बैतडी । दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तडको डोलमा पहिराका कारण पूरै गाउँ विस्थापित हुने अवस्थामा पुगेको छ ।
लगातारको वर्षाका कारण सो ठाउँका करिब १५० परिवार पहिराको जोखिममा रहेको स्थानीयवासी लोकेन्द्रबहादुर चन्दले जानकारी दिए । विसं २०१८ देखि शुरु भएको पहिराले नौ जनाको ज्यान लिएको तथा २०० रोपनी खेत बगाइसकेको छ । अहिले पनि पहिराले खेत बगाउने क्रम जारी रहेको छ ।
यस वर्ष वर्षात् शुरु भएसँगै स्थानीयवासी लोगसिंह भाटको परिवार निकै जोखिममा परेको छ । घरको तलतिर पहिराले सबै आँगन बगाएपछि अहिले भाट परिवारको बिचल्ली भएको छ । पहिराले पानीघट्ट र सूर्य पन्त प्राविको खानेपानी ट्यांकी समेत बगाइसकेको छ । पहिराले धेरैको उठीबास गरिसकेको छ । आर्थिक अवस्था राम्रो भएकाहरु बसाइँसराइ गरिसकेका छन् भने आर्थिक अवस्था कमजोर भएका जोखिममा बस्न बाध्य भएका छन् । जमिनभित्र कमेरोयुक्त माटो भएकाले वर्षेनी पहिराले घरखेत बगाउँदै आएको छ ।
जोखिममा दुई विद्यालय
यहाँको लटिनाथ आधारभूत विद्यालय मेलथला र सूर्य पन्त आधारभूत विद्यालय डोल पहिराको जोखिममा परेका छन् । लगातारको वर्षाले पहिरो आउन थालेपछि विद्यालय पहिराको जोखिममा परेको दोगडाकेदार – ६ वडा कार्यालयका प्राविधिक लोकेन्द्रबहादुर चन्दले जानकारी दिए । विद्यालयसमेत पहिराको जोखिममा परेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।
लगातारको वर्षाले गौकुराका मदनसिंह भण्डारीको घर आधा चर्र्किएको छ । पहिराका कारण नै गाउँ नै विस्थापित हुने अवस्थामा पुगेको स्थानीयवासी भूपेन्द्र भण्डारीले जानकारी दिए ।
यस्तै शनिबार राति आएको वर्षाले पुर्चौडी नगरपालिका वडा नं ३ मा पहिरो जाँदा हर्क धामी र काशी धामीको घर जोखिममा परेका छन् । काशी धामीको घरमा पहिरो आउँदा गोठभित्र रहेका पशुचौपायालाई बाहिर निकाल्न नसकिएको वडाध्यक्ष दलबहादुर धामीले जानकारी दिए । मान्छे घरबाट बाहिर निस्कन सके पनि पशुचौपाया गोठमै थुनिएका छन् ।
अहिले हर्क र काशी आफ्नो घर छाडेर आफन्तका घरमा बसिरहेका छन् । पहिराले शंकर धानुक, हर्क धामीकोे खेत पनि पुरिदिएको छ । पहिराले बारीमा खेत नै बगाइदिएपछि झनै समस्या भएको उनीहरुले बताएका छन् । रासस