site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अफ्रिदीविरुद्ध कुशलको रणनीति

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) को नयाँ संस्करण शनिबारबाट सुरु हुदैछ । प्रतियोगिता सुरु हुनु दुई दिनअघि ललितपुर प्याट्रियट्सका कप्तान ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने घोषणा गरे । त्यही ललितपुरले प्रतियोगिताको पहिलो खेलमै काठमाडौं किङ्स–११ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । 

ललितपुर प्रतियोगिताको साविक विजेता टोली हो । उपाधि रक्षा गर्ने अभियानमा रहेको ललितपुरलाई कप्तान ज्ञानेन्द्रले सुरुमै झट्का दिएका छन् । व्यक्तिगत कारण देखाउँदै प्रतियोगिता नेखेल्ने निर्णय गरेर । तर, ज्ञानेन्द्रले छाडेपछि कप्तानीको जिम्मेवारी पाएका कुशल भुर्तेलले टोलीमा केही असर नपर्ने विश्वास व्यक्त गरेका छन् । 

“क्रिकेट टिम गेम हो । यसमा एक व्यक्तिको प्रदर्शन भन्दापनि पूरै टिमको प्रदर्शनले नतिजा निस्कने गर्छ । त्यसकारण उहाँको अनुपस्थितिले हाम्रो प्रदर्शन पर्दैन भन्ने विश्वास लिएका छौँ । सबै खेलाडीको मिहेनत चाहिन्छ । टिम गेम खेल्यो भने नतिजा पनि राम्रो आउँछ । हामी सोही मनोभावले अघि बढिरहेका छौँ,” पछिल्लो समय ओपनिङमा उत्कृष्ट प्रदर्शन गरेका कुशलले भने । 

उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजेबाट सुरु हुँदैछ । ईपीएलमा कुशलले कप्तानी गर्न लागेको यो पहिलोपटक हो । राष्ट्रिय टोलीमा आफूलाई स्थापित गरिसकेका कुशलले कप्तानको नयाँ जिम्मेवारीलाई अवसरको रूपमा लिएको बताए ।

“पहिलोपटक कप्तानी गर्दैछु । मेरा लागि यो अवसर र चुनौती दुवै हो,” जिम्मेवारी नयाँ भएपनि आफ्नो व्यक्तिगत प्रदर्शनमा कुनै असर नपर्ने भन्दै कुशलले थपे, “व्यक्तिगत प्रदर्शनमा कुनै असर पर्दैन । अझै उत्कृष्ट प्रदर्शन गर्ने जोस आउँछ ।” 

कुशल टिमको तयारी राम्रो भएकाले नतिजा पनि राम्रो आउनेमा विश्वस्त छन् । काठमाडौंविरुद्धको खेलबारे कुशल थप्छन्, “उनीहरूको पक्कै बलियो टिम हो । हामीले पनि सोहीअनुसारको तयारी गरेका छौँ । विदेशी खेलाडीले टिम थप बलियो बनेको छ ।”

ललितपुरले विदेशी खेलाडीमा अजमातुल्लाह ओमरजाई, ओसाडा फार्नान्डो, साहनडुन वेराकेडी र मिक्यो दोर्जीलाई टिममा अनुबन्ध गरेको छ । 

ललितपुर र काठमाडौं यसअघि ईपीएलमा तीनपटक आमनेसामने भएका छन् । त्यसमा ललितपुर हाबी छ । ललितपुरले तीनवटै खेलमा जित निकालेको छ ।

२०१८ को सिजन भएको समूह चरणको पहिलो खेलमा काठमाडौंमाथि ललितपुरले १० विकेटको जित निकालेको थियो । त्यसपछि पहिलो क्वालिफायर्समा काठमाडौंमाथि ललितपुरले १ विकेटको जित हात पारेको थियो । त्यस्तै २०१७ मा ललितपुरले काठमाडौंलाई ७ विकेटले हराएको थियो । साविकको विजेता ललितपुरले गत सिजनको फाइनल खेलमा भैरहवा ग्लाडियटर्समाथि १४ रनको जित निकालेको थियो । 

काठमाडौं पाकिस्तानका अलराउन्डर सहिद अफ्रिदीको आगमनले उत्साहित छ । काठमाडौंका कप्तान सन्दीप लामिछानेले पनि अफ्रिदीको आगमनले टिम बलियो बनेको बताएका छन् । सन्दीपले अघिल्लो सिजनमा भएको प्रदर्शनलाई सुधार गर्ने लक्ष्यसहित अघि बढेको बताए । 

“काठमाडौंको पहिले पनि टिम बलियो थियो । त्यसमाथि विश्व स्तरमा नाम चलेका खेलाडीहरूको आगमनले हाम्रो टिमको हौसला धेरै बढेको छ । उनीहरूबाट नयाँ युवा पुस्ताले धेरै कुरा सिक्न पाउनेछन् । साथै नेपाली क्रिकेटको विकासमा पनि केही सहयोग पक्कै पुग्नेछ,” काठमाडौंका कप्तान सन्दीपले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  २०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro