काठमाडौं । सत्तारूढ गठबन्धका शीर्ष नेताहरूले कार्यदललाई बुधबार (भोलि) भित्र प्रतिवेदन बुझाइसक्न निर्देशन दिएका छन् । मंगलबार साँझ बालुवाटरमा बसेको शीर्ष नेताहरूको बैठकले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि, सरकार सञ्चालन संहिता बनाउने जिम्मेवारी पाएको कार्यदललाई छिटो प्रतिवेदन तयार पारेर बुझाउन भनेको बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
उनका अनुसार कार्यदलले प्रतिवेदन नबुझाएकाले मन्त्रिपरिषद् विस्तारको कार्य रोकिएको हो । भोलि कार्यदलले प्रतिवेदन बुझाएपछि पर्सिदेखि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने यादवले बताए ।
मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष यादव र कार्यदल संयोजक कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।