
काठमाडौं । माधव नेपालको साथ ‘छोडेका’ ५७ जना नेताहरूको भेलाले माधव नेपालसहित १४ जनालाई गरिएको कारबाही फिर्ता लिन माग गरेको छ । शुक्रबार महाराजगञ्जस्थित एक पार्टी प्यालेसमा बसेको नेताहरूको भेलाले नेता नेपालसहित १४ जनालाई गरिएको कारबाही फिर्ता लिन माग गरेको भेलामा सहभागी एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।
उनका अनुसार भेलाले विशेषगरी तीनवटा निष्कर्ष निकालेको छ । “हामीले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिने, माधव नेपालसहित १४ जना सांसदलाई गरिएको कारबाही फिर्ता हुनुपर्ने र निर्वाचन आयोगमा गएको दल दर्ता प्रक्रिया स्थगित हुनुपर्ने निष्कर्ष निकालेका छौँ,” गैरेले भने ।
भेलामा स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य र सांसदहरूगरी ५७ जनाको उपस्थिति थियो ।
एमालेले माधव नेपालसहित मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याणी खड्का, कलिला खातुन, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरू, पुष्पाकुमारी कर्ण, सरला यादव, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई सांसदबाट हटाउने निर्णय गरेको थियो । एमालेले उनीहरूलाई कारबाही गरेको पत्र संसद् सचिवालयमा पठाएको छ ।