काठमाडौं । पार्टी विभाजन हुँदा तेस्रो धारमा उभिएका नेकपा एमाले नेताहरु र अध्यक्ष केपीशर्मा ओलीबीच निर्णायक वार्ता जारी छ । बिहान १०ः३० पछि नेताहरु अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत नेताहरु ओली निवास बालकोट पुगेका हुन् । पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिएका नेताहरु एमालेमै रहिरहन १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग राख्दै आएका छन् ।
महाराजगञ्जको त्यो बैठक
एक नेताका अनुसार आजको वार्ता वारपारको वार्ता हुनेछ । एमालेमा नै रहने वा नयाँ पार्टीमा जाने भन्ने विषय आजको वार्ताले निर्धारण गर्ने उनले बताए ।
माधव नेपाल पक्षसँग पार्टी एकताको ‘च्याप्टर क्लोज’ भएको बताएका ओली तेस्रो धारका नेताहरुसँग वार्ताको लागि राजी भए ।
कसरी तयार भए ?
गएको शुक्रबार पार्टी विभाजनमा साथ नदिएका अर्थात् एमालेमा माधव समूहमा रहेका ५७ केन्द्रीय सदस्यहरु भेला भएर महाराजगञ्जमा छलफल गरे । माधव नेपाललाई साथ नदिएका नेताहरु आफ्नो पक्षमा आउने अनुमानमा रहेका ओलीलाई सो दिनको बैठकको वक्तव्यले झस्काएको एक नेता बताउँछन् । ५७ जनामा वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पनि छिन् । उनलाई ओलीले डोरमणि पौडेललाई राजीनामा गराएर मुख्यमन्त्री बनाएका थिए । तर, मुख्यमन्त्री शाक्यको हस्ताक्षरसहितको वक्तव्य जारी हुँदा ओली झस्किएको उनको भनाइ छ ।
“पार्टी विभाजन भएपछि ओलीले तेस्रो धारका विषयमा खासै चासो दिएनन् । जब हामीले शुक्रबार ५७ जना उपस्थित रहेको बैठकबाट वक्तव्य जारी गर्यौं । के साँच्चै ओली १० बुँदे मान्न तयार छैनन् त भन्ने बहस पनि सुरु भयो । त्यसबाट ओली झस्किए । र, वार्ता गर्न तयार भए,” ती नेता बताउँछन् ।
तेस्रो धारमा रहेका नेताहरुले १० बुँदेको कार्यान्वयनसँगै माधव नेपालसहितका १४ जना सांसद्लाई गरिएको कारबाही फिर्ता लिनुपर्ने माग राख्दै आएका छन् । त्यस्तै नेपालले नयाँ पार्टी दर्ताको प्रक्रिया रोक्नु पर्ने उनीहरुको माग छ ।
सुरुवातमा ओली पक्षका दोस्रो तहका नेताहरुसँग वार्ता गरेका तेस्रो धारका नेताहरुले आइतबारको गृहकार्यपछि ओलीसँग वार्तामा बसेका हुन् । वार्तामा एमाले महासचिव ईश्वर पोखरेल पनि सहभागी छन् ।
आजको वार्तामा ओली ब्याक हुने अथवा नहुने विषयले आगामी बाटो तय हुने उनको भनाइ छ ।