्यान आफैले आयोजनाको जिम्मेवारी लिन सकेन । त्यो पनि आमिर अख्तरको जोरा स्पोटर््सलाई १५ लाखमा जिम्मा दिएकोे थियो ।

आईसीसीको वित्तिय नियन्त्रण कायमै
आमो समयको रस्साकस्सीपछि आईसीसीले आफ्नै पहलमा नयाँ विधान बनाएर निर्वाचन गर्यो । त्यसपछि आईसीसीले क्यानको सदस्यता निलम्बन फुकुवा गर्यो । तर, अझै पनि आईसीसीको  वित्तिय नियन्त्रण कायमै छ । नेपालले पाउनुपर्ने रकम पाउन सकेको छैन । क्यानले एकपटक झण्डै चार करोड रुपैयाँ रकम पाएको थियो । तर, त्यसको हिसाब मिलान गर्न नसकेका कारण अर्को क्वार्टरको रकम अहिलेसम्म आउन सकेको छैन । जसका कारण आगामी अक्टोबरमा नियन्त्रण फुकवा गर्ने सम्भावना पनि विस्तारै टरेको छ । 

क्यानले गरेका काम
कर्मचारी व्यवस्थापन
झन्डै साढे तीन वर्ष निलम्बनमा हुँदा क्यान कर्मचारीबिहीन बनेको थियो । तर, क्यानमा अहिले जनरल म्यानेजर, चिफ फाइनान्स अफिसर, क्रिकेट म्यानेजर नियुक्त भएका छन् ।
 
क्यानले सातै प्रदेशमा प्रशिक्षक पनि नियुक्त गरेको छ । क्यानले लुम्बिनी, सुदूरपश्चिम प्रदेश दुईमा दुई जना प्रशिक्षक नियुक्त गरेको छ भने बाँकी प्रदेशमा एक जना प्रशिक्षक नियुक्त गरेको छ ।

प्रतियोगिता आयोजना 
क्यानले यसबीचमा आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय शृंखला सफलतापूर्वक आयोजना गरेको छ । १३औं दक्षिण एसियाली खेलकुदमा (साग)मा क्रिकेट खेल सफलतापूर्वक आयोजना गर्न सफल भयो । त्यस्तै महिला र पुरुषको मेयर कप तथा प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता गर्यो । क्यानले यहीबीचमा नेदरल्यान्ड्स, मलेसिया र नेपालसम्मिलित त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि गरेको छ । 

प्रदेश र जिल्लालाई रकम
क्यानले प्रदेश र जिल्ला संघलाई रकम पठाउन सफल भएको छ । क्यानले प्रदेश संघलाई तीन लाख र जिल्ला संघलाई एक लाखका दरले रकम पठाएको छ । 

क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेब वाटमोरलाई नियुक्त गरेको थियो । एक वर्षका लागि ल्याएको वाटमोरलाई क्यानले सम्झैता नवीकरण गर्न सकेन । बरु सम्झैता नसकिँदै वाटमोरले प्रशिक्षकबाट राजीनामा दिए । वाटमोर अहिले बारोडा क्रिकेट संघमा क्रिकेट निर्देशक र सिनियर टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । वाटमोरले ओमान भ्रमणको आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्र्तगत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय शृंखला अघि राजीनामा दिएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro