कान्तिपुर दैनिकको सर्कुलेसन कति होला ? पत्रपत्रिका पढ्ने वा यस विषयमा ध्यान दिने हरेक व्यक्तिमा सर्कुलेसन कति होला भन्ने एउटा प्रश्न सधैँ रहिरहेकै हुन्छ । धेरै सर्कुलेसन रहेछ भने राम्रो पत्रिका मान्ने अन्यथा उसले जे सुकै लेखेको भए पनि खासै चासो नदेखाउने एउटा बानी बुद्धिजीवीमा देखिन्छ । अझ सर्कुलेसनको भूत त विज्ञापनदातामा बेसी देखिन्छ । विज्ञापनदाताको यो कमजोरीलाई पैसामा बदल्न पनि धेरै संस्था सक्रिय हुन्छन् । तर, बदमासी गर्ने संस्था चल्दैनन् । रिसर्चको नाममा पैसा बुझाउने पत्रिकालाई माथि देखाएर विज्ञापन दिलाउने एक विदेशी संस्थाको अस्तित्व नेपालमा सकिए बराबर भएको छ ।
नेपालको दैनिक पत्रिकामा पहिलो स्थानमा रहेका कारणले कान्तिपुरको उदाहरणमात्र दिइएको हो । तर, अफसोचका साथ भन्नुपर्छ कुनै पनि पत्रिकाको सर्कुलेशन कति हो भनेर जान्ने कुनै ठोस आधार हाम्रो समाजसँग छैन । सर्कुलेसन कति भन्ने कुरा ठ्याक्कै थाहा नभएको कारणले विज्ञापनदाताले कान्तिपुरलाई एउटा मानक बनाएका छन् । कान्तिपुरभन्दा कति धेरै वा थोरै भनेर तुलना गर्छन् वा कुन स्थानमा कान्तिपुरभन्दा कति पछि छ वा कुन तहका पाठकमा कहाँ छ भनेर हिसाब गर्छन् । कुनै पनि पत्रपत्रिकाको सर्कुलेसन यति भनेर ठोसरूपमा घोषणा गर्ने आधिकारिक संस्था नेपालमा नभएको कारणले यस्तो समस्या भएको हो ।
पत्रिकामा त कान्तिपुरलाई मानक मानिएको भन्न सकिन्छ, तर टेलिभिजन र रेडियोका हकमा कुनै एक संस्थालाई मानक मानिन्छ भन्नसक्ने अवस्था छैन । रेडियोको श्रोता कति, टेलिभिजनका दर्शक कति ? कुन कार्यक्रम रेडियोमा कति जनाले सुन्छन् वा टेलिभिजनमा कतिजनाले हेर्छन् भन्ने आधारको अभावमा विज्ञापनदाताले विज्ञापन दिन सही निर्णय गर्नसकेका छैनन् ।
यो समस्या अहिले हातहातमा व्यापकता पाएको इन्टरनेट मिडियाको हकमा झन् पेचिलो बनेको छ । यस्ता इन्टरनेट मिडियाका उपभोक्ता (पाठक, श्रोता, दर्शक सबै) अन्योलमा छन्, कुन कुरा पढ्ने? कुन कुरा पत्याउने? कुन मिडिया सही ? कुन गलत?
अहिले त झन् फेसबुकमा अनेकथरी भिडियो आउँछन् । तिनका सामग्री समाचार हुन् कि होइनन् कसैलाई पत्तो छैन । कुनै कुनै अनलाइन भनिने मिडियाले नचाहिने सामग्री फेसबुकमा दिइरहेका हुन्छन् । त्यस्ता सूचना केही रुचिकर भए पनि कति त हेर्नसमेत लाजैमर्दा हुन्छन् । त्यस्ता सस्ता अनलाइन र गंभीर प्रकृतिको पत्रकारिताका लागि कटिबद्ध इन्टरनेट पत्रिकामा जनताले कसरी भेउ पाउने ?
विश्वमा कुनै पनि सामग्रीको गुणवत्ताको ग्यारेन्टी गर्ने अनेक थरीका संस्था हुन्छन् । कतिपय सामान आईएसओ (इन्टरनेसनल स्ट्यान्डर्ड अर्गनाइजेसन) फलानो नंबर भनिएको हुन्छ । अर्थात्, त्यो सामग्री ठीक तरिकाले उत्पादन भएको छ भन्ने प्रत्याभूति आईएसओले दिन्छ । तपाईँले हेर्नुभएको होला मिडियामा खाद्य पदार्थमा एफएसए (फुड स्ट्यान्डर्ड एसोसियसन) को सदस्य भनिएको हुन्छ भने इलेक्ट्रोनिक्स सामानमा एफसीसी स्ट्यान्डर्ड भनिएको हुन्छ । तर मिडियाको हकमा नेपालमा त्यस्तो निजी वा सरकारी संस्था नभएकाले नेपाली पाठक रनभुल्लमा परेका छन् ।
अनलाइन मिडियामा कुन मिडिया कति नम्बरमा पर्छ भनेर घोषणा गर्ने अनेक प्रकारका संस्था जन्मिएका छन् । तर, तिनले पनि पैसा तिर्ने संस्थालाई त्यसै माथि पुर्याइदिएको कारण सर्वसाधारण तथा विज्ञापनदातालाई के पढ्ने, के विश्वास गर्ने भन्ने विषयमा अस्पष्टता कायमै रहेको छ ।
फेरि सर्कुलेसन वा धेरै पढिनुमात्र पनि कुनै मिडिया सशक्त, विश्वासिलो र गहकिलो भएको प्रमाण भने होइन । विसं २०४० साल अघि रमेशनाथ पाण्डेको नयाँ सन्देश सबैभन्दा बढी विक्री हुन्थ्यो तर मणिराज उपाध्यायको समाज वा मदनमणी दिक्षितको समीक्षा वा चन्द्रलाल झाको नेपाल टाइम्सलाई बढी गहकिलो पत्रिकाका रुपमा पढिन्थ्यो । त्यसपछि साप्ताहिक विमर्श विक्रीमा पनि र विश्वसनीयतामा पनि अगाडि बढेको देखियो । विसं २०४६ सालअघि देखि नै गोरखापत्र सबैभन्दा बढी विक्री हुने दैनिक थियो तर प्रजातन्त्र समर्थक जनताका लागि सबैभन्दा अविश्वसनीय र हास्यास्पद पत्रिका मानिन्थ्यो । विसं २०४९ सालबाट प्रकाशन सुरु भएको कान्तिपुरको सर्कुलेसनले गोरखापत्रलाई उछिन्न केही वर्षै लाग्यो तर विश्वसनीयताका हकमा भने अलि छिटैनै अघि लागिसकेको थियो । हिमाल खबर पत्रिकाले कहिले सर्कुलेसनमा समेत उचाइ लिएको थियो तर साप्ताहिक म्यागाजिनमध्ये वजनदार पत्रिकाको रूपमा रही नै रहेको छ ।
यस्तै सन्दर्भ पश्चिमा देशका पनि निकै धेरै उदाहरण छन् । बेलायतको द सन्, डेली मेल, द मिरर पत्रिका कुनै पनि रूपमा क वर्गका मानिने दैनिक पत्रिका द टाइम्स, द गार्जिएन वा टेलिग्राफभन्दा सर्कुलेसनमा धेरै अगाडि छन् । तर, पछाडि परे पनि गंभीर दैनिक पत्रिकाको महत्त्व धेरै छ । तिनले दिएका समाचार सस्ता र धेरै बिक्ने पत्रिकाभन्दा अत्यन्त प्रभावशाली मानिन्छन् ।
त्यसैले मिडियालाई समाचार र अन्य मिडिया भनेर जबसम्म उपभोक्ताले छुट्याउन सक्दैन तबसम्म पत्रकारिताको महत्त्व स्थापित हुँदैन । कुनै पनि व्यक्तिलाई मन्त्रोच्चारण गर्न आउँदैमा उ पण्डित बन्दैन । त्यसैगरी पत्रकारिताको धर्म नै नबुझ्ने मान्छेले एउटा समाचार सही नै दिए पनि उसको समाचार विश्वासिलो वा जनहितकारी हुँदैन । तर, विश्वासिलो मिडिया कुन हो त भनेर जनतालाई भनिदिने संस्था भने आफैँ पनि विश्वासिलो हुनु अत्यन्त जरुरी हुन्छ ।
विकशित देशमा ’अडिट ब्युरो अफ सर्कुलेसन’ (एबीसी) हुन्छ । यस्तो ब्युरोले कुन पत्रिकाको कति सर्कुलेसन छ भनिदिन्छ । त्यो विश्वसनीय पनि मानिन्छ । तर, कुन पत्रिकालाई कति महत्त्व र गम्भीरतापूर्वक हेर्ने भन्ने पत्रिकाको चरित्रमा नै निर्भर रहन्छ । टेलिभिजनको सन्दर्भमा पनि टीआरपी (टेलिभिजन रेटिङ प्वाइन्ट) हुन्छ । यो प्रक्रिया पत्रिकाको भन्दा अलि फरक हुन्छ । यसमा साधारणतया टेलिभिजन हेर्ने दर्शकमध्ये जाति, आय, उमेर, क्षेत्र आदिका आधारमा जनसंख्या हेरी ५ हजार वा बढी टेलिभिजनमा लगाउने विशेष सेन्सर बाँडिन्छ र तिनैले हेरेको कार्यक्रमका आधारमा कुन कार्यक्रम जनतामा कति लोकप्रिय भयो भनेर अनुमान गरिन्छ ।
हाम्रो देशमा प्रेस काउन्सिलले पत्रिकाको वर्गीकरण गरे पनि यसलाई अडिट ब्युरो अफ सर्कुलेसन मान्न सकिँदैन । त्यसैले त्यस्तो संस्था छैन भन्नु नै उपयुक्त हुन्छ । इलेक्ट्रोनिक माध्यमको त झन् केही नै छैन, अनलाइन माध्यमको त कुरामात्र पनि सुरु भएको छैन ।
यस विषयमा के गर्न सकिन्छ भनेर केही मिडिया विशेषज्ञले चासो नलिएका हैनन् । वास्तवमा मिडियालाई वर्गीकरण गर्ने भन्ने विषय त्यति सहज अवश्य छैन । तर पनि, पत्रपत्रिका, रेडियो, टेलिभिजन वा अनलाइन पत्रिकाको वर्गीकरण गर्ने संस्थाको नेपालमा अहिले नितान्त आवश्यकता देखिएको छ । अझ अनलाइनमा त यो यो चाहीँ पत्रिकाका रूपमा दर्ता भएका गंभीर चरित्रका संस्था हुन् अरु पत्रिका नै होइनन् भनेर छुट्याई दिनुपर्ने समेत अवस्था आएको छ । यस्ता संस्थाले स्थूलरूपमा जाँचिने सर्कुलेसन, लिसनरसिप, भ्युअरसिप र भिजिटर संख्या नापेर विश्वासिलो आधारमा जनसमक्ष राखिदिनु पर्छ । त्यस्ता संस्थाको वजन भने पाठक, श्रोता, दर्शक, भिजिटरले आफँै पत्ता लगाउनु पर्छ ।
अहिलेको आवश्यकता मिडियाको वर्गीकरण गर्ने एउटा संयुक्त निजी तथा सरकारी संस्थाको स्थापना हो । यसका लागि यस क्षेत्रमा काम गर्ने निजी संस्था तथा सरकारी निकायले विशेष चासो देखाउनुपर्ने बेला आएको छ ।