असफल भइसकेकाे नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को संयुक्त सरकार फेरि पनि चल्ने लक्षण देखिएन । त्यसमाथि अहिले त उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टी, माधवकुमार नेपाल नेतृत्वको नेकपा (समाजवादी ) पनि थपिएको छ । यसैमा महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी पनि मिसिने जोखिम बलियै छ ।
केही डेढअक्कलीहरू ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)’का कारण प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार सङ्कटमा पर्ने ठान्छन् । त्यो बहाना त राम्रै हुन सक्छ तर खास कारण भने बन्न सक्तैन । किनभने यो सरकार कुनै सैद्धान्तिक आधारमा बनेकाे त होइन । यसैले भत्कनका लागि पनि सिद्धान्त चाहिँदैन । व्यक्तिहरूको स्वार्थ र दम्भकाे टकरावले यस सरकारको जन्म भएको हाे । सम्भवतः अन्त्य हुने कारण पनि त्यही हुनेछ ।
देउवाको काँधमा दाहालको बन्दुक
प्रधानमन्त्री देउवालाई शिखण्डी बनाएर आआफ्ना शत्रुमाथि प्रहार गर्ने अभीष्ट पूरा हुँदासम्म त दाहाल, नेपाल र यादवका लागि सरकार ‘कम्फर्टेबल’ नै हुनेछ । ‘मालदार’ मन्त्रालय चलाएर ‘माल’ हात परुन्जेल सरकारको स्थायित्वको चिन्ता पनि हुनेछ । सबै नराम्रा कामको दोष देउवा र कांग्रेसले बोक्दासम्म पनि सरकार उनीहरूका लागि आफ्नै हुनेछ । तर, सधैँ सबै उस्तै त हुँदैन ।
मालको लोभ
मालको लोभ देउवा र कांग्रेसलाई पनि लाग्ने नै छ । अरूले कमाएको टुलुटुलु हेरेर बस्न मन पक्कै मान्नेछैन । चुनावमा आँखा सबैले लगाएकै हुन्छन् । ज्योतिषले भनेको पुग्न बाँकी नै छ । तर, फलका लागि कर्म त गर्नैपर्छ । चुनावमा कम्तीमा नेकपा (एमाले) भन्दा ठूलो हुनसकेमात्र ज्योतिषीको भविष्यवाणी पुग्ने हो । त्यसका लागि त कांग्रेसले छवि बचाएर पैसा कमाउन पर्ला । कार्यकर्तालाई जनताका सामु अनुहार देखाउन सक्ने बाटो त दिनुपर्ला । त्यस अवस्थामा “बिग्रे दोषादोष सप्रे खोसाखोस” पर्व पक्कै सुरु हुनेछ ।
मतदाताको बानी
अहिले ‘मेनु जति हेरे’ पनि अन्ततः नेपालीले रोज्ने ‘मम र चाउमिन’ नै हो क्या रे ! टुटफुटको धक्का थेगेर बसेको नेकपा (एमाले)का कार्यकर्ता र मतदाताले चुनावमा पक्कै कित्ता फेर्नेछैनन् । कांग्रेसका मतदाता पनि मरेभागेबाहेक खासै घट्ने हैन । सत्तामा बसिरहे माओवादी पनि छटफट नगर्लान् । त्यस अवस्थामा दायाँबायाँ हुने त तिनै ‘समाजवादी’कै कार्यकर्ता र मतदाता हुन् । यसैले चुनाव नजिकिनेबित्तिकै अहिलेका सबै ‘समाजवादी’ पार्टीहरूमा पहिरो जान थाल्नेछ । त्यही पहिरोले देउवा सरकारलाई पनि पुर्न बेर लाग्दैन ।
समाजवादीहरूको धार्नी
माओवादी र नेकपा (समाजवादी)बीचसम्म चुनाबी तालमेल होला । यसैगरी, जनता र लोकतान्त्रिक समाजवादीबीच पनि संसदीय चुनावमा तालमेल हुनसक्छ । तर, नेपाली कांग्रेससँग देशव्यापीरूपमा कुनै पार्टीको पनि चुनावी गठबन्धन हुने देखिँदैन । कांग्रेसभित्रै चर्को प्रतिस्पर्धा नहुने मनाङबाहेक अरू कुनै जिल्ला नहोला ।
(मनाङे भने अर्कै माटाले बनेका रहेछन् कि ? पञ्चायत कालमा गाउँफर्कले अनुमोदन गरेको व्यक्तिमात्र उमेदवार हुनपाउँथे । राष्ट्रिय पञ्चायतको चुनावमा मनाङबाट मुनिन्द्रजङ्ग गुरुङले गाउँफर्कबाट अनुमोदन पाए । मनाङेले मानेनन् र निर्वाचनको औपचारिकतालाई बेवास्ता गर्दै पेमा छिरिङलाई राष्ट्रिय पञ्चायतको सदस्य घोषणा गरेर अबिर जात्रा गरे । अन्ततः काठमाडौंका शासक हारे । )
‘रुख’मा भोट हाल्नेहरू केहीले २०१५ देखि त धेरैले २०४८ देखि लगातार एउटै चिह्नमा मत दिँदैआएका छन् । तीमध्ये कार्यकर्ता थोरै मतदाता धेरै छन् । तिनीहरू चुनावमा अर्को चिह्नमा भोट हाल्न तयार हुँदैनन् । स्थानीय निकायकाे अगिल्लो चुनावमा पनि देखेकै हो । यसैले नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरेर जितौँला भन्ने कसैले ठानेको भए त्यो मूर्खता हुन्छ । त्यस अवस्थामा काग्रेसले तान्न खाेज्ने मत तिनै बिचरा समाजवादीहरूकै हो ।
यति त समाजवादीहरूले पनि बुझेकै होलान् । यसैले यो सरकार अहिले जसोतसो चले पनि चुनाव हुने बेलामा ढल्छ । माओवादीले अगिल्लोपल्ट दिएको धोका देउवाले बिर्सेका छैनन् होला । कांग्रेसलाई खासै लाभ नहुने तर ‘शिखण्डी’ र ‘नीलकण्ठ’ बनिरहनुपर्ने स्थिति देउवाका लागि कतिन्जेल सह्य होला र?
सबै प्रधानमन्त्री हुनखाेज्दा
यावत् राजनीतिक र रणनीतिक बाधा पार गर्न सके पनि माओवादी र समाजवादी नेताहरूको व्यक्तिगत दम्भ र अहङ्कारको भेल थेग्न शेरबहादुर देउवालाई पक्कै सजिलो हुनेछैन । अहिले नै सरकारमा सामेलै नभएका माधव नेपाल मन्त्रिपरिषद्को विस्तारबारे प्रधानमन्त्री आफैँ भएझै सार्वजनिकरूपमा बोल्छन् । पुष्पकमल दाहालले त झन् आफूलाई ‘किङ मेकर’मात्र होइन यस सरकारको ‘किङ पिन’ पनि देखाउनु अनौठो भएन । उपेन्द्र यादवको दम्भको त झन् के कुरा गराइ भयो र ? बाबुराम भट्टराईले मुख्यमन्त्रीलाई निर्देशन दिन थालिसके ।
देउवालाई यी सबैको हर्कत असह्य हुन धेरै समय नलाग्ला । तर, त्यतिन्जेलसम्म देशले धेरै धक्का सहन पर्ने हुनसक्छ । अलि छिटै उपचार खोजे बुद्धिमानी होला कि ?
सूर्यबहादुर थापाले २०५५ मा राजीनामा गरेपछि सबैभन्दा ठूलो पार्टीको नेताका रूपमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । एमाले फुटिसकेकाे थियो । कोइरालालाई समर्थन गरेर माले सरकारमा गयो । कांग्रेस र माले मिलेर राष्ट्रिय सभाका केही स्थानमा चुनाव पनि लडे तर, कतै जितेनन् । सुनेअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका एक नेताले (नाम नलेखौँ होला उनी मरिसके ।) उक्साएपछि वामदेव गौतम आफैँ प्रधानमन्त्री हुन सरकारबाट हटे । भोलिपल्टै एमाले सरकारमा सामेल भयो । चुनावसम्म सरकार राम्रैसँग चल्यो ।
प्रधानमन्त्री देउवालाई पनि यही बाटो नहिँडी सुख नहुने लक्षण देखिएको छ - संसद् पूरा चलाउने र चुनाव एमालेसँग मिलेर गराउने ।
हेरौँ !