वासिङटन । अमेरिकामा श्वेत नागरिकको सङ्ख्यामा पहिलोपटक गिरावट आएको छ । अमेरिकन सेन्सस ब्यूरोले बिहीबार जनगणना सम्बन्धी यो आश्चर्यजनक नयाँ डाटा सार्वजानिक गरेको हो, जसमा २०१० पछि श्वेत जनसङ्ख्या ८.६ प्रतिशतले घटेको पाइएको छ ।
२०१० मा कूल जनसङ्ख्याको ६३.७ प्रतिशत श्वेत जनता थिए भने अहिले यो ५८ प्रतिशतमा झरेको छ । यो जनगणना सुरु भएदेखिकै पहिलो घटना हो ।
अल्पसङ्ख्यक समूहमा भने गत एक दशकमा उल्लेख्य वृद्धि भएको छ । यसमा ल्याटिनो जनसङ्ख्या २३ प्रतिशतले बढेको छ भने एसियाली जनसङ्ख्यामा पनि ३५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै अश्वेत जनसङ्ख्या ५.६ प्रतिशतले बढेको छ ।
सेन्सस ब्यूरोका अधिकारी निकोलस जोनसले भनेका छन्, “अमेरिकी जनसङ्ख्या पहिलेको तुलनामा अधिक बहुजातीय र विविध बन्न पुगेको छ । यस्तो पहिले कहिल्यै भएको थिएन ।”
हाल अमेरिकाका सबैभन्दा विविध स्टेटहरु : हवाइ, क्यालिफोर्निया, नेभाडा, टेक्सस, मेरिल्यान्ड, कोलम्बिया, न्यु जर्सी र न्युयोर्क रहेका छन् । टेक्ससमा मात्र श्वेत र अश्वेत जनसङ्ख्या झन्डै समान स्तरमा पुग्न लागेको छ । त्यहाँ श्वेत जनसङ्ख्या ३९.७ प्रतिशत छ भने अश्वेत नागरिकरुको सङ्ख्या पनि ३९.३ रहेको छ ।
यसैगरी बहुजातियहरुको सङ्ख्यामा पनि ठूलो वृद्धि देखा परेको ब्यूरोले जनाएको छ । विगत दश वर्षमा अमेरिकी जनसङ्ख्या ७.४ प्रतिशतले वृद्धि भएको छ जसलाई अमेरिकी इतिहासकै सुस्त वृद्धि भनिएको छ । यसमा ठुल्ठुला सहरी क्षेत्रको जनसङ्ख्या बढेको बढ्यै छ भने ससाना काउन्टीमा सङ्ख्या निरन्तर घटिरहेको छ ।
अमेरिकीहरुले सबैभन्दा बढी दक्षिण र पश्चिमतर्फ बसाइ सर्ने गरेको पनि तथ्यांकले देखाएको छ । सबैभन्दा छिटो वृद्धि हुने सहरमा फिनिक्स परेको छ ।
तर, अझै पनि न्युयोर्क सिटी नै अमेरिकाको सबैभन्दा ठूलो सहर हो जहाँ ८८ लाख मानिसहरु बसोबास गर्छन् ।