site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खै नेपाल प्रिमियर लिग (एनपीएल) ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष पदमा निर्वाचित भएपछि वर्तमान अध्यक्ष चतुरबहादुर चन्दले सबैभन्दा जोड दिएर उठाएको एउटा मुद्दा थियो, नेपाल प्रिमियर लिग (एनपीएल) ।

लामो समयको माथापच्चीपछि भएको चुनावमा चन्द समूहले ‘क्लिन स्विप’ गरेको थियो । क्लिन स्विप गरी निर्वाचित अध्यक्षले त्यति धेरै महत्त्व दिएर उठाएको मुद्दा एनपीएल दुई वर्ष बितिसक्दा पनि हुने÷नहुने टुंगो छैन ।

एनपीएलको मुद्दामा क्यान आफैभित्र रुमल्लिएर बसेको छ । अझ भनौँ, यही मुद्दाले क्यानभित्र दुई धार देखापरेको छ । त्यसो हो भने क्यान नेतृत्वले कुनै गृहकार्य नै नगरी एनपीएल गर्ने घोषणा गरेको थियो त ? क्यानले अहिलेसम्म एनपीएल सम्बन्धमा गरेको काम–कारबाही हेर्दा त्यस्तै लाग्छ ।

अध्यक्षले ‘पब्लिक सेन्टिमेन्ट’ जित्नका लागि भनेका थिए भनेर भन्न सकिन्छ । किनभने, त्यति बेला नेपालमा फ्रेन्चाइज लिगको माहोल निकै तातेको थियो । त्यही माहोलमा सस्तो लोकप्रियताका लागि क्यान नेतृत्वले एनपीएलको पत्ता फ्याँकेका थिए । 

“हामीले जुन समयमा एनपीएल गर्ने भनेर घोषणा गरेका थियौँ, त्यति बेला नेपालमा क्रिकेटको माहोल एकदमै राम्रो थियो । तर, यसैबीच आएको कोभिड–१९ महामारीले सबै क्षेत्रलाई असर गर्‍यो । त्यसको मारबाट क्रिकेट पनि अगल हुन सकेन,” एनपीएलबारे क्यान अध्यक्ष चन्दले भने, “कोभिड–१९ नभइदिएको भए हामी पहिले नै एनपीएल गरिसकेका हुन्थ्यौँ ।”

अध्यक्षले भनेजस्तै कोभिड–१९ ले नेपाली खेलकुदमा प्रभाव नपारेको होइन । ठूलै असर गर्‍यो । क्रिकेट ‘मास गेम’ पनि हो । त्यसैले क्रिकेटमा असर नपर्ने कुरै भएन । तर, मैदानमा खेल सम्भव नभए पनि कागजी प्रकिया अघि बढाउन क्यानलाई कोभिड–१९ ले बाटो छेकेको थिएन ।

क्रिकेटको विकास गर्ने भनी बागडोर सम्हालेर बसेको क्यानले गर्ने भनेको एनपीएल हुने÷नहुने अनिश्चित छ । अध्यक्ष चन्दका अनुसार एनपीएलको फाइल युवा तथा खेलकुद मन्त्रालयमा अड्किएको छ ।

एनपीएलको टुंगो नहुँदा निजी पहलमा हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) भने अहिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको छ । विश्व क्रिकेटकै ठूलो नाम शाहिद अफ्रिदीजस्ता खेलाडीको आगमनले क्रिकेटप्रेमी उत्साहित छन् । नेपाली खेलाडीले उनीहरूसँग ‘ड्रेसिङ रुम सेयर’ गर्न पाएका छन् । त्यस्तै, पोखरा प्रिमियर लिग (पीपीएल) पनि आयोजनाको तयारी थालिएको छ ।

क्यानले यसबीचमा एनपीएलका लागि पहल नै नगरेको पनि होइन । तर, एनपीएल आयोजनाको व्यवस्थापन गर्ने जिम्मेवारी लिन क्यान तयार भएन । अथवा, क्यानले प्रतियोगिता आफैँ गर्न सकिन्छ भनेर आँट गर्न सकेन ।

संस्थालाई राम्रो आम्दानी तथा क्रिकेट विकासका लागि मुख्य स्रोत हुन सक्ने भनिएको एनपीएल आयोजनाको अधिकार क्यानले एउटा भारतीय कम्पनी सेभेन स्पोर्ट्स थ्री प्राइभेट लिमिटेडलाई १० वर्ष बेच्ने निर्णय गर्‍यो । यसै विषयमा क्यान पदाधिकारीबीच मतभेद बढ्यो । मदभेदबीच क्यानले विदेशी कम्पनीलाई आयोजना अधिकार दिने विषय साधारणसभामा लग्यो ।

साधारणसभामा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाल, वाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्नेतलगायतले नेतृत्वको प्रस्तावमा विरोध गरे । उनीहरूको तर्क थियो, “क्यानले आफ्नो मूल्य चिन्न सकेन । सस्तो मूल्यमा लामो समयका लागि प्रतियोगिताको अधिकार बेच्दा दीर्घकालीन रूपमा क्यानको हितविपरीत हुनेछ । त्यसैले एनपीएल क्यानले नै गर्नुपर्छ । हचुवाको भरमा बिनाअध्ययन एउटा कम्पनीलाई दिने काम भयो, जुन गलत छ ।”

क्यान अध्यक्ष चन्द भने साधारणसभाबाट एनपीएलको मुद्दा टुंगो लागिसकेको र अहिले मन्त्रालयबाट स्वीकृति लिने प्रक्रियामा अड्किएको बताउँछन् ।

“हामीले एनपीएल गर्ने भनेर क्यानको साधारणसभाबाट पारित गरिसकेका छौँ । विदेशी कम्पनीसँगको सहकार्यमा गर्ने भनेर हामीले सबै कुरा अघि बढाइसकेका छौँ । तर, नयाँ खेलकुद ऐनअनुसार विदेशी कम्पनीसँग मिलेर गर्दा राखेपको अनुरोधमा मन्त्रालयबाट स्वीकृति लिनुपर्छ भन्ने छ,” अहिले नेपाली कांग्रेसको महाधिवेशनमा व्यस्त चन्दले भने, “हामी अहिले त्यही मन्त्रालयबाट स्वीकृति लिने प्रक्रियामा छौँ । मन्त्रालयबाट स्वीकृत हुनेबित्तिकै हामी एक्सनमा जान्छौँ ।”

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro