झापाको भद्रपुरमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोड गरिएको छ । काठमाडौंको मैतिदेवीस्थित ‘कविकुञ्ज’ नेपाल प्रज्ञा प्रतिष्ठानकै अगुवाइमा भत्काइयो । कविकुञ्ज महाकवि देवकोटा बसेको घरको नाम हो ।
कविकुञ्ज भत्काउने कार्य रोकेर निर्माण सामग्रीलगायत सबै वस्तुको संरक्षण गर्ने आदेश सर्वोच्च अदालतले दिएको छ । संसारका अरू देशमा महाकवि देवकोटाका स्तरका महान् प्रतिभाहरूको सम्झना जोडिएका वस्तु र भौतिक संरचना सधैँका लागि संरक्षण गरेर राखिन्छ ।
मर्मत सम्भार गरेर जस्ताको तस्तै राख्न सकिने कविकुञ्ज किन भत्काउन परेको हो भन्ने जानकारी प्रज्ञा प्रतिष्ठानले दिएको छैन । यस्ता सांस्कृतिक महत्त्वका सम्पदाको पनि महत्ता नबुझ्नेहरू राष्ट्रको प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ छन् वा हुन्छन् भनियो भने सायद अरू कुनै मुलुकमा पनि पत्याउँदैनन् ।
कविकुञ्ज भत्काएर अर्को संरचना बनाउँदा हर्ताकर्तालाई केही गरेजस्तो लाग्दो हो । राज्यको कोषबाट पैसा खर्च गर्न पाउँदा केही कमिसन पनि हात पर्दो हो । परन्तु, यत्तिकै लागिमात्र महाकवि देवकोटाको सम्झना गाँसिएको कविकुञ्ज भत्काइएको होला भनेर पत्याउन सकिँदैन ।
महाकविको सालिक तोडफोड गर्नुको कारण र औचित्य त झन् बुझ्न सकिँदैन । यद्यपि, त्यस भेगमा पटपटक यस्ता मूर्खतापूर्ण अपराध हुने गरेका छन् । यसैले यसपटकको तोडफोड पनि कतै कुनै दुर्नियतपूर्ण षड्यन्त्र हो कि, यसै के भन्न सकिन्छ र ।
सर्वोच्च अदालतले कविकुञ्जका हकमा सकेसम्म चाँडै न्यायोचित निर्णय दिइहाल्ला भन्ने अपेक्षा गरौँ । अझै पनि त्यही जगमा तिनै निर्माण सामग्री, वास्तु र शैली प्रयोग गरेर कविकुञ्ज जस्ताको तस्तै बनाउन सके दुनियाँका सामु धेरै लाज मान्नु पर्ने थिएन ।
सालिक तोडफोड त नितान्त दण्डनीय अपराध हो । सरकारले उच्च प्राथमिकता दिएर अपराधी खोजेर तिनलाई कानुनबमोजिम दण्ड दिलाउनुपर्छ । र अन्यत्र पनि स्रष्टाहरूको अपमान गर्ने आँट अपराधीले नगरून् !
महाकवि सायद तिम्रो नेपाल अब ‘सुन्दर, शान्त विशाल’ रहेन । तिमीले सोधेका थियौ - के नेपाल सानो छ ? जनता यस्तै मूढाग्रही र राज्य यस्तै कृतघ्न हुने हो भने क्षमा मागेर महाकविसँग भन्नुपर्छ - नेपाल सानै रहेछ महाकवि !