site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘ओलम्पिकको अनुभवले अन्य प्रतियोगिता खेल्न हौसला मिल्नेछ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । ओलम्पिकमा नेपालको राम्रो इतिहास छैन । अर्थ हो, नेपाली खेलाडीको प्रदर्शन ओलम्पिकमा सम्झनलायक छैन । नेपालले सन् १९६४ देखि ओलम्पिकमा सहभागिता जनाउँदै आएको छ ।

नेपालले पहिलोपटक १९६४ मा ओलम्पिकमा सहभागिता जनाउने अवसर पाएको थियो । उक्त समयदेखि ओलम्पिकमा नेपाली खेलाडीको सहभागिता रहने गरेको छ । सन् २०२१ सम्म आइपुग्दा नेपाली खेलाडीले समर ओलम्पिकका १३ वटा संस्करणमा खेलेका छन् । जसमा नेपालका ८४ खेलाडीले खेलिसकेका छन् । 

नेपालका लागि यो पटकको ओलम्पिक पनि सहभागितामा मात्र सीमित भयो । टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिष्पर्धा गरेका थिए । पाँचै खेलाडीले युनिभर्सालिटी कोटा र वाइल्ड कार्डमार्फत ओलम्पिक खेलेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली खेलाडीहरुले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् । नेपालका तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउन सफल भए । पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाए ।

आफूले ओलम्पिक ताका गरेका तयारी जस्तै सधैँ तयारी गर्न पाएको भए सोचेभन्दा धेरै राम्रो प्रदर्शन गर्ने सकिने खेलाडीहरु बताउँछन् । उनीहरु ओलम्पिक आउने समयको केही दिनअघि मात्र तयारीमा जुटेका थिए । 

Global Ime bank

सुटिङबाट राष्ट्रिय र्कीतिमान भंग गरेकी कल्पना परियार अहिले ओलम्पिकको राम्रो अनुभव बटुलेर नेपाल फर्केकी छन् । उनको आफ्नो प्रदर्शन सोचे अनुरुप भएको बताइन् । नेपालमा भएको उचित स्रोत साधन र तयारीको हिसावले हेर्दा आफूले सोचेभन्दा राम्रो प्रदर्शन गरेको बताइन् । 
“मैले आफूले सोचे अनुरुप प्रदर्शन गरे । त्योभन्दा नि राम्रो प्रदर्शन गर्न सकिन्थ्यो तर, मेरो तयारी पुगेन । ओलम्पिक आउने समयमा जुन किसिमको तयारी हुन्छ, सोही तयारी अन्य समयमा भएको भए प्रदर्शन अझै राम्रो हुने थियो । अब यसै प्रकारको तयारी हुँदै जाने हो भने आउने प्रतियोगितामा मैले योभन्दा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछु भन्ने आफूमा पूर्ण विश्वास छ,” कल्पनाले बाह्रखरीसँको कुराकानीमा भनिन् । 

वाइल्ड कार्ड प्राप्त गरेकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा प्रतिष्पर्धा गरेकी थिइन् । उनले छनोट चरणमा ६१६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाइन् । ओलम्पिकमा पहिलोपटक सहभागिता जनाउँदा कल्पनाले आफूलाई उत्कृष्ट साबित गर्ने योजना बनाएकी थिइन् । नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा ६१४.५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

नयाँ राष्ट्रिय कीर्तिमान बनाउने क्रममा कल्पनाले ओलम्पिकमा पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१.०, चौथोमा १०४.१, पाँचौँमा १०३.४ र छैटौँ १००.७ अंक जोडिन् । तर, उनी फाइनल चरणमा भने पुग्न सकिनन् । ५० खेलाडी रहेको छनोट चरणमा कल्पना ४६औँ स्थानमा रहिन् ।

यता, जुडोकी सोनिया भट्ले आफूले सोचे अनुरुप प्रदर्शन गर्न नसके पनि अघिल्लो प्रतियोगिताहरुका लागि राम्रो अनुभव मिलेको बताइन् । उनले आफूले तयारी गर्ने राम्रो समय नपाएकाले पनि सोचे अनुरुप प्रदर्शन गर्न नसकेको बताइन् । 

“मैले सोचे अनुरुप प्रदर्शन गर्न सकिनँ । तयारी पनि राम्रो भएको थिएन् । तर, पहिलो पटकको तयारी भने राम्रो भयो । आउने प्रतियोगिताहरुमा योभन्दा पनि उत्कृष्ट प्रदर्शन गर्नेछु । ओलम्पिकको सहभागिताले थप हौसला मिलेको छ,” सोनियाले भनिन् । 

सोनिया भट्टले जुडोतर्फ महिलाको ४८ केजी तौल समूहमा प्रतिष्पर्धा गरेकी थिइन् । वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिक खेलेकी सोनिया पहिलो खेलमै पराजित भइन् । राउन्ड अफ ३२ को खेलमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी थिइन् । १९ वर्षीया सोनिया विश्व वरीयताको नवौँ स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भएकी थिइन् । सोनियाले एक मिनेट १६ सेकेन्डमै खेल गुमाएकी थिइन् ।

त्यस्तै पौडी गौरिका सिंहले आफूले नयाँ अनुभव लिएको बताएकी छन् । सन् २०१६ को रियो ओलम्पिकमा दोस्रो चरण पुग्न सफल भएकी गौरिका यो पटक भने पहिलो चरणबाटै आउट भएकी थिइन् । गौरिकाले सबै साथ र सहयोगले यो अवस्थामा आएको हुनाले देशका लागि एक दिन राम्रो सफलता दिलाउने चाहना भएको बताएकी छन् । उनले हिट चरणमा भने आफ्नो कीर्तिमान भंग गरेकी थिइन् । 

“सबैको मायाको लागि धन्यवाद । मैले सके जति देशका लागि सफलता दिलाउने कोसिस गर्नेछु,” गौरिकाले भनेकी छन् । गौरिका युनिभर्सालिटी कोटाबाट टोकियो ओलम्पिक खेल्न पुगेकी थिइन् । पौडीबाज गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा प्रतिष्पर्धा गरेकी थिइन् ।

गौरिकाले हिट चरणमा १ः००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान कायम गरिन् । ५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भंग गरेकी हुन् । यसअघि, गौरिकाको नाममा १ः००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । गौरिकाले सन् २०१९ मा दक्षिण कोरियामा भएको १८औँ फिना विश्व च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । राष्ट्रिय कीर्तिमान बनाए पनि गौरिकाले सेमिफाइनलमा स्थान बनाउन सकिनन् ।

ओलम्पिकमा नेपालका लागि एलेक्जेन्डरले भने सहभागिता जनाएका खेलाडीमध्यकै उत्कृष्ट प्रदर्शन गरे । एलेक्जेन्डर गाडेगार्ड शाहले पुरुषको १०० मिटर फ्रिस्टाइलमा प्रतिष्पर्धा गरेका थिए । पौडीमा उनले पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गर्न सफल भए । युनिभर्सालिटी कोटाबाट पहिलोपटक ओलम्पिक खेलेका एलेक्सले राष्ट्रिय कीर्तिमान बनाए ।

हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । एलेक्स आफ्नो हिट–१ मा शीर्ष स्थानमा रहे । एलेक्सले आफ्नै नामको कीर्तिमान सुधार गरेका हुन् । यसअघि, एलेक्सको नाममा ५५.३८ सकेन्डको राष्ट्रिय कीर्तिमान थियो । उनी हिट चरणबाट बाहिरिए । कुल ७१ खेलाडीमध्ये एलेक्स ५९औँ स्थानमा रहे ।

लण्डनमा बस्ने एलेक्सले आफू नेपालका लागि सधैँ खेल्ने योजना भएको बताएका छन् । देशका लागि खेलेर सफलता दिलाउने योजना रहेको बताएका छन् । उनले आफू खेल जीवनमा रहेसम्म देशका लागि धेरै प्रतियोगिता खेल्ने बताएका छन् । 

“खेल जीवन रहुन्जेलसम्म देशका लागि खेल्ने छु । धेरै प्रतियोगिता खेलेर देशलाई सफलता दिलाउने मेरो योजना छ,” एलेक्सले भने । त्यस्तै एथ्लेटिक्सकी सरस्वती चौधरी टोकियो ओलम्पिकमा नेपालबाट प्रतिष्पर्धा गर्ने अन्तिम खेलाडी थिइन् । 

महिलाको १०० मिटर दौडमा प्रतिष्पर्धा गरेकी सरस्वती पनि पहिलो चरणबाटै बाहिरिइन् । सरस्वतीले निर्धारित दूरी १२ः९१ सेकेन्डमा पूरा गरिन् । दोस्रो हिटमा रहेकी सरस्वती आफ्नो हिटमा आठौँ स्थानमा रहिन् । यस हिटमा नौ खेलाडी थिए । सरस्वतीले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकिनन् । यस स्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२.५५ सकेन्ड रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement