site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

संविधानमै राजनीतिक दलसम्बन्धी धारा राखेर नेपालमा पार्टीहरूलाई बढी महत्त्व दिइएको देखिन्छ । तर, पछिल्ला दिनमा कुनै पनि दलका नेताले संविधानले दिएको महत्त्वकाे मर्यादा राखेको देखिएन । 

सत्तारुढ गठबन्धनकाे प्रमुख साझेदार नेपाली कांग्रेस महाधिवेशन गर्न नसकेर दलको ‘वैधता’ गुमाउने सङ्घारमा पुगेको छ । पूर्ववर्ती सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मूलतः यसका अध्यक्षका कारण फुटेको घोषणामात्र हुन बाँकी अवस्थामा छ ।

सत्ताकाे दोस्रो ठूलो घटक नेकपा (माओवादी केन्द्र) क्षतविक्षत अवस्थामा छ । यसका अध्यक्ष पार्टीमा सर्वेसर्वा छन् । संसद्को चाैथो ठूलो दल जनता समाजवादी पार्टीको विवाद त निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुगिसकेको छ । 

KFC Island Ad
NIC Asia

यी कुनै पनि दललाई तल्ला तहका कार्यकर्ताले सङ्कटमा पारेका होइनन् । सबै दल शीर्ष नेताहरूको सत्ता लोभका कारण जोखिममा परेका हुन् । लोकतान्त्रिक आचरण र नैतिकताकाे कुरै नगरे पनि हुन्छ दलका प्रमुखले पार्टीका विधान, प्रचलित कानुन तथा संविधानकाे भावनाको मात्रै पनि सम्मान गरेकाे भए यस्ताे अवस्था पक्कै आउने थिएन । 

राजनीतिक दललाई नेपालको संविधानले दिएको महत्त्व अरू मुलुकमा बिरलै देखिन्छ । तर, नेपालका राजनीतिक दलका नेताले यसको मर्म आत्मसात गर्न सकेनन् । पार्टीलाई जीवन्त राजनीतिक संगठनका रूपमा हुर्कन सघाउनुकाे साटो कब्जामा राखेर कार्यकर्तालाई ताबेदार बनाउने रणनीति अपनाए । नेपाली कांग्रेसको अहिलेको सङ्कटकाे मूल कारण पनि यही हो ।  

Royal Enfield Island Ad

पार्टीका शीर्ष भनिएका नेताहरू भागबन्डामा चित्त बुझे विधान मिच्न सधैँ र सजिलै तत्पर हुने प्रवृत्तिले कांग्रेस अहिलेको अवस्थामा पुगेको हो । विगतमा विशेषगरी भातृ संस्थाहरूमा गरिएका निर्लज्ज भागबन्डाले सबैको पोल खोलिसकेकाे छ ।

विधानमा लेखिएअनुसार महासमिति र महाधिवेशन गरिएको भए कांग्रेसका जिल्ला सभापतिहरूले अहिले नेतृत्वसमक्ष पार्टीको वैधता बचाउन रोइकराइ गर्नुपर्ने थिएन । यति भइसक्ता पनि पार्टी सभापति शेरबहादुर देउवा आफू फेरि सभापति हुने निश्चित नहुँदासम्म महाधिवेशन गर्न तत्पर हुने लक्षण देखिँदैन ।

अरू पार्टीको अवस्थामा पनि तात्त्विक अन्तर देखिँदैन । यसैले  राजनीतिक दललाई संविधानमा दिइएकाे महत्त्वको औचित्य सिद्ध गर्ने हो भने वैधताकाे विषयमा निर्वाचन आयोग पनि बढी प्रतिबद्ध हुनुपर्छ । 

दलका नेताकाे एउटा पत्रले जनताले निर्वाचित गरेका प्रतिनिधिलाई पदबाट हटाउन सक्छ । यति शक्तिशाली बनाउने हो भने दलका नेताले पनि कम्तीमा आफ्नो विधान त पालना गर्नैपर्छ । जिल्ला सभापतिहरूकाे चेतावनीयुक्त सुझाव मानेर नेपाली कांग्रेसका नेताहरूले पार्टीको वैधता जोगाउनु बुद्धिमानी हुनेछ ।

नेपाली कांग्रेसको वैधताकाे छिनोफानोले अरू दलहरूको भविष्य पनि निर्धारण गर्नेछ । यतिमात्र हैन जनप्रतिनिधिमाथि पार्टीको अङ्कुशका सम्बन्धमा पनि प्रश्न उठ्नेछ । यसैले लोकतन्त्र र बहुदलीय पद्धतिको रक्षाका लागि पनि आफ्नाे पार्टीलाई वैधताकाे सङ्कटबाट सकुशल पार लगाउने जुक्ति र बुद्धि कांग्रेस सभापति देउवाले लगाऊन् !  

सत्तारुढ दलकै वैधता समाप्त भयो भने नेपाली जनतामात्र हाेइन अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालको राजनीतिकप्रति नकारात्मक सन्देश जानेछ र लोकतन्त्र नै नैतिक सङ्कटमा पर्नेछ । प्रधानमन्त्री देउवाले त नैतिक सङ्कटलाई महत्त्व नदेलान् तर नेपाली कांग्रेस भन्ने देशकाे आधुनिकताकाे उन्नायक संगठनको आत्मा मर्नेछ । कांग्रेस कार्यकर्ताबाहेक अरू नेपाली र विश्व समुदायका लागि यही नै चिन्ताको विषय हो ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १६:१५
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro