पहुँच हुनेले स्थानीय तहलाई तिर्नैपर्ने कर तिर्न पनि आलटाल गर्छन् । काठमाडौं महानगरपालीकाले कर नतिर्नेहरूको प्राङ्गणमा बाजा बजाएर ‘कुरीकुरी’ गर्ने अभियान चलाउन थालेको छ । कर उठाउन सामाजिक दबाब दिन चलन राम्रो उपाय साबित हुनसक्छ ।
अहिले सहरमा फोहोर थुप्रिएको हो कि फोहोरमा सहर बसेको हो छुट्ट्याउनै नसकिने भएको छ । फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी भएको काठमाडौं महानगरपालिकाका पदाधिकारीलाई भने पटक्कै लाज लागेको देखिएको छैन ।
थुप्रिएको फोहोर र महालेखा परीक्षकको विभागका पछिल्लो प्रतिवेदनले उजागर गरेको बेथितिबाट एउटा प्रश्न फेरि उठेको छ । सत्तामा पुगेपछि लाज हराउने हो कि लाज हराएकाहरू सत्तामा पुग्ने हुन् ?
सायद कसैले पनि यस प्रश्नको ठोकुवा जबाफ दिन सक्तैन । तैपनि फोहोरको डुङ्गुर र बेरुजुको राशि हेर्दा भने काठमाडौ महानगरपालिकाका पदाधिकारीलाई लाज लाग्दो रहेनछ भन्न हिचकिचाउनै नपर्ने देखिन्छ ।
काठमाडौं महानगरपालिकालगायत उपत्यकाका नगरपालिकाका पदाधिकारीकै हेलचेक्र्याइँले फोहोर यसरी थुप्रिएको हो । तर, अब तिनको भर परेर हुने देखिएन । फोहोर थुप्रिँदा नेपालकै अन्तर्राष्ट्रिय बदनामी भइसकेको छ।
बर्खायाममा घना बस्ती भएको सहरमा यसरी फोहोर थुप्रिँदा हैजालगायतका सरुवा रोग फैलने जोखिम बढी हुन्छ । कोभिड(१९ को सङ्क्रमण नै नियन्त्रण गर्न नसकेको बेला अर्को महामारी फैलियो भने अवस्था कति भयावह होला रु
अहिले थुप्रिएको फोहोर तत्काल व्यवस्थापन गरेर महामारीको खतरा टार्न सरकार नै अग्रसर हुनु जरूरी देखिन्छ । जनस्वास्थ्यमै सङ्कट उत्पन्न भएकाले आवश्यक भए नेपाली सेनासमेत परिचालन गरियोस् ।
महामारीका बेला ‘लकडाउन भत्ता’ भनेर पनि राज्यको ढुकुटी लुट्ने पदाधिकारीले बेरुजु रकम पक्कै सजिलै फिर्ता गर्दैनन् । ती थेत्तरहरूसँग बेरुजु फर्स्योटका हकमा भने काठमाडौं महानगरका जनताले नै उपचार खोज्नुपर्ने हुनसक्छ ।
महानगरका पदाधिकारीले कर उठाउन अपनाएकै उपाय भ्रष्टाचार विरोधी अभियन्ताले बेरुजु फर्स्याउन अपनाए भने कति प्रभावकारी होलारु के काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख र अरू उच्च कर्मचारीलाई पनि लाज लाग्ला ? कसैले यो उपाय प्रयोग गरेर हेरे हुने नि !