site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फुटबल विवादको प्रतिवेदन सार्वजनिक भएपछि के हुन्छ ?

काठमाडौं । नेपाली फुटबलमा विवाद चलेको लामो समय भयो । पछिल्लो समय वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकबीचको घम्साघम्सीले नेपाली फुटबलको विवाद उत्कर्षमा पुगेको छ। एन्फाभित्रै समाधान हुन नसकेपछि विवाद मन्त्रालय र राखेपसम्म पुगेको छ। राखेपद्वारा छानबिन समिति नै गठन गरेर सुल्झाउने प्रयास भइरहेको छ । 

विवाद छानबिन गर्न गठित समितिले भोली बुधबार प्रतिवेदन बुझाउने तयारी गरेको छ । 

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण आफूलाई काम गर्ने वातावरण नभएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा समर्थकलाई सम्बोधन गर्दै साउन १० गते राजीनामा दिने घोषणा गरेका थिए । 

त्यसपछि तात्तिएको विवाद एन्फाभित्र नसुल्झिएपछि युवा तथा खेलकुद मन्त्रालय हुदै राखेपसम्म पुगेको छ । सबैको नजर अहिले पुरेन्द्रविक्रम लाखेको नेतृत्वमा बनेको छानविनको प्रतिवेदनमा अड्किएको छ । प्रतिवेदनमा के आउने हो सबैले चासोपूर्वक हेरेका छन् । 

नेम्वाङले प्रशिक्षकलाई कुनै किसिमको दबाब दिने क्रियाकलाप आफुले नगरेको दोहर्याउदै आएका छन् । 

प्रशिक्षकले फेसबुकमा स्टाटस लखेको एक सातापछि वरिष्ठ उपाध्यक्ष नेम्वाङले आफूमाथि षणयन्त्र भएको भन्दै छानबिनका लागि निवेदन दिए । त्यसको भोलिपल्ट मुख्य प्रशिक्षक अलमुताइरीले पनि दुई खेल पत्रकार र नेम्वाङविरुद्ध एन्फामा निवेदन दर्ता गराए । 

प्रशिक्षक–उपाध्यक्षबीचको विवाद सहजै नसुल्झिएपछि एन्फाले आकस्मिक कार्यसमिति बैठक बोलायो । उक्त बैठकमा पनि विवाद समाधान नभएपछि एन्फाले खेलकुद मन्त्रालयलाई गुहार्यो । खेलकुद मन्त्रालयले छानबिन गरी सात दिनभित्र विवाद मिलाउनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दियो । साउन १९ गते लाखेको संयोजकत्वको गठित ७ सदस्यीय छानबिन समितिले छानबिनका लागि थप एक साता समय लिएर बुधबार प्रतिवेदन सार्वजनिक गर्दैछ । 

नाम नखुलाउने सर्तमा समितिको एक सदस्य भन्छन्, ‘‘१० देखि १५ बुँदामा विवाद समाधानका उपाय सुल्झाएका छौं ।’

समितिले घटनामा संलग्न नेम्वाङ र अलमुताइरी तथा एन्फा अध्यक्ष कर्माछिरिङसहित २१ जनाको बयान लिएको थियो । 

प्रतिवेदनको निष्कर्ष नेम्वाङविरुद्ध आए के हुन्छ ?

अल्मुताइरीले फेसबुकमा स्ट्याटस राखेकै दिन वरिष्ठ उपाध्यक्ष नेम्वाङले आफ्नो गल्ति भए एन्फाको सदस्यसमेत नरहने गरी राजीनामा गर्ने बताएका थिए । र प्रशिक्षकको गल्ति ठहरिए उनलाई कारवाही गर्नुपर्ने माग राखेका थिए ।

बाह्रखरीसँगको कुराकानीमा वरिष्ठ उपाध्यक्ष नेम्वाङले प्रतिवेदनको निष्कर्ष जसको पक्षमा आए पनि आफुले स्विकार गर्ने बताएका छन् । 

‘‘छानबिन समितिमा पूर्व खेलाडीहरू नै हुनुहुन्छ । उहाँहरूले नेपाली खेलकुद राम्रोसँग बुझ्नु भएको छ । त्यसकारण पनि प्रतिवेदन निष्पक्ष आउनेमा म विश्वस्त छु,’’ नेम्वाङले भने । 

प्रतिवेदनको निष्कर्ष अलमुताइरीविरुद्ध आए के हुन्छ ?

मुख्य प्रशिक्षक अलमुताइरी कतार फुटबल संघको सहयोगमा नेपाल आएका हुन् । उनले एन्फाबाट कुनै पारिश्रमिक लिँदैनन् । उनको खाने बस्ने व्यवस्था भने एन्फाले गरिरहेको छ । 

नेपाली फुटबलको विकासका लागि आएको बताउने अलमुताइरीले साफ फुटबलको उपाधि जिताउने बताउँदै आएका छन् । 

तर नेपाल आएपछि उनी विभिन्न कारणले चर्चामा छन् । कहिले नेपाली टिमलाई फरक शैलीमा खेलाएको भनेर उनको चर्चा हुन्छ भने कहिले एन्फा पदाधिकारीविरुद्धको अभिव्यक्तिका कारण विवादमा मुछिन्छन् । केही न केही गरिरहने अलमुताइरी वरिष्ठ उपाध्यक्षसँगको विवादपछि भने उनी मौन छन् । 

यस विवादको प्रतिवेदन अलमुताइरीको विपक्षमा आए उनले नेपाल छाड्न सक्ने एन्फा उच्च पदाधिकारीको भनाई छ । 

उनी भन्छन्, ‘‘प्रशिक्षकलाई गलत ठहर्‍याएर माफी माग्न लगाइए उनी नेपाली फुटबलमा बसिराख्ने सम्भावना कम देखिन्छ । अलमुताइरीले एएफसी तथा कतार फुटबल संघमा निवेदन दिने सम्भावना छ ।’’ 

नेपाली फुटबल टिम अहिले भारतविरुद्धको मैत्रीपूर्ण खेल, साफ च्याम्पियनसिप र चीनमा एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि पोखरामा बन्द प्रशिक्षण गरिरहेको छ । 

भारतसँग भदौ २० र २३ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने नेपालले आसोज १५ देखी ३० गतेसम्म माल्दिभ्समा साफ च्याम्पियनसिप खेल्दैछ ।

यस्तो अवस्थामा एन्फा उच्च पदाधिकारीले भनेजस्तै अलमुताइरीले टिम छाड्लान् त ? नौतिक रुपमा प्रशिक्षक अलमुताइरीलाई दबाब त हुन्छ। तर वरिष्ठ उपाध्यक्ष नेम्वाङले दुई जनाबीचमा सहमती जुटिसकेको बताएका छन् । 

“मुख्य प्रशिक्षकले आफ्नो गल्ती स्वीकार गरिसक्नुभयो । मैले पनि अबदेखि गल्ती नगर्ने बताएको थिएँ । हामीबीच सहमति भइसकेको छ । तर हामीबीच समिति हुँदा समित बनेर थालिसकेकाले उसको निष्कर्ष कुरीरहेका हौं,” नेम्वाङले बाह्रखरीसँगको कुराकानीमा भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro