लामो समयदेखि द्वन्द्वको चपेटामा परेको अफगानिस्तानबाट अमेरिकी सेना हट्नेबित्तिकै धार्मिक कट्टरपन्थी विद्रोहीहरूको सशस्त्र समूह तालिवानले राजधानी काबुल वरपरका धेरै क्षेत्रमा कब्जा गरेको छ । काबुल पनि छिटै विद्रोहीको कब्जामा पर्ने वा भीषण युद्ध हुने सन्देह बढ्दै गएको छ ।
अफगानिस्तानमा निकट भविष्यमा भयावह मानवीय सङ्कट उत्पन्न हुने निश्चित प्रायः छ । यसैले त्यहाँ फसेका नेपाली नागरिकको जीवनको रक्षा गर्नु नेपाल सरकारको पहिलो कर्तव्य हो । तर, नेपाल सरकार भने मूकदर्शक बनेको देखिएको छ । यस्तो जोखिमको अनुमान धेरै पहिले नै गरिएको हो । परराष्ट्र मन्त्रालय सुस्त हुँदा विभागीय मन्त्रीका रूपमा समेत थप दोष प्रधानमन्त्रीले बेहोर्नुपर्छ ।
यसबीच अमेरिकाले काबुलस्थित दूतावासको सुरक्षामा तैनाथ करिब तीन सय नेपालीलाई स्वदेश फर्काउन लागेको समाचार छ । यसबाट कम्तीमा तिनका परिवारलाई केही सन्तोष भएको हुनुपर्छ । तर, तिनीहरूबाहेक अफगानिस्तान पुगेका नेपाली र तिनका आफन्तले भने अन्योल र असुरक्षामा बाँच्नु परेको छ ।
सङ्कटमा बेलामा न नागरिकलाई राज्यको साथ र सहयोग चाहिने हो । अहिले अफगानिस्तानमा रहेका नेपाली पनि अपवाद पक्कै होइनन् । सरकारसँग सायद अहिले अफगानिस्तानमा कति नेपाली छन् र कहाँ कुन अवस्थामा छन् भन्ने यथार्थ जानकारी पनि नहोला । कारण, नेपाल सरकारले कहिल्यै देशबाहिर रहेका नेपालीको अवस्थाप्रति चासोसम्म पनि राख्ने गरेको देखिएको छैन । त्यसमाथि काबुलमा त नेपाली नियोग पनि छैन ।
सरकारले अब पटक्कै अलमल नगरी अरू नेपालीलाई सुरक्षित घर फर्काउने प्रयास थालिहाल्नुपर्छ । यस क्रममा आवश्यकताअनुरूप कूटनीतिक क्षमता र सम्पर्कहरूको पूर्ण प्रयोग गर्न हिचकिचाउनु हुँदैन । यस्तै, आफ्ना नागरिकको जीवन बचाउने क्रममा सरकारले लाभ र लागतको हिसाबकिताब पनि गरिरहनु हुँदैन ।
सरकारले अलमल गर्दागर्दै कुनै अनिष्ट भयो भने सत्तामा रहेकाहरूलाई नेपाली जनताले कहिल्यै क्षमा गर्नेछैनन् । जनताको जीवन रक्षामा उपयोग हुन नसक्ने हो कूटनीतिक क्षमता वा दौत्य सम्बन्ध पनि अर्थहीन हुन्छ । यसैले तालिबानसँग निकट सम्बन्ध बनाउँदै गरेको चीन, नेपालीलाई अफगानिस्तान लैजाने मूलतः अमेरिका, भारत तथा पाकिस्तानलगायतका मुलुकको नेपालप्रतिको सद्भावको पनि कसी यही बेला लाग्नेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकार नेपाली जनताको जीवनप्रति कति गम्भीर र जिम्मेवार छ भन्ने पनि यस घटनामा देखाइने तदारुकताबाट स्पष्ट हुनेछ । सबै काम छाडेर पनि जीवन जोगाउनुपर्छ भन्ने हेक्का रहोस् ।