काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रदीप गिरीले संसद्मा बोल्दै प्रधानमन्त्री शेर बहादुर देउवालाइ शुभकामनासँगै चेतावनी दिएका छन् । गिरिले यो संविधान र गणतन्त्र नै मास्ने प्रयास असफल बनाएर विशेष अवस्थामा देउवा सरकार आएको भन्दै उनलाई सत्ताभोगका लागि मात्र सरकारमा बस्ने छुट नभएको बताए ।
“म यहाँ शुभकामनासँगै प्रधानमन्त्रीजीलाई सानो कुरा सम्झाउन उभिएको हुँ,” गिरिले भने, “२०६२/६३ पछिको सरकारमा हाम्रा तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा विस्तृत शान्ति सम्झौता भएको थियो, अन्तरिम संविधान बनेको थियो । त्यसका हस्ताक्षरकर्ता अहिले पनि यहाँ हुनुहुन्छ ।” उनले त्यसरी गणतन्त्र ल्याउनेहरू नै अहिले पनि संसदमा भए पनि जनताले भने परिवर्तनको महसुस गर्न नसकेको बताए ।
“गणतन्त्र आएपछि पनि किन लागेन नेपाली जनतालाई हाम्रो पालो आएछ ?,” गिरीले प्रश्न गरे, “चप्पल लगाउने नागरिकलाई किन लागेन अब त परिवर्तन भएछ ?” उनले आफ्नो प्रश्न प्रधानमन्त्री बनेका शेरबहादुर देउवासँगै अरुलाई पनि भएको बताए ।
“सबै पक्षलाई म भन्दैछु यो दश वर्ष किन उपयोगी भएन ?,” गिरिले प्रश्न थप प्रश्न गरे, “यो सत्ता गठबन्धन किन आवश्यक भयो ?” उनले आम जनताका समस्यामा बेखबर बनेर सर्वोच्चको फैसलामा खुसी मात्र नहुन प्रधानमन्त्री देउवालाई चेतावनी दिए ।
“आम जनतामा असन्तोष आएको छ, नागरिक आवाज आज पनि विद्रोही हुँदैछ,” गिरीले प्रधानमन्त्रीलाई सुझाव दिँदै भने, “त्यसलाई विर्सिएर सर्वोच्चका पछिल्ला दुई फैसलाबाट खुसी भएर बस्न मिल्दैन ।”
उनले संविधान निर्माण पश्चात भएको निर्वाचनपछिको पहिलो प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद नै विघटन गर्ने आँट कहाँबाट आयो भन्ने कुरामा ध्यान दिन पनि आग्रह गरे ।
“मुख्य कुरा हामीले ठूलो प्रयास गरेर यो संविधान जोगाएका छौं, सभामुख महोदय म मात्र त्यस्तो सांसद हुँ जसले संविधानका कतिपय विषयमा प्रश्न उठाएर हस्ताक्षर गरेको छुइन,” गिरिले भने, “तर, यही संविधान दुर्घटनामा जान लाग्दा र मेरै पार्टीमा दुई मत रहँदारहँदै मैले नै यो संविधानको रक्षा हुनुपर्छ, त्यसका लागि प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भनेको हुँ । मलाई लाग्यो, संविधानमा त्रुटी त भइहाल्यो, अब सबै कुरा दुर्घटनामा जान दिनुहुन्न ।” उनले प्रधानमन्त्री हुँदा ओलीको आँटको स्रोतबारे पनि प्रश्न उठाए ।
“त्यसवेलाका प्रधानमन्त्रीले कहाँबाट त्यत्रो हिम्मत ल्याउनुभयो र संसद विघटन गर्नुभयो ?,” गिरीले भने, “किन भने उहाँलाई थाहा थियो यो संविधानप्रति जनताका असन्तुष्टि छन् । त्यसमा खेल्ने प्रयास उहाँबाट भएको हो ।”
उनले कांग्रेस र कम्युनिष्टले वर्तमानको आवश्यकता बुझ्नुपर्ने भन्दै लोकतन्त्र शास्त्रीय परिभाषा र संख्याको घेराभित्र मात्र सीमित हुन नहुने बताए ।
“कांग्रेसले पनि बुझ्नुपर्छ लोकतन्त्र शास्त्रीय र परंपरागत मान्यता मात्र होइन, यसलाई जनताले उपभोग गर्न पाउनुपर्छ,” गिरीले भने, “केपी ओलीलाई प्रधानमन्त्री हुँदा नै मैले भनेको थिएँ, लोकतन्त्र भनेको संख्यातन्त्र होइन । उहाँले संख्यातन्त्र लोकतन्त्र होइन रहेछ भनेर अब बुझ्नुभयो होला ।” गिरीले कम्युनिष्टले पनि अहिलेको अवस्थालाई राम्रोसँग बुझ्नुपर्ने बताएका थिए ।
“अहिले न त चीनको साम्यवाद सक्कली हो न त उत्तर कोरियाको वंशाणुगत अभ्यास नै सक्कली साम्यवाद हो,” गिरिले प्रस्ताव गरे, “आउनुस् २०औं शताव्दीको इतिहास समीक्षा गरौं, हामीलाई कस्तो बाटो ठिक हुन्छ अवलम्बन गरौं ।” उनले कांग्रेसकै सांसदले सय दिन सरकारको हनिमुन अवधी भएको भन्दै त्यही अवधिमा प्रश्न उठाउन नहुने भनेको विषयमा पनि प्रश्न उठाए ।
“एकजना मित्रले भन्नुभयो १०० दिन हनिमुन पिरियड हो । ठिक छ १०० दिन लिनुस् तर लक्ष्य सही हुनुपर्छ,” गिरिले भने, “यो सरकारलाई १०० दिन देखाएर जनताका आवश्यकताबाट पन्छने छुट छैन ।”
उनले अरुले प्रश्न उठाउने नभएर प्रशंसा गर्ने मन्त्रिपरिषद बनाउन सुझाव दिए । “जनताका आवश्यकता के हुन् र त्यसमा कसरी काम गर्नुपर्छ भन्ने कुरा सोच्नुस्,” प्रधनमन्त्रीलाई गिरिले भने, “आफ्ना नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाबाट पाठ सिक्नुस् । उहाँले जाँदा जाँदै जंगलमा रहेका माओवादीलाई यहाँ ल्याएर शान्ति सम्झौता गर्नुभएको थियो । देशमा हिंशा अन्यको काम जोखिम मोलेर गर्नुभएको थियो ।”