काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाविरुद्ध साझा उमेदवार बनाउने प्रयास थालेका छन् ।
पौडेलले देउवाइतर समूहबाट साझा उमेदवार चयनका लागि आफ्नै निवास बोहोराटारमा आकांक्षीहरूलाई डाकेका हुन् । पौडेल निवासमा पुगेका नेताहरूले आ–आफ्नो सबल पक्ष राख्दै देउवालाई हराउन आफू नै उमेदवार हुनुपर्ने दाबी गरिरहेका छन् ।
तर, पौडेलले भने अघिल्लो महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिले आफूलाई चाहेर पनि केही नेताहरूको ‘सेटिङ’मा हराइएको भन्दै सभापतिमा आफू उठ्दा सबैलाई समेट्न सक्ने र नेता–कार्यकर्ताहरूले पनि देउव प्रवृत्तिको विकल्पका रूपमा आफूलाई मतदान गर्ने दाबी गरेका छन् । दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने र नेतृत्व विकास गर्ने विषयमा आफू सकारात्मक भए पनि देउवाको विकल्पमा सुधारकका रूपमा आफूलाई कार्यकर्ताले हेरेको भन्दै त्यसका लागि एकपटक साथ दिन सभापतिका अकांक्षीहरूलाई आग्रह गरेका छन् । पौडेलको आग्रहपछि सभापति पदका आकांक्षी नेताहरूले आफ्ना धारणा राखिरहेको बोहोराटार स्रोतले जनाएको छ ।
पौडेलले कांग्रेस महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय डा. रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यद्वय बलबहादुर केसी र डा. शेखर कोइरालालाई डाकेका हुन् । यसअघिका बैठकमा नेत्री सुजाता कोइराला पनि सहभागी हुने गरेकोमा आजको बोहोराटार बैठकमा उनी सहभागी छैनन् ।