त्रिचन्द्र कलेजको दुरवस्थाले नेपालका शासकहरूको मात्र हाेइन नागरिकको पनि बुद्धि टाट पल्टेको पोल खुल्छ । सहरको मुटुमा उभिएको बेहाल त्रिचन्द्रले सिंगो देशलाई नै धिक्कारेजस्तो भान हुन्छ ।
त्यसो त त्रिचन्द्र कलेजको पुनःनिर्माण धेरै पहिले नै हुनुपर्थ्यो । कम्तीमा पनि भूकम्पपछि त यसको पुनःनिर्माणले प्राथमिकता पाउनै पर्थ्यो । विडम्बना, त्रिचन्द्र सधैँ उपेक्षित भयो ।
हालै केही युवाले त्रिचन्द्र कलेजको पुनःनिर्माणको माग गरेर प्रदर्शन गरेपछि यसप्रति नेपाली समाजको ध्यानाकर्षण भएको छ । परन्तु, सरकारको भने अझै पनि आँखा खुलेजस्तो देखिएन ।
आजभन्दा एक शताब्दी पहिले खोलिएको त्रिचन्द्र कलेज नेपालमा उच्च शिक्षाको पहिले प्रतिष्ठान हो । यसैले त्रिचन्द्रको आरम्भलाई नेपाली समाजमा आधुनिक चेतनाकाे उद्घोष विन्दु मानिन्छ ।
सांस्कृतिक चेतना भएको समाज हुँदो हो त ‘सरस्वती सदन’ शैक्षिक तीर्थस्थल हुन्थ्यो । यसका विशेषताको संरक्षण सांस्कृतिक स्मारकका रूपमा गरिन्थ्यो । ‘संस्कारहीन’ शासन र समाजमा हुने सायद यस्तै हो ।
कमिसनकाे लोभमा ‘झिल्के’ विकास गर्नेहरूले सके त्रिचन्द्र र घन्टाघर दुवैलाई ‘कविकुञ्ज’ बनाउने थिए होलान् । त्रिचन्द्रमा त विद्यार्थी छन् । तिनले कमिसनकाे खेल रोकिदिन सक्छन् । यसैले पुनःनिर्माणकै लागि खडा गरिएको अड्डाले ७ वर्षसम्म पनि त्रिचन्द्र नदेखेको हुनुपर्छ ।
रानीपोखरीलाई ‘स्विमिङपुल’ बनाउन तम्सनेहरू धरहरा ढाँचाको ‘झिल्के विकास’प्रति मात्र आकर्षित हुन्छन् । तिनका लागि त्रिचन्द्र कलेज वा कविकुञ्ज चलनचल्तीको कुनै घरमात्रै हुन् ।
परन्तु, सांस्कृतिक चेत भएकाहरूका लागि त्रिचन्द्र कलेज पनि कविकुञ्जजस्तै सांकृतिक धराेहर हुन् । यसैले कम्तीमा त्रिचन्द्र कलेजका पूर्वविद्यार्थी र शिक्षकहरूले मात्रै भए पनि यसकाे पुनःनिर्माणकाे अभियान थाल्नुपर्छ ।
सरकारले घन्टाघरसहित त्रिचन्द्र कलेजकाे सबै भौतिक संरचना जोगिने गरी पुनःनिर्माण र संरक्षणको कार्य थालेका त्रिचन्द्र परिवारले निगरानी गरोस् । सरकार अगाडि नसरे त्रिचन्द्र जोगाउने अभियान जनस्तरबाटै सञ्चालन गरियोस् ।
नेपालकाे इतिहासमा त्रिचन्द्र कलेजको स्थान र योगदानका बारेमा थाहा पाउनेहरूले अहिलेको अवस्था देख्दा पक्कै धिक्कार्नेछन् । सन्तानले नधिक्कारून् भन्ने चाहने हो भने तत्काल प्रधानमन्त्री शेरबहादुर देउवाले नै हस्तक्षेप गरेर त्रिचन्द्र कलेज जोगाउनुपर्छ । त्रिचन्द्र कलेजप्रति त कृतज्ञ होऊ !