site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कलेजको ‘मनोमानी शुल्क’को विरोधमा त्रिवि इन्जिनियरिङका विद्यार्थी रिले अनशनमा

काठमाडौं । अनलाइन शुल्क संरचना प्रकाशनको माग गर्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन प्राप्त १० वटा निजी इन्जिनियरिङ कलेजका विद्यार्थीहरू रिले अनशनमा बसेका छन् । उनीहरू आ–आफ्नै क्याम्पसमा अनशनमा बसेका हुन् ।

कलेजहरूले मनोमानी रूपमा शुल्क तिर्न विद्यार्थीलाई दबाब दिएको भन्दै देशभरका त्रिविअन्तर्गतका इन्जिनियरिङ कलेजका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । कोरोना महामारीमा विद्यार्थीले लिँदै नलिएको शीर्षकमा समेत शुल्क तिर्नुपर्ने कलेजले दबाब दिएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् ।

आन्दोलनरत विद्यार्थीले गत वर्षदेखि सबै विषयको पढाइ अनलाइनबाट भएकाले ट्युसन शुल्क मात्रै लिन कलेज प्रशासनसँग माग गर्दै आएका छन् । प्रशासनसँग पटक–पटक अनुरोध गरे पनि माग सम्बोधन नभएपछि आन्दोलन गर्नुपरेको विद्यार्थी समीरजङ गुप्ताले बताए ।

“क्याम्पस प्रशासनसँग छलफल गर्न खोज्दा क्याम्पस प्रमुखलगायत अन्य पदाधिकारी वार्तामा समेत आउनुभएन । प्रयोग नै नगरेको कुरामा किन फी लिइँदै छ ?,” उनले प्रश्न गरे ।

यस्तै, एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका विद्यार्थीहरू पनि दुई सातादेखि आन्दोलनमा छन् । अनलाइन पढ्दा पनि सामान्य दिनमा जस्तो पूर्ण शुल्क लिइएको भन्दै विद्यार्थीहरू विरोधमा उत्रिएको सातौँ सेमेस्टरमा अध्ययनरत सुदीप न्यौपानेले बताए । उनल भने, “कलेजले कम्तीमा ३० प्रतिशत शुल्क छुट दिनुपर्छ ।” एड्भान्स कलेजले विद्यार्थीलाई १५ प्रतिशतसम्म छुट दिन सकिने जनाएको थियो । तर, विद्यार्थीहरूले मानेका छैनन् ।

विद्यार्थीहरू भौतिक रूपमा क्याम्पस नआए पनि कलेजहरूले भने प्रयोशाला, पुस्तकालय र शैक्षिक भ्रमणलगायत सबै विषयमा पूर्ण शुल्क लिएको उनीहरूको गुनासो छ । हिमालय कलेज अफ इन्जिनियरिङमा बीई तेस्रो सेमेस्टरमा अध्ययन गरिरहेका गुप्ता सेमेस्टरको पैसा बुझाउने दिन हिजो अन्तिम रहकाले समस्या झन् बल्झिएको बताउँछन् । यही भदौ २८ गतेबाट विद्यार्थीहरूले बोर्ड परीक्षा दिँदै छन् । परीक्षा फाराम भर्ने म्याद भदौ ८ सम्म थपिएको छ ।

आन्दोलनमा सबै सेमेस्टरका विद्यार्थी सहभागी छन् । गुप्ताका अनुसार हिमालय कलेजका १२ सय विद्यार्थीहरू तीन दिनदेखि रिले अनशनमा छन् । उक्त कलेजका विद्यार्थीहरू गएको साउन १७ गतेदेखि नै चरणबद्ध आन्दोलन गरिरहेका छन् । आन्दोलनरत विद्यार्थीले आफूहरूको आन्दोलन दबाउन प्रशासनले प्रहरी बोलाएर कुटपिट गरेको आरोपसमेत लगाएका छन् ।

यस्तै, कलेजभित्र रहेका तीन विद्यार्थी संगठनले संयुक्त वक्तव्यसमेत निकालेका छन् । नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त विज्ञप्ति निकाल्दै तीनबुँदे माग राखेका छन् । अनलाइन कक्षा सञ्चालन भएको दुई सेमेस्टर भइसक्दा पनि अनलाइन शुल्क संरचना प्रकाशन नगरेकाले पारदर्शी रूपमा छिटो प्रस्तुत गर्न, प्रयोग गरेको सेवा सुविधाबाहेक अरू शुल्क कुनै पनि हालतमा तिर्न नपर्ने व्यवस्था गर्न र शिक्षामा गुणस्तरको कमी आएकाले भौतिक कक्षाजति दक्षता हासिल नहुनेलगायत विषयलाई केन्द्रित गरी शुल्क तय गर्नुपर्ने उनीहरूको माग छ ।

हाल क्याथफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्याजेजमेन्ट, जनकपुर इन्जिनियरिङ कलेज जनकपुर, कान्तिपुर इन्जिनियरिङ कलेज, एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेसनल इन्जिनियरिङ कलेज, काठमाडौं इन्जिनियरिङ कलेजलगायत त्रिविका सबै सम्बन्धन प्राप्त निजी कलेजका विद्यार्थीहरूले कलेजमा तालाबन्दी गरेका छन् । 

यसबारेमा इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशिधर जोशीसँग जिज्ञासा राख्दा उनले डिन कार्यालयले ०६६ सालमा निजी कलेजहरूको शुल्क तोकेको र सोहीअनुसार कलेजले शुल्क लिए÷नलिएको अनुगमन गर्ने काम डिन कार्यालयको रहेको बताए । उनले भने, “बढी शुल्क लियो भने हामीले कारबाही गर्ने हो । नत्र तोकेको शुल्क उनीहरूले लिन पाउँछन् ।” 

विवाद समाधान गर्न विद्यार्थी र क्याम्पस प्रमुखहरूसँग दुईपटक बैठक बसेको उनले सुनाए । “शुल्क कति घटाउने भनेर विद्यार्थीले नै प्रशासनलाई मनाउनुपर्छ । कतिपय कलेजमा नेगोसियसनसमेत भइसकेको छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro