site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला प्रकरणमा अर्को ‘क्लु’ ! हत्यामा दुईजना संलग्नताको आशंका
Sarbottam CementSarbottam Cement

काठमाडौं । कञ्चनपुर भीमदत्त नगरपालिका–२,उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीनवर्ष पुगिसकेको छ । 

०७५ साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी निर्मला हत्याराको पहिचान भने अझै हुन सकेको छैन ।

सुरुवातदेखि नै निरन्तर अनुसन्धानमा सक्रिय रहेको प्रहरी अझै अभियुक्तसम्म पुग्न सकेको छैन । न त प्रहरीले अभियुक्तसम्म पुग्ने ‘क्लु’ नै फेला पार्न सकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तीन वर्षको अवधिमा प्रहरीले आधा दर्जन बढी प्रहरी अधिकृतलाई हत्याकान्डको अनुसन्धान गर्ने जिम्मेवारी दिइसकेको छ । 

तर अनुसन्धानमा खटिएका सबैजसो अधिकृतहरु निरास देखिन्छन् ।

Global Ime bank

सबैजसो प्रहरी अधिकृतहरुको एउटै गुनासो छ,“अनुसन्धानमा सुरुवाती समयदेखि नै केही समस्या भयो । यसबाहेक शव फेला परेकै दिन चर्किएको आन्दोलनलगायतले पनि अनुसन्धानले आफ्नो बाटो समात्न सकेन ।”

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सिद्धराज न्यौपाने अनुसन्धान निरन्तर जारी रहेको बताउँछन् । 

उनले भने,“विगतका सबै अनुसन्धानलाई पनि हेरिरहेका छौं । शंकास्पदमाथि निगरानी, सोधपुछलगायतका काम भइरहेका छन् । हामी गम्भीरतापूर्वक यो घटनाको अनुसन्धानमा छौं ।”

डीएसपी न्यौपाने प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने बताउँछन् । उनी भन्छन्,“हामी पूर्ण व्यवसायिकताका साथ सुक्ष्म ढङ्गले अनुसन्धानमा छौं । विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं । यसमा सिंगो संगठन गम्भीर छ ।”

बाह्रखरीले विभिन्न समयमा निर्मलाको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुसँग घटनाबारे कुराकानी गरेको छ । घटनाबारे पनि प्रहरी अधिकृतहरुकै मत बाझिएको पाइएको छ । 

साउन ९ गते कहाँ गएकी थिइन् निर्मला ?

निर्मला साउन ९ गते भीमदत्तनगरकै भासी जान्छु भनि निस्किएको पाइएको छ । प्रहरीका अनुसार निर्मलाका बुबा यज्ञराज कान्छी श्रीमतीसँग भासीमा बस्दै आएका थिए । तर साउन ९ गते उनीहरु दुवै धार्मिक यात्राका लागि भारतमा थिए ।

यस्तोमा साउन ९ गते निर्मला भासी गइन् वा गइनन् भन्ने प्रश्न उठेको छ । भासी नगएको भए उनी कहाँ गइन् त त्यो दिन ? अनुसन्धान यहाँबाट पनि गरिएको प्रहरी अधिकारी बताउँछन् ।

प्रहरीले साउन ९ गते निर्मला कहाँ गएकी थिइन वा कसैलाई भेटेकी थिइन् भन्ने खोज गरिरहेको छ ।

निर्मला हत्या अनुसन्धान गरेर काठमाडौं फर्किएका एक अधिकृत भन्छन्, “साउन ९ गते निर्मला भासी गइन् वा गइनन् यो महत्वपूर्ण कुरा छ । उनी घरबाट निस्किएकी छन् तर भासी नै हो वा होइन यकिन छैन । यो कुरा खुले पनि अनुसन्धानले केही बाटो देखाउन सक्छ ।”

साउन १० गते निर्मला घरबाट निस्किएको त्यो दिन

निर्मला घरनजिकै रहेको सरस्वती उच्च माविमा कक्षा ९ मा अध्ययरन थिइन् । साउन १० गते उनी निम्बुखेडामा रहेको साथीको घरमा नोट ल्याउन भन्दै निस्किएकी थिइन् ।

साथीको घरबकाट उनले नोट, केही अम्ब लिएर घरतर्फ लागेको अनुसन्धानबाट खलिसकेको छ ।

साथीको घरबाट पनि निर्मला भाँसी जानु छ भन्दै निस्किएको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । 

साउन १० गते पानी पनि परेको थियो । साउन १० गते राति पनि ठूलो पानी परेको थियो । साँझसम्म निर्मला घरमा आइनन् ।

निर्मला नपुगेपछि सोही दिन प्रहरीलाई पनि खबर गरिएको थियो तर प्रहरीले चासो दिएन । साउन ११ गते बिहानसम्म निर्मला हराएको खबर व्यापक बन्यो । सोही क्रममा प्रहरी र स्थानीयले निम्बुखेडामै रहेको उखुबाँरीमा खोजी गर्न सुरु गर्‍यो । सोही उखुबाँरीमा उनको शव फेला पर्‍यो भने खोलामा साइकल । 

शव भेटिएकै बेला प्रर्दशन

निर्मला मृत अवस्थामा फेला परेलगत्तै घटनास्थलमा भीमदत्त नगरपालिकाका मेयर र प्रहरीविरुद्ध नाराबाजी सुरु भयो । स्थानीयले घटनास्थलमा मेयर नआएको भन्दै प्रदर्शन गरेका थिए ।

त्यसलगत्तै महेन्द्रनगर बजारमा पनि प्रर्दशन सुरु भयो । प्रहरीले सुरुवातमा भएको प्रर्दशनले पनि अनुसन्धानमा असहजता ल्याएको बताउँदै आएको छ । 

दीलिप पक्राउपछि चर्किएको आन्दोलन

निर्मला प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि परिचालन भयो । ब्युरो र जिल्ला प्रहरी कार्यालयले भदौ ४ गते हत्याका मुख्य अभियुक्त भन्दै भीमदत्त नगरपालिका–१९ बाँगफाँटाका ३९ वर्षीय दीलिपसिंह विष्टलाई सार्वजनिक गर्‍यो । 

तर दीलिपलाई सार्वजनिक गरिएसँगै महेन्द्रनगरमा आन्दोलन चर्कियो । आन्दोलन चर्किँदै जाँदा प्रहरीले प्रर्दशनकारीमाथि गोली नै प्रहार गर्‍यो ।

गोली प्रहारबाट स्थानीय १७ वर्षीय सन्नी खुनाको ज्यानै गयो । आन्दोलन मत्थर भएन । प्रदर्शनकारीले भीमदत्तका मेयरको घरमा समेत ढुङ्गामुडा गरे । तर निर्मलाको स्वाबसँग दीलिपको डीएनए म्याच नभएपछि उनी छुटे । तर दीलिपलाई सार्वजनिक गर्ने प्रहरी अधिकृत भने घटनामा उनकै संलग्नता रहेको दाबी गर्दै आएका छन् । 

अनुसन्धान गर्ने प्रहरी नै कारवाहीमा 

प्रहरी अनुसन्धानमै प्रश्न उठेपछि छानबिनका लागि सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति बनायो । सो समितिले स्थलगत अध्ययन गर्‍यो । मैनाली नेतृत्वको समितिले अनुसन्धानमा प्रहरीले अनुसन्धानमा लापरवाही गरेको निष्कर्ष निकाल्यो ।

सोही समितिको सिफारिसका आधारमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख, सीआईबीका अधिकारी लगायतमाथि कारवाही भयो ।

उनीहरुमाथि प्रमाण नष्ट र दीलिप विष्टमाथि यातना दिएको आरोपमा मुद्दा पनि दायर भयो । तर उनीहरुले अहिले भने सफाई पाइसकेका छन् । 

निर्मला प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन एआईजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदनहरु तयार भएका थिए ।

तर प्रतिवेदन अलपत्र परे । बस्न्यात नेतृत्वको टोलीले बनाएको प्रतिवेदन त खारेज नै गरियो । 

आपसमै बाझिन्छ प्रहरी अधिकृतको मत

बाह्रखरीले अनुसन्धानमा खटिएका आधा दर्जन बढी प्रहरी अधिकृतसँग घटनाबारे जान्ने प्रयास गरेको थियो । तर उनीहरुका मत आपसमै बाझिएको पाइन्छ । घटनाको सुरुवातमा खटिएर कारवाहीमा परेका अधिकृतहरु दीलिप नै घटनाको मुख्य अभियुक्त भएको दाबी गर्छन् भने अन्य अधिकृतहरु त्यो दाबी मान्न तयार देखिँदैनन् । उनीहरु भन्छन्,“दीलिप हो नै भनेर दाबी गर्न सकिँदैन । प्रमाणले पुष्टि गर्न नसकिएपछि होला भनेर भन्न मिलेन नि ? त्यसैले यसमा गहन अनुसन्धान जरुरी छ ।”

तर बर्खास्तीदेखि निलम्बनमा परेकाहरुले भने सञ्चारमाध्यममै दीलिपबाहेक अर्को अभियुक्त पुष्टि गर्न चुनौती दिँदै आएका छन् ।

अनुसन्धानमै संलग्नहरुको मत बाझिएपछि प्रहरी प्रधान कार्यालयले कञ्चनपुर पुगेर अनुसन्धानमा जुटेका प्रहरी अधिकृतहरुसँग छलफलसमेत गरेको थियो । निर्मला हत्याको अनुसन्धानमा प्रदेश प्रहरी, सीआईबी र कञ्चनपुर प्रहरीको टोली सक्रिय छ ।

सीआईबीका डीएसपी नेतृत्वको टोली सुरुवातदेखि हालसम्म कञ्चनपुरमै छ । 

उखुबारी नै हो त घटनास्थल ?

प्रहरी अधिकारीहरुलाई प्रारम्भिक घटनास्थल निर्मलाको शव भेटिएकै स्थान उखुबारी नै हो वा होइन भन्नेमा ढुक्क भने छैन । 

तर घटनास्थलको प्रकृति, शव संकलन गर्दा खिचिएका तस्बिर, भिडियो विश्लेषण गरेर निर्मलाको प्राण भने उखुबारीमै गएको दाबी गर्दै आएका छन् । 

घटनास्थल र घटनाको सम्भावित प्रकृतिमा पनि प्रहरी अधिकृतहरु विभाजित देखिन्छन् । उखुबारी नै घटनास्थल मानेर प्रहरी अनुसन्धान भने अगाडि बढेको देखिन्छ । 

तर खोला तारेर निर्मलालाई भने उखुबारीमा लैजान केही समस्या पर्ने कतिपय अनुसन्धान अधिकृतहरुको अनुमान छ । खोलामा पानी भएकाले खोला तारेर पारी लैजाने अवस्था सहज नभएको प्रहरी कै अधिकारीहरु बताउँछन् । 

खोलामा निर्मलाको साइकल भेटिएको थियो । सो साइकल अहिले पनि प्रहरीले सुरक्षित राखेको छ । साइकलकै विषयमा पनि प्रहरी अधिकारीको मत बाझिएको पाइन्छ । एकथरी प्रहरी अधिकारी भन्छन्, “साइकल फालिएको हो ।” 

तर अर्काथरी प्रहरी अधिकारीहरु नै भन्छन्,“साइकल फालिएको होइन व्यवस्थापन गरिएको हो ।”
यहाँनेर पनि अनुसन्धानमा सक्रिय प्रहरी अधिकृतको मत बाझिएको छ । 

कस्तो छ घटनास्थल ?

निर्मलाको घर र उनको शव भेटिएको उखुबारीको दुरी एक किलोमिटरको हाराहारीमा छ । निर्मलाको शव भेटिएको उखुबारी जान खोला तर्नुपर्छ । केही पर काठको पक्की पुल पनि छ । बाक्लो उखुबारीसँगै रहेको खेला किनारमा पनि रुखहरु छन् । साउनको समय भएकाले खोला किनारमा बाक्लै बुट्यान थिए । 

सो स्थान लागुऔषध प्रयोगकर्ताको ‘जक्सन’ पनि हो । प्रहरी अनुसन्धानले पनि सो स्थानमा लागुऔषध प्रयोगकर्ता जाने सेवन गर्ने गरेको पाइएको छ । तर साउन १० गते पानी पनि परेको र वर्षातको पनि समय भएकाले त्यहाँ कोही थिए वा थिएनन् प्रहरीले त्यसको सुराक पाउन सकेको छैन । अहिले भने उखुबारी छैन ।

हत्यामा दुईजना संलग्न !

स्वास्थ्य परीक्षणबाट बलात्कारमा एकजनाको मात्रै संलग्नता देखिएको छ । 

निर्मलाको शरीरबाट निकालिएको स्वाबमा एकजनाको मात्रै डीएनए विकासित भएको छ । घटनामा कसको संलग्नता थियो खुलिसकेको छैन । तर केही प्रहरी अधिकारीहरु घटनामा दुईजनाको संलग्नता हुनसक्ने दाबी गर्छन् । 

उनीहरु भन्छन्, “बलात्कार र हत्यामा दुईजना हुन सक्छन्, साइकल व्यवस्थापन र हत्यामा एकैजना हुने सम्भावना कम देखिन्छ । सरसर्ती हेर्दा साइकल फालिएको नभएर व्यवस्थापन गरेको हो कि भन्नेजस्तो देखिन्छ ।”

यसका लागि प्रहरीले घटनास्थलमा साइकल लगेर ट्रायलसमेत गरिसकेको छ । खोलामा साइलक फाल्दा अडिन्छ वा अडिन्न भनेर ट्रायल गरिएको थियो । 

एक सयको डीएनए परीक्षण

प्रहरी अधिकारीहरुका अनुसार बलात्कारको मुद्दामा निर्मला प्रकरणमै पहिलोपटक डीएनए परीक्षण गरिएको थियो । डीएनए परीक्षणको सुरुवात दीलिप विष्टबाटै भएको थियो । उनको डीएनए मिलेन ।

त्यसयता प्रहरीले हालसम्म एकसय जनाको डीएनए परीक्षण गरिसकेको छ । एक हजार बढी शंकास्पदसँग बयान गरिसकेको छ । तर न त कसैको डीएनए म्याच भएको छ न त प्रहरीलाई कुनै नयाँ ‘क्लु’ फेला परेको छ । 

सहज छैन अनुसन्धान

निर्मला प्रकरणपछि प्रहरीले दर्जनौं घटनाको सफल अनुसन्धान गरिसकेको छ । कञ्चनपुरमै कयौं घटनामा प्रहरी निस्कर्षमा पुग्न सफल भएको छ । तर निर्मला प्रकरणमा प्रहरी सफल हुन सकेको छैन । 

प्रहरीले प्रविधिको प्रयोगबाट अनुसन्धानलाई सफलतामा पुर्‍याउन नसकिएको बताउँदै आएको छ । निर्मलाले मोवाइल नबोक्ने र सामाजिक सञ्जाल प्रयोग नगर्ने भएकाले अनुसन्धानमा समस्या आएको हो । 

यसबाहेक प्रमाणको अभाव अर्को समस्या हो । प्रहरी अधिकारीहरुका अनुसार प्रहरीले सहयोग मागेका सबै स्थानीयको सहयोग पनि नपाएको गुनासो गरेको छ ।

‘म्यानुअल’ रुपमै अनुसन्धान गर्नुपर्ने भएकाले सबैजना प्रहरीसँग खुल्न चाहँदैनन् । उनीहरु भन्छन्,“हामीलाई सूचना चाहिएको हो । हाम्रो टोली पनि सक्रिय छ । तर कतिपय अवस्थामा स्थानीयकै सहयोग चाहिन्छ त्यो सबैले गर्न मान्दैनन् ।”

हल्लाले प्रभावित भएको अनुसन्धान 

कतिपय प्रहरी अधिकारीहरु अनावश्यक हल्लाका कारण पनि अनुसन्धान प्रभावित हुने बताउँछन् । अनुसन्धानमा सफल पार्न सबै पक्षको सहयोग आवश्यक हुने प्रहरी बुझाइ छ । कतिपय अभियन्ता, राजनीतिक दलका नेता/कार्यकर्ताले सञ्चारमाध्यममा दिने अभिव्यक्ति तथ्यपरक नहुँदा त्यसले समाजमा नकारात्मक धारणा बन्ने र प्रहरीले सहयोग नपाउने गरेको प्रहरी अधिकारीहरुको बुझाइ छ । निर्मला प्रकरणलाई लिएर विभिन्न व्यक्तिका अभिव्यक्ति बेलाबेला चर्चामा आएका थिए । 

को–को छ शंकाको घेरामा ?

प्रहरीले शंकाको घेरामा यसअघि अनुसन्धानमा तानिएकाहरुलाई पनि राखेको छ । नयाँ तथ्य पनि विकास गर्दै लगेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । 

नजिकका आफन्त, सेना, विभिन्न अपराधमा संलग्न भएकाहरु, ट्यापेलगायत अनुसन्धानको घेरामा छन् । 

तीनजना सेनामाथि त प्रहरीले अनुसन्धान नै गरेको थियो । उनीहरुको डीएनए समेत संकलन गरिएको थियो । यसबाहेक निगरानीमा शिक्षक पनि छन् ।

प्रहरीलाई स्रोत साधनको अभाव

प्रहरी अनुसन्धान जारी छ । तर पर्याप्त मात्रामा स्रोत साधनको अभाव भएको उनीहरुकै गुनासो छ । यसअघि कञ्चनपुर प्रहरीको नेतृत्व गरेका र अनुसन्धानमा खटिएका सबैजसो अधिकारीहरु अनुसन्धानमा स्रोत साधनको अभाव भएको गुनासो गर्छन् । 

पर्याप्त मात्रामा सवारी साधन, सुराकी प्रयोग गर्न आवश्यक पर्ने आर्थिक स्रोतको अभावका कारणले पनि सूचना संकलनमा समस्या भएको उनीहरु बताउँछन् । 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC