काठमाडौंं । विभिन्न पाँच राजनीतिक पार्टीका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।
उनीहरूले मंगलबार एक विज्ञप्ति जारी गर्दै फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । सार्वजनिक यातायातको भाडामा गरिएको २८ प्रतिशत वृद्धि पनि खारेज गर्न उनीहरूको माग छ ।
“नेपाल आयल निगमले सम्पूर्ण तथ्य र तथ्यांकहरू लुकाएर, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा नेपालमा मूल्य बढाइएको छ । हामी बढाइएको मूल्य तत्काल फिर्ता गर्न र फिर्ता नगरिएमा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छौँ,” विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक यातायातको भाडामा गरिएको २८ प्रतिशत वृद्धिलाई खारेज गर्न पुनः माग गर्दछौँ । गरिब जनतालाई नकारात्मक असर पर्ने कुनै पनि निर्णय नगर्न संयुक्त विद्यार्थी संगठनको तर्फबाट खबरदारी गर्दछौँ ।”
त्यस्तै, उनीहरूले कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गर्न माग पनि गरेका छन् ।