काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क्रिप्टोकरेन्सी’को कारोबार, प्रयोग र ‘माइनिङ’ गैरकानुनी भएको जनाएको छ ।
केन्द्रीय बैंकले बिहीबार एक सूचना जारी गर्दै ‘क्रिप्टोकरेन्सी’को कारोबार, प्रयोग र ‘माइनिङ’ गर्न प्रोत्साहन गर्ने/गराउने कार्य भइरहेको भन्दै त्यस्तो कार्यमा संलग्नलाई कारबाही हुने चतावनी दिएको छ ।
“हालका दिनमा ‘क्रिप्टोकरेन्सी’ कारोबार, प्रयोग र ‘माइनिङ’ जस्ता कार्यक्रमा संलग्न हुन प्रोत्साहन गर्ने/गराउने गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारण ठगिएको/ठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरे वा गरेको पाइएमा प्रचलित कानुमबमोजिम सजाय हुनेछ,” राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।
पछिल्लो समयमा सामाजिक सञ्जालमा लगानी गर्ने अवसर भन्दै छोटो समयमै राम्रो प्रतिफल दिने उल्लेख गरिएको पोस्टहरू देखिएको र त्यसमा लगानी गर्न हुने/नहुने भन्दै राष्ट्र बैंकमा सोधपुछ बढेकोले राष्ट्र बैंकले उक्त सूचना जारी गरेको बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।
यद्यपि, अहिलेसम्म कोही नागरिकले पनि ठगीमा परेको भनेर गुनासो भने नगरेको उनले स्पष्ट पारे । तर, लगानी गर्न हुन्छ कि हुँदैन भनेर सोधपुछ भने भइरहको उनले बताए । नेपालमा क्रिप्टोकरेन्सीमा लगानी गर्नु गैरकानुनी भएको उनले बताए ।