site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटन क्षेत्र अब ‘बुम’ हुन्छ !

काठमाडौं । सरकारले व्यवसायीहरुको माग अनुसार नै विदेशी पर्यटकलाई नेपाल आउन सहज बनाइदिएको छ । कोभिड–१९ विरुद्धको दुई डोज खोप लगाएका पर्यटकलाई नेपाल आउने प्रक्रियालाई सरकारले सरल बनाएको हो । दुई डोज खोप लगाएका पर्यटक अब होटेल क्वारिन्टिनमा बस्न पर्दैन । यसैगरी सरकारले अनअराइभल भिसा पनि खुला गरेको छ । यसका लागि पनि पर्यटन व्यवसायीहरुले माग गर्दै आइरहेका थिए ।

व्यवसायीहरुले माग गरे अनुसार नै सरकारले बाह्य पर्यटकका लागि प्रक्रिया सहज बनाइदियो । अब नेपालको पर्यटन क्षेत्र के हुन्छ ? व्यवसायीहरु सरकारको पछिल्लो सरल नीतिका कारण नेपालको पर्यटन क्षेत्र ‘बुम’ हुने दाबी गर्छन् । “सरकारले हाम्रो कुरा सुनेको छ । अब पर्यटन क्षेत्र चलायमान हुन्छ, यो क्षेत्रमा ‘बुम’ आउँछ” नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) अध्यक्ष अच्यूत गुरागाईले दाबी गरे ।

कोरोना विरुद्धको दुई डोज खोप लगाएका पर्यटक क्वारिन्टिनमा बस्न नपर्ने र अनअराइभल भिसा पुनः सुरु गरिएपछि व्यवसायीहरुले राहत महसुस गरेको उनले बताए । “यसका लागि सरकारलाई धन्यवाद छ । अब नेपालको पर्यटन क्षेत्र चलायमान हुन्छ,” गुरागाईले भने ।

सरकारले १२ वटा मुलुकबाहेक सबै देशका पर्यटकका लागि सहज वातावरण बनाइदिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी बताउँछन् । “पर्यटक ल्याउन अब व्यवसायीहरु तात्तिनुपर्यो,” उनले भने, “सरकारले सबै गरिदियो ।”

सरकारको पछिल्लो नीतिका कारण अब नेपाल आउन चाहने पर्यटकहरुले दुःख नपाउने उनले बताए । “यसले अन्तर्राष्ट्रिय पर्यटकहरुलाई सकारात्मक सन्देश दिएको छ । पर्यटन क्षेत्र चलायमान हुन्छ,” उनले भने, “व्यवसायीहरुले माग गरे अनुसार नै सरकारले यस्तो व्यवस्था गरिदिएको छ । अब काम व्यवसायीहरुले काम गर्नुपर्छ ।”  

सरकारको पछिल्लो नीतिका कारण विशेषगरी भारतीय पर्यटकलाई सहज हुनेछ । भारतीयसहित यूरोपका पर्यटकका लागि पनि नेपाल खुला भएको रेग्मीले बताए । चीन अझै खुला नभइसकेकाले व्यवसायीहरुले भारतीय पर्यटकलाई लक्षित गरी प्याकेज ल्याउने तयारी गरिरहेको व्यवसायी बताउँछन् ।

चीन सरकारले आफ्ना नागरिकलाई अन्यत्र जान रोकेको छ । त्यसैले चिनिया पर्यटकलाई भित्र्याउन सरकारबाट पहल हुनुपर्ने रेग्मी बताउँछन् । “चीन खुला भइसकेको छैन । भारतबाट आउने पर्यटकलाई खुला भयो । यूरोपका पर्यटकका लागि पनि खुला भएको छ । यूकेबाट अहिले नै पर्यटक नआउलान तर अन्य युरोपियन मुलुकबाट पनि पर्यटक आउन सक्छन्,” उनले भने ।

नाट्टा अध्यक्ष गुरागाई भारतसहित श्रीलंका, बंगलादेश र पाकिस्तानका पर्यटकलाई आकर्षित गर्नुपर्ने बताउँछन् । जनवरीपछि चिनिया पर्यटकलाई पनि देश बाहिर घुम्न जान खुला हुनसक्ने उनको विश्वास छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) अध्यक्ष खुमबहादुर सुवेदी पनि अब पर्यटन क्षेत्र चलायमान हुने बताउँछन् । “सरकारको निर्णयले विदेशी पर्यटकलाई नेपाल आउन सहज भएको छ । सरकारले व्यवसायीहरुको कुरा सुनिदिएको छ,” उनले भने ।

पर्यटकले पालना गर्नुपर्ने नियम

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्को स्वीकृतीपछि विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको ‘यात्रा व्यवस्थापन सम्बन्धी आदेश, २०७८’ जारी गरेको छ ।

नेपाल आउने विदेशी नगारिकले पूरा गर्नुपर्ने सर्तहरूमा कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन भएको प्रमाण, हवाई उडानका लागि चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सो सम्बन्धी अनुमतिको प्रतिलिपि, नेपालमा होटेल बुक गरेको प्रमाण र सीसीएमसीको अनलाइनबाट भरेको फारमको प्रिन्ट प्रति पनि हुनुपर्ने छ ।

कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप लगाएका विदेशी नागरिकले सम्बन्धित मुलुकका लागि तोकिएको नेपाली नियोगबाट भिसा लिएर नेपाल आउन चाहने कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले सम्बन्धित नेपाली नियोगमा भिसाका लागि आवेदन गर्दा भिसाका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेको हुनुपर्ने छ । 

नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकले नेपालस्थित अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्ने छ । त्यस्तो परीक्षणबाट पोजेटिभ देखिएमा अनिर्वाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा पठाउनुपर्ने व्यवस्था पनि आदेशमार्फत गरिएको छ ।

स्थलमार्गबाट नेपाल प्रवेश गर्नेहरूले नेपाल प्रवेश गर्नुभन्दा ७२ घण्टाभित्रको कोभिड–१९ को परीक्षण रिपोर्ट नेगेटिभ भएको विदेशबाट नेपाल आउने व्यक्ति गर्नुपर्ने फारम सीसीएमसीको वेबसाइटबाट भर्नुपर्ने र त्यसको प्रिन्टप्रति साथमा रहेको भारतीय नागरिकले नेपाल भारत सीमाको स्थलमार्गबाट नेपाल प्रवेश अनुमति दिइनेछ ।

स्थलमार्गबाट नेपाल प्रवेश गर्ने भारतबाहेक अन्य मुलुकका नागरिकको हकमा कोडिभ–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको, नेपाल प्रवेश गर्नुभन्दा ७२ घण्टाभित्र कोभिड–१९ को परीक्षण रिपोर्ट नेगेटिभ भएको, नेपाल आउँदा पूरा गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेको र अध्यागमन बिन्दुमा एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा स्थलमार्गबाट नेपाल प्रवेशको अनुमति दिइने आदेशमा भनिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro