बष्टन (अमेरिका) । हामीमध्ये कति मानिस अरुको दुःख कम गर्न नसकेकोमा आत्मग्लानि गर्छौँ होला । अथवा हामीमध्ये कति मानिस अरुलाई दुःखबाट मुक्ती दिलाउनुलाई आफ्नो आत्मसन्तुष्टिको विषय ठान्छौं । न्यूयोर्कस्थित संयूक्त राष्ट्रसंघको भवनमा विश्वशान्ति र जलवायू परिवर्तनको विषयमा प्रदर्शन गर्ने उद्देश्यले बष्टन आइपुगेका डा. गोविन्द केसीसँगको कुराकानीले धेरै कुराहरु छर्लङ्ग भए । डा. केसी भन्दै थिए– आत्मग्लानिबाट बच्न म यो सबै गरिरहेको छु ।
आत्मग्लानिबाट बच्न ? आखिर के कुराको ? डा. केसीले प्रतिप्रश्न गरे– आत्मग्लानि नभएको भए आफ्नै पैसा खर्च गरेर म किन देश विदेश पुग्थेँ मानिसहरुको सेवा गर्न । मलाई ‘पेन’ हुन्छ, मेरो मन दुख्छ । म यस्ता उत्तरहरु विरलै सुन्ने गर्छु । यस्ता उत्तरहरु या त पौराणिक ग्रन्थहरुमा या त बुद्धपुरुषहरुबारे लेखिएका पुस्तकहरुमा मात्र पढ्ने गरेको थिएँ ।
उनको त्यो आवाजमा पीडा र दर्द पनि थियो । डा. केसीको मन्द आवाज तर कठोर दृढता सुनेपछि उनले भनेको त्यो आत्मग्लानि तत्वलाई पनि मैले तत्क्षण विश्वास गरें । किनभने नेपालको शिक्षा र स्वास्थको क्षेत्रमा विभिन्न सुधारका मागहरु राखेर विभिन्न सरकारहरुलाई सम्झौता गर्न बाध्य बनाएको एउटा सपाट पृष्ठभूमि छ उनको । डा. केसीको यो चिन्ताले मानवीय करुणालाई कुनै भौगोलिक सीमारेखाले विभक्त गर्न सक्दैन भन्ने कुरालाई प्रमाणित गर्छ ।
डा. गोविन्द केसीको नाम गत एक दशकका धेरै अवधिमा शिक्षा र स्वास्थ क्षेत्रको सुधारका लागि आमरण अनसन बसेको विषयमा धेरै पटक सुनिएको थियो विभिन्न समयमा गैर जिम्मेवार सरकारलाई खबरदारी गर्दै गर्दा ।
स्वास्थ सेवा पहुँचबाट बञ्चित नेपाली गरिब जनताको हितमा मागहरु राखेर सत्याग्रह गर्ने डा. केसी यसपटक दक्षिणी सुडान, यमन, सोमालिया आदि देशका पीडित जनताको पक्षमा न्यूयोर्कमा प्रदर्शन गर्दैछन् । प्रायः मानिसहरु आफ्नो देशको सीमाभन्दा बाहिरका मानिसको दुःख अनुभूत गर्ने सामथ्र्य राख्दैनन् । यदि अरुको दुःखले उनीहरुलाई छोयो नै भने पनि केही गर्नका लागि कार्यरुपमा उत्रिन अधिकांशलाई गाह्रो पर्छ । चरम गरिबी र द्वन्द्वमा पिल्सिएका ति देशका मानिसहरुको लागि केही गर्न सकिएन भन्दै छटपटाउने डा. केसी विगतमा धेरैपटक उपचार गर्न ति देश चुपचाप गइरहे ।
सन् २००९ ताका मात्र हो डा. केसीको परोपकारी कर्मको मिडिया कभरेज भएको । नत्र त्यसअघि डा. केसीबारे मिडियाजगत् पनि बेखबर थियो ।
न्यूयोर्कमा प्रदर्शनको लागि अमेरिका आउनुअघि डा. केसीले स्वास्थ र शिक्षा क्षेत्रमा नेपालमा केही गडबड भइहाल्ला कि भनेर दुइपटक प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर खबरदारी गरेर आएका रहेछन् ।
शिक्षा र स्वास्थ क्षेत्रमा विचौलिया र माफियाहरुले घृणित स्वार्थका लागि व्यापारीकरण गर्लान् भनेर उनी चिन्तित छन् अझै ।
उनीसँग सरकारले गरेको सुधारको सम्झौता पालना होला भन्नेमा उनी ढुक्क छैनन् । “अमेरिकाबाट फर्केपछि तुरुन्तै म फेरि खबरदारी गर्नेछु,” बष्टनमा कुराकानीका क्रममा डा. केसीले भने ।
न्यूयोर्कस्थित यूएन मुख्यालय अगाडिको एउटा छेउमा बसेर शान्तिपूर्ण प्रदर्शन गर्ने योजना रहेको सोलिडारिटी फर डाक्टर केसी अभियानका एक सदस्य लेखक शिवप्रकाशले बताए । शिवप्रकाशका अनुसार यो प्रदर्शनमार्फत संयूक्त राष्ट्रसंंघका सदस्य राष्ट्रहरुका डेलिगेट्सहरुको ध्यानाकर्षण गराइने कार्यक्रम छ । सेप्टेम्बर २० र २१ का दिन यूएनको भवन अगाडि अपराह्न १ बजेदेखि ४ बजेसम्म शान्तिपूर्ण प्रदर्शन गरिने छ । “सेप्टेम्बर २१ मा विश्व शान्ति दिवस पनि पर्ने रहेछ,” शिवप्रकाशले थपे, “यसर्थ पनि उक्त दिन यो प्रदर्शनको सान्दर्भिकता हुन्छ ।”
न्यूयोर्क र आसपासका राज्यहरुबाट डा. केसीप्रतिको अभियानमा समर्थन जनाउने नेपालीहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
प्रदर्शनका क्रममा यमन, सोमालिया, दक्षिणी सुडान, इथियोपिया, सिरिया, र मध्य अफ्रिकी गणतन्त्र, अफगानिस्तानलगायत युद्धग्रस्त देशमा शान्ति स्थापना गर्न सबै देशले भूमिका खेल्नुपर्ने तथा ती देशका शरणार्थीलाई न्यायिक र मानवीय सहायता गर्नुपर्ने मागहरु राखिने छन् । त्यस्तै जलवायु कार्य र जलवायु न्याय र कोभिड खोपसहित सबैका लागि शिक्षा र स्वास्थ जस्ता माग लेखिएका प्लेकार्ड पनि उक्त प्रदर्शनीको क्रममा राखिनेछन् ।
डा. केसी सरल मानिस छन् । उनको सरलताले सम्झौता कानून वा आधारभूत अधिकारका कुराहरु पालना भएका छैनन् भने किन भएका छैनन् भनेर सहज प्रश्न गर्न सक्छन् ।
उनले प्रश्न गर्ने क्षमता गुमाएका छैनन् । कर्म र करुणाको अभ्यासले उनको व्यक्तित्वमा निष्ठाको एउटा बेजोड सगरमाथा छ ।
डा. केसी र आम मानिसमा यदि एउटै कुराको फरक छ भने यो त्यही फरक हो । केसी उत्तर खोज्छन् र उत्तरको पालनका लागि जिम्मेवार पक्षबाट पालनाको संकल्प गराउँछन् । अनि पालना भएन भने फलोअप गरिरहन्छन् ।
“यस्तो प्रदर्शन पहिलो पनि होइन र अन्तिम पनि होइन फलोअप गरिरहनुपर्छ,” डा. केसीले भने ।
सबैका लागि शिक्षा र स्वास्थ भन्ने नारा संयूक्त राष्ट्रसंघको हो । शिक्षा र स्वास्थ विश्व नागरिकका आधारभूत अधिकार हुन् । यी आधारभूत अधिकारबाट विश्वका धेरै मानिस वञ्चित छन् ।
ति मानिसलाई आधारभूत अधिकारबाट वञ्चित नगराइयोस् भन्ने डा. केसीको माग हो संयूक्त राष्ट्रसँघसँग ।
“राष्ट्रसंघले त्यस्तो नारा लिएको ५० वर्ष भन्दा बढी भए पनि खासै सुधार भएको छैन,” डा केसीले भने ।
विकसित र शक्तिशाली देशले युद्धग्रस्त मुलुकका समस्या समाधान गर्न चासो नदिएको प्रति डा. केसी खिन्न छन् ।
के डाक्टर केसीको ग्लानिको यो अमेरिका यात्राले सन्तुष्टिको गन्तव्य भेटाउला ? यो प्रसंगमा बुद्धको कुरा झिक्नु अप्रासंगिक नहोला । २५ सय वर्ष अगाडि युवराज सिद्धार्थ पनि अरुको दुःखबाट दुःखी थिए, दुःखको समाधानको लागि उनले तय गरेको यात्राले उनलाई बुद्धत्वको गन्तव्य दिएको थियो ।
यहाँ बुद्धलाई डा. केसीसँग तुलना गर्न खोजिएको होइन । केवल आफ्नो स्वार्थभन्दा माथि उठेर परमार्थका लागि अहोरात्र खटिने स्वभाव मात्र जोड्न खोजिएको हो ।
बुद्ध पनि अरुको दुःखबाट दुखी थिए, दुःखको समाधानको लागि उनको यात्राले उनलाई बुद्धत्वको गन्तव्य दिएको थियो ।
अरुको पीडा देखेर आफैं छट्पटाउने डा. केसीलाई के त्यो पीडाले परमसुखसम्म लैजाला ?
आत्मग्लानीको त्यो शङ्खला डा. केसीमा मात्र सीमित छैन । उनको अभियानलाई हरतरहले सघाउ पुर्याउने शिवप्रकाशको पनि अर्को छुट्टै पीडा रहेछ । उनी अमेरिकाबाट केही महिना लामो नेपाल बसाइका लागि जीवनसाथी ज्योत्सनासहित गएका थिए ।
डा. केसीको यो यूएन अभियानलाई सघाउ पुर्याउन अमेरिका सँगै आइएन भने पछि आत्मग्लानि हुन्छ भनेर उनी पनि नेपाल गएको तीन सातामै फेरि डा. केसीसँगै अमेरिका आइपुगे ।
“अमेरिकामै बसोबास गर्ने मान्छे अनि डा. केसीको अभियानमा जोडिएको मान्छे साथ दिइएन भने नमज्जा होला भनेरै म आएको हुँ,” शिवप्रकाशले भने, “मेरी बयोबृद्ध आमासँग यता आउन बिदा हुँदा अहिले गएन भने मलाई पछि आत्मग्लानि हुन्छ आमा भनेर आएँ ।”