निर्वाचनमा पराजय भएको कारणमा नेपाली कांग्रेसले आत्मवञ्चना गरेको छ । गत साता तीन दिनसम्म बसेको नेपाली कांग्रेसको बैठकले गरेको १२ बुँदे निर्णयको सबैभन्दा प्रमुख पक्ष आफैँले आफ्नो कमजोरीको आकलन गर्नु नै हो । पार्टीको केन्द्रीय कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कांग्रेस पहिलो र दोस्रो चरणको निर्वाचनमा दोस्रो दलको रूपमा खुच्चिएको परिणामलाई अनपेक्षित भनिएको छ । यसका लागि निर्वाचनमा उमेदवारी चयनमा ढिलाइ, आन्तरिक द्वन्द्व र असन्तुष्टि व्यवस्थापन गर्न समयको अभाव तथा पार्टीका साथीको अन्तर्घातलाई प्रमुख कारण मानिएको छ । तर, नेपाली कांग्रेसले कहीं पनि जनता आफ्नो पक्षमा नआएको कारणले निर्वाचनमा पराजित भएको भनेर देख्न सकेको छैन । यस पक्षमा अझै पनि ध्यान पुर्याउन सकेन भने आगामी निर्वाचनमा दोस्रोमात्र होइन निकै टाढाको दोस्रो हुनुपर्ने अवस्थामा नेपाली कांग्रेस पुग्न सक्छ ।
नेपालीमा एउटा उखान छ, “कासी जाने कुतीको बाटो” । अर्थात् पुग्नुपर्ने गन्तव्यभन्दा उल्टोतिर हिंडेर कहिल्यै गन्तव्यमा पुग्न सकिँदैन । अहिलेको नेपाली कांग्रेसको समस्या नै जनताको विश्वास गुमाउनुको कारणले आएको हो । अन्तर्घात भएको कारण नेपाली कांग्रेस दोस्रो हुने भइदिएको भए, सायद २०४८ सालको चुनाव देखि नै कहिल्यै पहिलो हुँदैन थियो होला । कृष्णप्रसाद भट्टराईका विरुद्ध अन्तर्घात गर्ने कांग्रेसीले अहिलेसम्म कसैलाई छाडे होलान् ? तर पनि अधिकांश निर्वाचनमा नेपाली कांग्रेस नै पहिलो दल भएको कारण अन्तर्घात नभएर होइन जनताले विश्वास गरेर हो । अहिलेको निर्वाचनमा जनताले नेपाली कांग्रेसलाई अब अविश्वास गर्ने बेला भयो है भनेर चेतावनीमात्र दिएका हुन् । तर, यो मुख्य कुरालाई पन्छाएर अन्य कुरामा ध्यान दियोभने चाहिँ “सबथोक छाडी पुच्छरमा हात” भनेजस्तो हुनेछ ।
काठमाडौंकै कुरा गरौँ । के काठमाडौंको निर्वाचनमा गलत उमेदवार दिएको कारण नेपाली कांग्रेस पराजित भएको हो ? सही उमेदवार भनेको कस्तो र गलत उमेदवार भनेको को ? के नेकपा (एमाले)बाट विजयी मेयर विद्यासुन्दर शाक्य सही उमेदवार भएका कारणले निर्वाचनमा विजयी भएका हुन् ? उमेदवारमात्र सही भएको कारणले विजयी हुने भए पहिले एउटा वडामा मात्र विजयी नेपाली कांग्रेसकै हरिप्रभा खड्गी श्रेष्ठ त्यति चिनिएकी र एकदमै परिचित उमेदवार थिइन् त ? त्यसको मतलब नेपाली कांग्रेसभित्र अन्तर्घात भएको हो त ?
अन्तर्घात गरेका हुन्, मेयरका उमेदवार राजुराज जोशीलाई पनि र सम्पूर्ण दुई चरणको निर्वाचनमा नेपाली कांग्रेसलाई पनि । तर, त्यो अन्तर्घात पार्टी भित्रका व्यक्तिले मात्र गरेर सफल भएको होइन, जनताले ‘अन्तर्घात’ गरेका हुन् । जनताले किन अन्तर्घात गरे भनेर मनन गर्न छाडेर आफ्ना पार्टीका कार्यकर्ता माथि कारवाही अघि बढाउँछु भन्नु नितान्त गलत सोच हो । जनताले अन्तर्घात गरेको बेला पार्टीभित्रको स्थायी अन्तर्घाती खेल अलि सशक्त देखिएको मात्र हो । तर, आन्तरिक अन्तर्घात नै मुख्य कुरो भने होइन । नेतृत्वले आन्तरिक अन्तर्घातको आडमा लुकेर मुख्य समस्याबाट भाग्न मिल्दैन ।
विसं २००७ सालको जनक्रान्तिदेखि पत्याईंदै आएको नेपाली कांग्रेसलाई जनताले बारम्बार किन अन्तर्घात गर्छन् त ? किनभने, शक्तिमा पुगेपछि नेपाली कांग्रेसले जनता बिर्सन्छ र आफ्ना कार्यकर्तामात्र देख्छ । जनताले अब कांग्रेस भोको भयो यसलाई खाने मौका दिनुपर्यो भनेर मतदान गर्ने होइनन् । जनताले त न्यायपूर्ण, लोकतान्त्रिक, विधिको शासन आउला भनेर मतदान गर्छन् ।
यसरी दलको व्यवहार र विचार हेरेर मतदान गर्ने जनता धेरै भने हुँदैनन्, थोरै हुन्छन् । तर, तिनै थोरै जनता नै नेपाली कांग्रेसलाई बारम्बार दण्डित गर्न काफी हुन्छन् ।
यस्ता मतदातालाई अंग्रेजीमा ‘फेन्स सिटर’ भन्छन् । अर्थात्, त्यस्ता मतदाता जो निर्वाचनको अन्तिम समयसम्म मैदानमा उत्रदैनन् तर अन्तिममा ती व्यक्ति जुन पक्षमा उत्रन्छन् तिनैको विजय हुन्छ । यस्तामध्ये धेरै व्यक्ति देशमा विधिको शासन होस् र जनताको हक र अधिकार रक्षा होस् भन्नेमा सचेत हुने हुनाले यिनले बदलेको चालले राजनीतिक दलको भविष्य निर्धारण गर्छ ।
यसपल्टको निर्वाचनमा नेपाली कांग्रेस विभिन्न विवादमा नमुछिएको भए अहिलेको जस्तो मत परिणाम पक्कै आउँदैन थियो । बदनाम व्यापारीलाई राजदूतमा सिफारिस, प्रहरी प्रमुखको नियुक्तिमा अनुचित चलखेल, उच्च नैतिक आचरणमा बसेकी प्रधान न्यायाधीश सुशीला कार्कीमाथि एक्कासि महाभियोग अनि महाभियोग लाग्नै पर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको विषयमा मौनताजस्ता धेरै कारण छन् जनताले नेपाली कांग्रेससँग रिस फेर्नुका ।
पहिलो चरणको निर्वाचन अधिकांश पहाडी जिल्लामा भयो त्यसैले कांग्रेस दोस्रो भएको भन्ने एउटा तर्क पनि थियो । तर, त्यो तर्क पानीको फोका जस्तै बिलायो जब दोस्रो चरणको निर्वाचन परिणाम आयो । वास्तवमा देशैभर एकै चरणमा निर्वाचन हुन्थ्यो भने नेपाली कांग्रेस यति तल पर्ने थिएन । किनभने नेपाली कांग्रेसले गरेका गलत कामका लागि उसलाई दण्डित गर्ने कि नगर्ने भनेर जनताले एकैपल्ट निर्णय गर्न सक्ने थिएनन् । तर, काठमाडौं, पोखरा तथा अन्य जागरुक क्षेत्रका मतदाताले आफ्नो अभिमत व्यक्त गरेको कारण दोस्रो चरणमा धेरै ‘फेन्स सिटर’ले ‘साइड चेन्ज’ गरे । यो प्रभाव तेस्रो चरणमा कति पर्छ अझै प्रष्ट भएको छैन तर प्रदेशको र संघीय निर्वाचनमा नेपाली कांग्रेसलाई अवश्य नै यसले निकै नराम्रोसँग झट्का दिनसक्छ । दुई नंबर प्रदेशको मत भने यसपटक मधेसी दलको समर्थन वा विरोधमा बाँडिने देखिएकाले कांग्रेसको काम गराइको समर्थन वा विरोधको आंशिक प्रभावमात्र पर्ने देखिन्छ ।
नेपाली कांग्रेसले गरेको सबैभन्दा ठूलो भूल दललाई कार्यकर्तामुखी बनाउन खोज्नु हो । नेपाली कांग्रेसको कार्यकर्ता भएपछि सकभर कुनै पेसा नगर्ने, पेसा गरे पनि काम नगर्ने, र काम गरे पनि आफ्नो औकातभन्दा निकै धेरै पैसा कमाउने जुन गलत परम्परा समाजमा देखिएको छ त्यसले जनतालाई चिढाउनेबाहेक अरू केही गर्दैन । कुनै गलत काम गरेको व्यक्तिलाई नेपाली कांग्रेसले पैसा र प्रभावको भरमा टिकट दिने बित्तिकै जनमानसमा नकारात्मक सन्देश जान्छ ।
माओवादीजस्तो कार्यकर्तामुखी दल समेत तल्लो तेस्रो दलका रूपमा खुम्चिनुको कारण पनि कार्यकर्ताको उदण्डता र भ्रष्टाचार हो । नेपाली कांग्रेसका कार्यकर्ता अलि भद्र, अलि सफा लुगा लगाउने र अलि मिठो बोल्ने हुन् तर काम त राजनीतिक दलालकै गर्छन् । उनले भनेको कुरा नमान्ने, नियममा जान खोज्ने र जबर्जस्ती विरोध गर्नेलाई माओवादीले टाउको फुटाल्ने धम्की देलान्, कांग्रेसले तलाईं पख्लास् भन्ला तर कुरो त एउटै हो । पैसा आउने भए इन्जिनियरलाई अस्पतालमा र डाक्टरलाई सडकमा सरुवा गर्न धाउँछन् नेपाली कांग्रेसका कार्यकर्ता । हरेक हवल्दार र खरिदार पैसा बुझाएर सरुवा हुन्छन् । हरेक सरकारी ठेक्कामा देशलाई लुट्ने ‘मास्टर प्लान’ नै बन्छ । भ्याट छुट दिएर देशलाई निचोर्न पछि पर्दैनन् हाम्रा कर्मचारी । त्यो पैसा कहाँ जान्छ ? पैसा खानेमा राजनीतिक कार्यकर्ता पनि हुन्छन्, चाहे कांग्रेसका हुन्, एमालेका हुन् वा माओवादीका । पैसा कार्यकर्ता कहाँबाट नेताको खल्तीमा पुग्छ । अनि पैसा कमाउने नेता सधैँ सत्तामा ।
यति हुँदाहुँदै पनि किन जित्छ त नेपाली कांग्रेस ? दोस्रो त भएकै छ भन्ने तर्क पनि होला । तर, त्यसको उत्तर सजिलो छ । एमाले पनि गलत काम गर्न नेपाली कांग्रेसभन्दा पछि त छैन । माओवादीको कुरै गर्नु परेन । त्यसैले वैकल्पिक दल नभएको कारणले यिनै दलहरूले सत्तामा मोज गरेका हुन् । जनतालाई आफूले भोट दिएको व्यक्ति जितोस् भन्ने चाहना हुने हुनाले कांग्रेसलाई मत नदिए एमालेलाई दिने हुन् । अनि एमालेबाट वाक्क आएपछि कांग्रृसलाई । अर्थात्, फेरि पनि यिनैले मत पाउने हुनाले यिनलाई परिवर्तन हुनुपर्ने दबाब परेको छैन । काठमाडौंका जनताले विवेकशील र साझाका रञ्जु दर्शना र किशोर थापाललाई अलि राम्रै मत दिए । त्यो मत तिनको घोषणा पत्रलाई मात्र दिइएको होइन नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक दललाई सुध्रनका लागि दिइएको दबाब पनि हो । तर कस्ले सुन्ने त्यस्तो आवाज ?
नेपालमा कम्युनिस्टहरूको बोलाबाला भएका कारणले नेपाली कांग्रेस पनि कार्यकर्तामुखी दल हुँदै जानु एउटा समस्या नै हो । नेपाली कांग्रेसले त लोकतन्त्रवादी, स्वच्छ चरित्रको, क्षमतावान व्यक्ति जो सुकैलाई टिकट दिनुपर्ने हो । तर, उसले आफ्नो दललाई पैसा बुझाउने कुनै एक ठेकेदारलाई टिकट दिने परम्परा बसाउन थालेको छ । अनि त्यस्ता ठेकेदारले पिलाएको पैसाको नसामा बसेर केन्द्रीय समितिको बैठकमा कमजोरी केलाउँछन् ।
पैसा हुने र सिद्धान्त नहुने, जनताका लागि नभई नेताको खल्ती भर्ने काम गर्नेलाई टिकट दिने अनि आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न समय भएन भन्नु पनि हास्यास्पद तर्क हो । कसरी हुन्छ द्वन्द्व व्यवस्थापन ? नेपाली कांग्रेसको टिकट प्राप्त गर्नका लागि गाउँमा नबस्नु बरु सहरका नेताको चाकरी गर्नु, सकभर म्यान पावर, सडक निर्माण, दलाली गरेर अन्धाधुन्ध पैसा कमाउनु अनि टिकट प्राप्त भइहाल्छ भन्ने सन्देश जनतामा गएपछि अलिकति देश बनाऊँ र विधिको शासन होस् भन्ने व्यक्तिले कसरी दिन्छ मत ?
निर्वाचन सकिएपछि जित्नेले पनि पार्टीभित्रका आफ्ना केही साथीविरुद्ध बदला लिन अन्तर्घात भन्ने अनि हरुवाले पनि अरुलाई अघि बढ्न नदिन अन्तर्घात भन्ने, कुरोको चुरोमा भने कहिल्यै नपुग्ने कमजोरीबाट कांग्रेस निस्कन सकेको छैन ।
नेपाली कांग्रेस एउटा सामान्य राजनीतिक दलमात्र नभएर जनताको अधिकार स्थापना गर्न आठ दशक लडेको पार्टी हो । यसलाई जोगाउनु सबै लोकतन्त्रवादीको कर्तव्य र केही अवस्थामा अधिकार पनि हो । तर, अहिलेकै परिपाटीमा जाने हो भने आगामी संघीय निर्वाचनपश्चात नेपाली कांग्रेसको अस्तित्व संकटमा पर्नेमा द्विविधा नलिए हुन्छ ।